tvs-race

नेपालमा तिहार वा दीपावली र भारतमा दिवाली भनिने चाडपर्व आफैमा ठूलो हो । तिहारको अवसरमा हामीले पनि विभिन्न उपहार दिने गर्छौ ।

तर भारतको गुजरातस्थित हिरा व्यापारी सावजी ढोलकियाले भने यस पटकको तिहार अर्थात दिवालीको अवसरमा आफ्ना कर्मचारीलाई एक एक कार प्रदान गरेका छन् । त्यति मात्र होइन, उनले ९ सय कर्मचारीलाई बैंकमा फिक्स डिपोजिट समेत प्रदान गरेका छन् ।

सो कार्यक्रमका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्सिङको सहयोगले केही महिला कर्मचारीलाई कारको चाबी समेत हस्तान्तरण गरे ।

उपहार वितरणको सो कार्यक्रमलाई ‘स्किल इन्डिया इन्सेन्टिभ सेरेमोनी’ नाम दिइएको थियो । यस अन्तर्गत कम्पनीले कर्मचारीलाई रेनो क्विड र मारुती सुजुकी सेलेरियो कार उपहारका रुपमा प्रदान गरियो ।

सावजी ढोलकियाले प्रत्येक वर्ष आफ्ना कर्मचारीलाई महंगो गिफ्ट दिएर चर्चा बटुल्छन् । उनले दिने गिफ्ट अर्थात उपहारमा कारदेखि फिक्स डिपोजिट र फ्ल्याटका साथमा महंगा गहना पर्छन् ।

यो भन्दा पहिले सन् २०१६ मा पनि सावजी ढोलकियाले आफ्ना कर्मचारीलाई उपहारको रुपमा १२ सय ६० कार र ४ सय फ्ल्याट प्रदान गरेका थिए । ती मध्ये १२ सय ड्याटसन रेडी गो र अन्य मारुती सुजुकी अल्टो थिए ।

यति मात्र होइन, गत महिना उनले कम्पनीमा २५ वर्ष पुरा गरेको अवसरमा ३ कर्मचारीलाई मर्सिडिज बेन्ज जीएलएस एसयूभी प्रदान गरेका थिए ।