tvs-race

झन्डै ३ महिनासम्म लागू भएको लकडाउन असार १ गते यता केही खुकुलो भएको छ । लकडाउन खुकुलो भएसँगै आर्थिक गतिविधिले समेत बिस्तारै गति लिन थालेको छ । सोही मेसोमा अटोमोबाइल ब्यवसाय समेत चलायमान हुन थालेको अनुभव हुन थालेको छ ।

हाल प्रायः सबैजसो आयातकर्ता कम्पनीहरुले बिभिन्न अफरहरु सार्बजनिक गरी सवारी बजारलाई पुरानै लयमा फर्काउन प्रयास गरिरहेका छन् । उनीहरुको प्रयासले बजार केही हदसम्म चलायमान भएपनि पुरानै लयमा फर्कन भने अझै समय लाग्ने देखिन्छ ।

सार्वजनिक यातायातमा गरिएको कडाई कहिले खुकुलो हुन्छ भन्ने प्रष्ट नभइसकेको हुँदा सर्वसाधारण निजी सवारीसाधनमा आकर्षित त देखिन्छन् तर उनीहरु तत्कालै यस्ता सवारीसाधन खरिद गरिहाल्ने मनस्थितिमा रहेको भने पाइदैन । लकडाउनका कारण रोजगारी र नियमित आय गुमाउन बाध्य निम्न–मध्यम बर्गिय उपभोक्ता पूर्णरुपमा लकडाउन खुलेपछि मात्र खर्च गर्ने मनस्थितिमा रहेका छन् । तसर्थ लकडाउन खुलेपछि मात्र यस्ता उपभोक्ताहरुले निजी सवारीसाधन खरिद गर्न सक्छन् ।

निजी सवारीसाधनको कुरा गर्दा दुई पाङ्ग्रे अन्तर्गत मोटरसाइकल/स्कुटरको बजारले छिट्टै गति लिने अनुमान लगाउन सकिन्छ भने कार/जिपले बजार लिन केही समय कुर्नुपर्ने हुनसक्छ । महंगो मुल्य पर्ने र बैंक/फाइनान्समा गरिएको कडाइका कारण चारपाङ्ग्रे साधन सर्बसाधारण उपभोक्ताको पहुँचमा छिट्टै नआइहाल्ने सहजै अनुमान लगाउन सकिन्छ । तथापि बैंकहरुमा पर्याप्त तरलताका कारण अटो कर्जामा केही लचकता आयो भने यस्ता सवारीसाधनको बिक्रीमा समेत वृद्धि हुने सम्भावना छ ।

चाडपर्वले ल्याउला त उत्साह ?
नेपालमा दशै/तिहार जस्ता चाडपर्वमा निजी सवारीसाधनको बिक्री उल्लेख्य मात्रामा हुने गरेको छ । चाडपर्वको पूर्ब सन्ध्यामै नाडा अटो शो आयोजना हुने र यसले सवारी साधनको बिक्री गर्ने माहोल बनाउने हुँदा विगतका वर्षहरुमा यो सिजनमा अत्यधिक मात्रामा सवारीसाधन बिक्री हुँदै आइरहेका थिए ।

तर यसपाली अटो शो आयोजना नहुने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बताइसकेको छ । जसको असर सवारी बिक्रीमा देखिने प्रष्टै छ । बर्षभरीमा बिक्री हुने कुल सवारीसाधनको झन्डै ५० प्रतिशत भन्दा बढी सवारीसाधन बिक्री हुने यस्तो सिजन प्रभावित भयो भने बिक्रेता कम्पनीहरुलाई यसले ठुलै असर पु-याउने देखिन्छ । यद्यपि भदौ अन्तसम्म लकडाउन पूर्णरुपमा खुल्यो र कोरोना भाइरसको प्रभाव कम हुँदै गयो भने यो सिजन प्रभावित नहुन पनि सक्छ । किनकी अहिले पर्ख र हेर भन्ने मनस्थितिमा रहेका उपभोक्ताहरुले उक्त सिजनमा एकैपटक सवारीसाधन खरिद गरे भने चाडपर्बमा हुँदै आएको सवारी बिक्री प्रभावित नहुन सक्छ । त्यसमाथि यस्तो सिजनमा बिक्रेता कम्पनीहरुले ल्याउने आकर्षक उपहार तथा छुटका योजनाहरुले उपभोक्ताहरुलाई शोरुमसम्म आकिर्षित गर्न सक्ने छ ।

स्पेयर पार्ट्सको अबस्था के ?
नयाँ सवारीसाधनको बिक्रीमा लामो समयसम्म गिरावट आयो भने यससँग जोडिएर आउने विभिन्न स्पेयर पार्ट्स एबं कम्पोनेन्टहरुको बिक्रीमा समेत प्रभाव पर्ने देखिन्छ । तथापि यस्ता कम्पोनेन्ट पुराना सवारीसाधनमा बढी खपत हुने हुँदा तत्कालै बिक्री घटिहाल्ने अबस्था भने रहदैन । अझ यस्तो अबस्थामा नयाँ सवारीसाधन खरिद नगरी आफूसँग भएका पुरानै साधनलाई मर्मत सम्भार गरी प्रयोग गर्ने प्रवृत्ति बढ्ने र यसले तत्कालका लागि स्पेयर पार्ट्सको कारोबार पहिलेको तुलनामा झनै बढाउन सक्छ । तसर्थ स्पेयर पार्ट्सको कारोबारमा तत्कालै गिरावट आउने देखिदैन ।

कस्तो रहला रिकन्डिसनको बजार ?
अहिलेको परिबेशमा सेकेन्ड ह्यान्ड सवारीको कारोबार गर्ने रिकन्डिसन हाउसहरुको ब्यापार केही हदसम्म चलायमान हुने देखिन्छ । रोजगारी एबं आम्दानीको स्रोत गमाएका उपभोक्ताहरुले आफूसँग भएका सवारीसाधन बिक्री गरी खर्च धान्नु पर्ने र नयाँ साधन खरिद गर्ने सोचाइमा रहेका उपभोक्ताले पुरानै साधन खरिद गरी चित्त बुझाउनुपर्ने अबस्था समेत आउन सक्छ । यी दुबै अवस्थामा रिकन्डिसनको बजार चलायमान हुने निश्चित प्रायः छ । यस्ता साधन बिक्री गर्ने उपभोक्ता बढे भने मूल्य सस्तो पर्ने र बिक्री गर्नेको तुलनामा खरिद गर्नेको संख्या बढेमा मूल्य समेत बढ्ने हुन्छ ।