tvs-race

चीनको अटोमोबाइल कम्पनी जिलीको स्वामित्वमा रहेको इलेक्ट्रिक भेइकल ब्रान्ड पोलस्टारले आम सर्वसाधारणलाई लक्ष्यित गरी नयाँ इलेक्ट्रिक सेडान निर्माण गरिरहेको छ । कम्पनीका अनुसार जिलीको झेजियांग लुकियाओ प्लान्टमा पोलस्टार २ सेडान मोडलको उत्पादन शुरु गरिएको छ ।

गोथेनबर्ग स्थित कम्पनी पोलस्टारका अनुसार सो कार शुरुमा यूरोप, चीन र उत्तर अमेरिकामा डेलिभरी गरिने छ । सो कारको टेस्ला मोडल ३ सेडान कारसँग प्रतिस्पर्धा हुनेछ । झेजियांग लुकियाओ प्लान्टको प्रोडक्सन लाइनमा भल्भोको एक्ससी४० स्पोर्ट युटिलिटी भेइकल र लिंक एन्ड कम्पनीको ०१ एसयूभी निर्माण गरिन्छ ।

नयाँ पोलस्टार २ मा ४ इलेक्ट्रिक मोटर जडान गरिएको छ । र यो हरेक एक्सिसमा जडान गरिएको छ । जसले अल ह्विल ड्राइभ र ४०८ एचपी पावर दिन्छ । यसले ६६० को पीक टर्क जेनेरेट गर्छ । यसमा ७८ किलोवाटको व्याट्री जडान गरिएको छ । सो कारले एक पटकको फुल चार्जमा ४७० किलोमिटरको रेन्ज तय गर्छ ।

पोलस्टार २ को लागि बुकिङ पहिला नै शुरु भएको छ । कम्पनीले सो सेडान कारको मूल्य करिव ५० लाख रुपैयाँ राखेको छ ।

चीनमा निर्माण गरिने भए तापनि सो कारको शुरुवाती युनिट यूरोपमा बिक्री गरिनेछ । त्यसपछि सो कार एसिया र उत्तर अमेरिकामा डेलिभरी शुरु गरिनेछ ।

पोलस्टार २ लाई गत वर्षको फेब्रुअरीमा पोलस्टार वेबसाइटमार्फत अनलाइन स्ट्रिमिङको माध्यमबाट सार्वजनिक गरिएको थियो । त्यसको एक महिना पश्चात जेनेभा मोटर शोमा यसलाई प्रदर्शन गरिएको थियो । पछि सेप्टेम्बरमा सम्पन्न फ्रयांकफर्ट मोटर शोमा पनि यसलाई प्रदर्शन गरिएको थियो ।