tvs-race

काठमाडौं – आगामी जुलाई २ अर्थात असार १८ गते नेपालमै पहिलोपटक मोटर स्पोर्ट्स इन नेपाल (Motorsports in Nepal) शीर्षकको वर्कशप जुममार्फत हुन गइरहेको छ ।

सो ई—वर्कशपमा नेपालमा फोर ह्विलर स्पोर्ट्स र ड्राइभ टुरिजमका लागि Infrastructure, Model, Safety & Sustainability विषयमा छलफल तथा कार्यपत्र प्रस्तुत हुनेछ ।

नेपालको अटोमोबाइल, पर्यटन र खेलकुद क्षेत्रको नयाँ प्रोडक्टको रुपमा आइरहेको मोटर स्पोर्ट्स र ड्राइभ टुरिजममा उक्त वर्कशपले एउटा प्रष्ट अवाधारणा अगाडि ल्याउने मोटर स्पोर्ट्स नेपालका सचिव अनिल बरालले बताए ।

सो वर्कशपमा मोटर स्पोर्ट्स सिंगापुरकी महासचिव तथा एफआईए वुमन इन मोटर स्पोर्ट्स कमिसनकी ज्यानेट ट्यान, चाइनिज ताइपेई मोटर स्पोर्ट्स (सीटीएमएस) का अध्यक्ष डा. क्वङ विङ युङ, इन्स्टिच्युट अफ रोड सेफ्टी ट्राफिक इनभाइरोमेन्ट पाकिस्तानकी समिर नाजिर र माउन्टेन स्पोर्ट्स फेडरेसन नेपालका अध्यक्ष गोविन्द भट्टराई वक्ता हुनेछन ।

त्यस्तै, सो कार्यक्रमा फक्सवागन नेपालका सीईओ विवेक बिजुक्छे, डेल्टा टायर्सका म्यानेजिङ डाइरेक्टर विक्रम सिंघानिया, इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालका उपाध्यक्ष ई. सुशील तण्डुकार र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का महासचिव आशिष गजुरेलले समेत प्रस्तुति गर्नेछन । खेल पत्रकार तथा बिबिसी नेपाली सेवाका निरन्जन राजबंशी, नासा नेपालका सचिव अनिल बराल, नेपाल मोटर स्पोर्ट्स क्लबका आशिष लामिछाने र मोटर स्पोर्ट्स कोलमनिस्ट आत्मीय सिलवालको समेत सो वर्कशपमा सहभागीता हुनेछ ।

नेपालमा सम्भवतः संसारमै पहिलोपटक हुन लागेको यस किसिमको वर्कशपलाई एफआईए र माउन्टेन स्पोर्ट्स फेडरेसन नेपालको सहयोग, नासा नेपालको संयोजन र नेपाल मोटर स्पोर्ट्स क्लबको व्यवस्थापन हुनेछ ।