काठमाडौं– कोरोना भाइरसको संक्रमण बढेसँगै बन्द भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) कहिले बाट खुल्छ भन्ने आम मानिसको चासो रहेको छ । लाइसेन्सका लागि ट्रायल दिन नपाउँदा मानिसहरुले हैरानी खेपिरहेका छन् । आखिर कहिले खुल्छ त सवारी चालक अनुमति पत्रको परीक्षा ? यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल तिहारपछि लाइसेन्सका लागि आवेदन खुला हुने तयारी भैरहेको बताउँछन् ।
‘कोरोनाका कारण बन्द भएको सवारी चालक अनुमति पत्रको आवेदन र परीक्षा तिहार पछि खोल्ने छलफल भैरहेको छ,’ उनले भने, ‘त्यसका लागि प्रदेश कार्यालयहरुलाई भनिसकिएको छ ।’ लाइसेन्सको लिखित र ट्रायल दुवै बन्द हुँदा आम मानिसबाट दैनिक जसो यातायात कार्यालयहरुमा गुनासो आउने गरेको छ ।
लाइसेन्सको आवेदनका सम्पूर्ण कामको जिम्मेवारी प्रदेश कार्यालयलाई भएको हुँदा कसरी सन्चालन गर्न सकिन्छ भनेर प्रदेश कार्यालयहरुलाई सोधिएको महानिर्देशक हमाल बताउँछन् । ‘यो हाम्रो बसमा छैन, लाइसेन्सको सबै काम प्रदेश कार्यालयले गर्ने हो,’ उनले भने, ‘हामीले चाहने बित्तिकै यो काम नहुने हँुँदा प्रदेशसँग सहकार्य गर्दैछौं । साथै, कोरोना महामारीका बेलामा लाइसेन्सको काम गर्न सकिन्छ कि सकिँदैन भनेर सोधेका छौं, त्यसको जवाफ आइसकेको छैन ।’
यदि प्रदेश कार्यालयहरुबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सक्छौं भनेर जवाफ आएमा तिहार लगत्तै लाइसेन्सको आवेदन खुला गरि लिखित र ट्रायल सुरु गरिने हमालले बताए । ‘कार्यालयहरुले अहिले भएका लाइसेन्स त बाँड्न सकेका छैनन्,’ उनी भन्छन्, ‘अब अरु लाइसेन्सको जाँच लिएर गर्न सकिने हो कि होइन भनेर पनि सोधिएको छ । यदि सबै गर्न सकिनेगरी जवाफ आयो भने हामी मिलाएर खोल्छौं ।’