tvs-race

बेहुला बनाउछु भन्थी, बहुला बनाएर गई .............। यो गीत केही समय यता निकै चर्चामा छ । यो गीतमा अभिनय गरेका छन् कलाकार दुर्गेश थापाले । अन्य गीतमा मोडलिङ गर्दा चर्चाको शिखर चढ्दै गरेका दुर्गेशलाई यो गीतले पनि थप चर्चामा ल्यायो ।

मोडलिङको शिखरमा पुग्नु पहिलेका संघर्षका कथा दुर्गेशसँग निकै छन् । तीनवर्ष अघि ‘मुद्धा हाल्दिन्छु’ बोलको गीत बजारमा आएपछि दुर्गेशको गायन कलालाई धेरैले तारिफ गरे । त्यसयता उनी निरन्तर वाहवाही पाइरहेका छन् ।

दुर्गेशले अहिलेसम्म एक दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका छन् भने २५ सयभन्दा धेरै भिडियोमा अभिनय गरेका छन् । पहिले कोरस डान्सरको रुपमा रहेका दुर्गेशले २०६६ सालमा ‘अधेरीमा जुन लागेकै हो...’ बोलको गीत गाएर गायन कला पनि देखाए साथै बसन्त थापाको ‘जुनले मात्र देख्छ’ बोलको गीतमा लिड रोलमा डान्स गर्ने मौका पाए । दुर्गेशको मोडलिङ क्षेत्रमा चर्चा सुरु हुन थाल्यो । डाडै बिसाउनी, हास्न सिकायौ, आफ्नो भन्नु कसलाई यहा लगायतका लोक तथा आधुनिक गीतमा अभिनय गरेर चर्चामा आएका दुर्गेश पछिल्लो तीन वर्ष यता झनै चर्चामा छन् ।

भारतिय आर्मीको जागिरलाई लत्याएर सांगीतिक क्षेत्रमा होमिएका दुर्गेशको सांगीतिक यात्राको कथा निकै कष्टपूर्ण छ । सांगीतिक यात्राको सुरुको पाइलामा उनले कोरस नाचे । उनलाई यो अवसर आफ्नै ठूलोबुबाका छोरा गायक तथा संगीतकार बसन्त थापाले जुराइदिएका थिए । यही क्रममा दुर्गेश डान्सबारमा पनि काम गर्थे । त्यतिबेला उनले भोगेका संघर्ष अहिले उनको आखा अघि प्रतिबिम्ब बनेर तेर्सिन्छन् ।

विगत एक दशकदेखि गायन तथा मोडलिङ क्षेत्रमा निरन्तर सक्रिय छन् – दुर्गेश थापा । यहि सक्रियताले उनले छुट्टै पहिचान बनाउन सफल भएका छन् । बाग्लुङमा जन्मेका दुर्गेशको सांगीतिक यात्राको छुुट्टै संघर्षको कथा छ ।

बाल्यकालमा सबै मानिसहरुले विभिन्न खालको सपना देख्छन् । त्यो सपना कतिपयको पुरा हुन्छ भने धेरैको संघर्षमै बित्छ । दुर्गेश बाल्यकालदेखि नै सवारी साधनको निकै सौखिन थिए । त्यो बेलामा गाउँघरमा अहिलेको जस्तो सवारी साधनको आवतजावत नहुने हुनाले यातायातका साधनका बारेमा एक बालकलाई कौतुहलता जाग्नु स्वभाविक नै हो । त्यसो त दुर्गेश त्यो कौतुहलतालाई मेटाउन बाल्यकालमा चप्पललाई काटेर त्यसलाई पांग्राको आकार दिएर खेलौना गाडी बनाएर खेल्थे । त्यसैमा उनी मनोरञ्जन लिन्थे अनि गाडी चढ्ने प्यास मेटाउँथे । अनि सोंच्थे कि भविष्यमा म पनि ब्राण्डेड कार चढेर हिड्छु । तर, त्यतिबेलाको परिस्थितिमा उनको त्यो सोंचाई ‘आश गर तर भर नपर’ जस्तै थियो । यद्यपि आज आएर उनको त्यो धोको पुरा भएको छ ।

सुरुसुरुका दिनमा काठमाडौंमा संघर्ष गर्दा अरु साथीभाईहरुले मोटरसाइकल चढेको देख्दा ‘कुनै दिन मैले पनि मोटरसाइकल चढ्न सकुँला र ?’ भनेर आफैँलाई प्रश्न गर्ने गरेको दुर्गेश सुनाउँछन् । उनी भन्छन् – ‘मोटरसाइकल चढ्ने रहरले साथीको मोटरसाइकलमा ५ सयको तेल हालेर पछाडि बसेर दिनभरी रत्नपार्क वरिपरि घुमेको छु ।’ यिनै दुर्गेश आज हुन्डाई कम्पनीको क्रेटा गाडीमा सयर गर्छन् । उनले करिव ४ महिना अघि हुन्डाई कम्पनीको क्रेटा गाडी किनेका थिए । उनी अहिले जहाँ जादा पनि आफ्नै गाडीमा हुँइकिन्छन् । क्रेटा हुन्डाईको एसयूभी अर्थात स्पोर्ट्स युटिलिटी भेइकल हो ।

गाडी किनेपछि आफूलाई धेरै फाइदा पुगेको दुर्गेशको अनुभव छ । उनी भन्छन् – मैले आफ्नो सवारीसाधन केहि पनि नहुँदा धेरै दुःख पाएँ, पब्लिक गाडीमा हिँड्दा कहिले पनि भनेको समयमा पुगिदैनथ्यो तर अहिले मेरो दैनिकीमा नै परिवर्तन आएको छ । धेरैजसो कलाकारहरु सार्वजनिक ठाउँमा चिटिक्क देखिन्छन् । त्यसमध्येका एउटा दुर्गेश पनि हुन् । गाडी किन्नुभन्दा पहिला मोटरसाइकलमा हिड्दा धुवाँधुलो अनि हिलोले कपडा धुलोमैलो हुँदा हैरान हुन्थ्यो तर गाडीमा हिड्न थालेपछि त्यो समस्याबाट छुटकारा पाएको दुर्गेश सुनाउँछन् । त्यसो त उनी अहिले जहाँ देख्दा पनि सफा अनि चिटिक्क देखिन्छन् । उनी भन्छन् – यो क्रेटाकै कमाल हो ।

दुर्गेशले क्रेटा कार ४७ लाखमा खरिद गरेका थिए । जसमा उनले ८० प्रतिशत डाउन पेमेन्ट गरेका छन् भने २० प्रतिशत फाइनान्स गरेका हुन् । गाडी ४७ लाखमा खरिद गरे तापनि गाडीको डेकोरेसन देखि अन्य खर्च गर्दा ५० लाखजति खर्च भएको दुर्गेश बताउँछन् ।

सानैदेखि गाडी चढ्ने सौख भएकाले दुर्गेश गाडीहरुको ब्राण्डका बारेमा इन्टरनेटमा हेरिरहन्थे । क्रेटा गाडी पनि उनले सबैभन्दा पहिले इन्टरनेटमै हेरेका थिए । उनलाई सुरुमा देख्ने बित्तिकै त्यसमा आँखा लागिहाल्यो । उनले त्यसको विशेषताहरु हेरे । त्यसपछि उनले क्रेटा नै चढ्ने निधो गरे । उनलाई क्रेटाको धेरै कुरा मनपर्छ । पहिलो कुरा त उनलाई मनपर्ने भनेको गाडीको लुक्स नै हो । अर्को कुरा क्रेटामा डबल एयरब्याग हुने भएकाले पनि आफ्नो ध्यान यसैले तानेको उनी बताउँछन् ।

दुर्गेशलाई आफ्नो गाडीको मनपर्ने अर्को विशेषता भनेको माइलेज पनि हो । अहिले क्रेटा गाडीले १५ देखि १६ किलोमिटर माइलेज दिने गरेको दुर्गेश बताउँछन् । यसका साथै आरामदायी पनि त्यत्तिकै छ । यस्तै यो गाडीको डिकी ठूलो हुने भएकाले सुटिङ अथवा कतै कार्यक्रमतिर जाँदा आफ्नो सामानहरु राख्न सहज भएको दुर्गेशको अनुभव छ । साथै क्रेटा गाडी कच्ची बाटोहरुमा पनि सहजै जान सक्ने क्षमता भएकोले आफूलाई क्रेटाले झनै लोभ्याएको दुर्गेश बताउँछन् । उनी भन्छन्– हामी कलाकारहरु हिमाल, पहाड, तराईका विभिन्न ठाउँहरुमा जानुपर्ने हुन्छ । त्यहाँका कच्ची बाटोमा जानका लागि क्रेटा गाडीमा एकदमै सजिलो हुँदो रहेछ । यस्तै, क्रेटा एसयूभी कुदाउन पनि उत्तिकै मज्जा आउने दुर्गेशको अनुभव छ । अझ हाइवेमा कुदाउँदा त स्वर्गिय आनन्द प्राप्त हुने उनी बताउँछन् । यसका साथै यो गाडीमा डबल डिस्क ब्रेक र अगाडिको लुक्स राम्रो भएकाले आकस्मिक दुर्घटनाबाट बच्नेमा दुर्गेश ढुक्क छन् ।

दुर्गेशको जन्मस्थान बाग्लुङ हो । त्यसो त उनी कार खरिद गरेपछि २ पटक बाग्लुङ पुगेर आइसके । गाडी लिएपछि दुर्गेशको अहिलेसम्मको लामो यात्रा नै यही हो ।

दुर्गेश आफ्नो कारको सेफ्टीमा पनि त्यत्तिकै सचेत छन् । उनले कार खरिद गरेपछि एकपटक सर्भिसिङ गराइसकेका छन् । उनी हुन्डाईको आधिकारिक सर्भिस सेन्टरमा गाडीको सर्भिसिङ गराउँछन् । यसैगरी आवश्यकता अनुसार नियमित कारको सर्भिसिङ गर्ने उनी बताउँछन् । यस्तै, उनी आफ्नो गाडी अरुलाई जथाभावी चलाउन दिँदैनन् । लामो समय बाहिरतिर जानुपर्ने अवस्थामा गाडीलाई सधैँ कभरले ढाकेर हिँड्छन् । यस्तै सहर बजारको भिडमा जता पायो त्यतै व्यवहारिसे अवस्थामा गाडीलाई छाड्ने उनको बानी छैन । सुरक्षित ठाउँमा मात्र आफूले पार्किङ गर्ने गरेको दुर्गेश बताउँछन् ।

यस्तै, उनी सधैं बिहान–बिहान गाडीको भित्र बाहिर सफा गर्छन् । साथै आफ्ना साथीभाईहरु गाडीमा चढेको बेलामा गाडी भित्र फोहोर नगर्न सुझाव दिइहाल्छन् । यतिमात्र होइन उनी आफ्ना गाडीमा सकेसम्म गाँजा, चुरोट, जाँड, रक्सी लगायतका धुम्रपान मद्यपान सेवन गर्ने मान्छेलाई राख्दैनन् । यसरी नै उनले आफ्नो गाडीलाई सुरक्षित राख्ने गरेका छन् ।

दुर्गेश सांगीतिक क्षेत्रमा उदाएपछि छोटो समयमा प्रगती गर्ने कलाकारभित्र पर्छन् । उनी सांगीतिक क्षेत्रको चर्चामा आएको करिव ६ वर्षमात्र भयो । यो अवधिमा गाडी चढ्न सक्ने सामथ्र्य राख्नु भनेको चानचुने कुरा होइन । तर, दुर्गेश भने आफूले प्राप्त गरेको यो सफलताको श्रेय दर्शक श्रोतालाई दिन चाहन्छन् ।