tvs-race

झापा - जनजीवन पुरै लकडाउन र सीमा बन्द रहेका बेला काँकडभिट्टा मूलनाकाबाट भारतीय ट्रक भित्रिन थालेपछि स्थानीयवासी कोरोना भित्रिएला भनेर भयभित भएका छन् ।  

हाल मेची भन्सार कार्यालयको परिसरभित्र लकडाउन र नाका बन्द भए यता नेपाल भित्रिएका अढाई सयभन्दा बढी भारतीय मालवाहक ट्रक पार्किङ गरेर राखिएका छन् । चालक तथा हेल्परहरु रातभरि गाडीभित्रै सुत्छन् भने दिउँसो कोही वरपर हिँड्छन् । उनीहरुमध्ये अधिकांशले मुखमा मास्क लगाएका हुँदैनन् । उनीहरु भारतको विभिन्न प्रान्तबाट कोइला लगायतका सामान लोड गरिएको गाडी लिएर  नेपाल आएका हुन् । भन्सार परिसरमा भारतीय गाडीसँगै आएका अढाई सयको हाराहारीमा चालक दलका सदस्यहरु बिना क्वारेन्टाइन बसिरहेका छन् ।

होटल व्यवसायी क्षेत्रीय संघ मेचीनगरका अध्यक्ष रामबहादुर तामाङले पनि भारतबाट लगातार गाडीहरु भित्रिएकोमा आपत्ति व्यक्त गरेका छन् । उनले यसलाई नरोके कोरोना भित्रिने डर बढेको बताए । दुई दिन अघि मेचीनगर–१५ ज्यामिरगढी पुगेका भारतीय ३ वटा गाडीलाई स्थानीय युवाले रोकेपछि प्रहरीेले बाध्य भएर सुरक्षासहित फर्काएको थियो ।

मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्माले माथिबाट आदेश नआएसम्म भन्सार बन्द गर्न नसकिने बताए । ‘भन्सारबाट आयात निर्यात रोक्ने कुनै निर्देशन आएको छैन,’ उनी भन्छन् –‘कोलकाता बन्दरगाहमा एक महिनादेखि रोकिएका धेरैजसो सामान अहिले धमाधम आउन थालेका छन्, भारत र नेपाल कसैले पनि भन्सारमा सामान रोक्न मिल्दैन ।’

तर भारतबाट आएका गाडीहरुलाई आउनासाथ निसङ्क्रमणका लागि कोरोना भाइरसविरुद्धको स्प्रे गरिने र चालक दललाई ज्वरो नापिने गरेको उनले जानकारी दिए । गाडीहरु चाहिँ अत्यावश्यक सामान रहेछ भने गन्तब्यसम्म जान दिइएको उनले बताए । चालक दललाई क्वारेन्टाइनमा राख्ने कि नराख्ने विषयमा प्रशासनसँग छलफल भइरहेको समेत उनले बताए ।

– चन्द्रकला भण्डारी/रासस