जेठ १९ सम्म कम्पनीमा दर्ता हुन सकिने, चौथो पटक थपियो म्याद

काठमाडौं – समिति तथा संस्थामार्फत सञ्चालित सार्वजनिक यातायातका साधनलाई कम्पनीमा ल्याउन सरकारले फेरि म्याद थपेको छ ।

हालै प्रकाशित सूचना अनुसार अब २०७६ जेठ १९ सम्म कम्पनीमा दर्ता गर्न सकिने छ ।

१ वर्षमा सरकारले चौथो पटक यसका लागि म्याद थपेको हो । सार्वजनिक यातायातको सिन्डिकेट हटाउने घोषणा गरेको १ वर्ष बित्दा पनि समिति तथा संस्थाहरूले सञ्चालन गरेका गाडीहरू कम्पनीमा दर्ता नभएपछि सरकारले म्याद थपेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वैशाख २४ मा यातायात क्षेत्रको सिन्डिकेट हटेको घोषणा गर्दै कम्पनीमा दर्ता हुन अनिवार्य गरेको थियो । तर, समिति र संस्था मातहतमा चलेका सार्वजनिक यातायातका साधन कम्पनी ऐन २०६३ अनुसार दर्ता भएका छैनन् ।

कम्पनी ऐन २०६३ मा रहेको शेयरधनी संख्याको व्यवस्था संशोधन गर्नुपर्ने माग ठूला यातायात समितिहरूले गर्दै आएका छन् । ऐनको व्यवस्थाअनुसार निजी कम्पनीमा शेयरधनीको संख्या १ सयभन्दा बढी हुनु हुँदैन । ठूला यातायात समितिहरूले सोही बुँदालाई सच्याउनुपर्ने बताउँदै आएका छन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायका अनुसार हालसम्म सार्वजनिक यातायातका १० हजार वटा सवारीसाधन कम्पनीमा दर्ता भएर विभागमा पञ्जीकरण भएका छन् । जबकि, मुलुकभर सार्वजनिक यातायातका साधनको संख्या दुई लाखभन्दा बढी छ ।

‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० (संशोधित २०७४)’ मा समिति र संस्थामार्फत सञ्चालित यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन अनिवार्य छ । समिति र संस्थामा आबद्ध सवारीसाधन कम्पनी रजिस्ट्रारको कार्यालय, उद्योग विभागलगायतमा कम्पनी तथा उद्योगको रूपमा दर्ता भएपछि मात्रै विभागले पञ्जीकरण गर्छ ।

Subscribe Now