काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा इलेक्ट्रिक र हाइब्रिड गाडीको भन्सार र अन्तःशुल्क बढाए पनि अन्य पक्षबाट हेर्दा बजेट समग्रमा राम्रो रहेको नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले बताएका छन् ।
अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दुलालले यस पटकको बजेटमा अटोमोबाइल क्षेत्रलाई सरकारले खासै नचलाएकोमा सन्तोष ब्यक्त गरे ।
बजेटमा सवारी साधन आयातमा अघिल्ला वर्षहरुमा जस्तो कर बढाइएन । तथापि इलेक्ट्रिक गाडीमा भन्सार र अन्तःशुल्क भने बढाइएको छ । दुलाल भन्छन्, ‘सरकारले इलेक्ट्रिक गाडीलाई बढावा दिने भनिरहेको समयमा यसरी कर बढाउनु ठिक होइन । इलेक्ट्रिक भेइकलमा भन्सार छुट दिइएका कारण अघिल्लो वर्ष नेपालमा अत्यधिक संख्यामा यस्ता सवारी साधन नेपाल भित्रिए । एकातिर ठूलै रकम बाहिरिने, अर्कोतिर सरकारलाई राजस्व पनि कम संकलन हुने हुँदा सरकारले इलेक्ट्रिक भेइकलमा कडाई गरेको हुन सक्छ । विकसित देशहरुमा समेत इलेक्ट्रिक भेइकलको खपत सीमित मात्रामा कायम रहे पनि नेपालमा भने एक वर्षको आयातकै आधारमा विश्वकै टप फाइभमा पर्नुले पनि राज्यलाई झक्झक्याएको हुनुपर्छ ।’
दुलाल भन्छन्, ‘स्पेयर पार्ट्समा यस अघि लगाइदै आएको ५ प्रतिशत अन्तःशुल्क खारेज गरिएको छ । तथापि उक्त अन्तःशुल्कलाई भन्सार दरमा थप गरिए पनि पहिलेको तुलनामा ०.५ प्रतिशत कम भएको छ ।’
स्पेयर पार्ट्स लगायत सबै प्रकारका अटोमोबाइल व्यवसायीलाई समेत राहत हुने गरी बैंक लोन, ब्याज र आय करमा छुट तथा सहुलियतको व्यवस्था मिलाइएको छ । यसर्थ यस पटकको बजेट निकै सन्तुलित र सकारात्मक भएको दुलालले बताए ।