tvs-race

चीनका विभिन्न कम्पनीले अन्य कम्पनीका बाइक, कार र स्कुटरको डिजाइन कपि गरेका समाचार बारम्बार आइरहन्छन् । यस्तै एक चाइनिज कम्पनीले ट्रायम्फ स्पिड ट्रिपलको नक्कल गरी बेन्डा बीडी२५०जीएस बनाएको थियो ।

हालै सोही कम्पनीले भेस्पा स्कुटरको डिजाइन कपि गरेको आरोप लागे पछि समस्यामा परेको छ । डिजाइनको मामिलामा भेस्पाको जित भएको छ भने चाइनिज कम्पनीको स्कुटरको डिजाइन अवैध घोषित भएको छ ।

पियाजियो ग्रुपले हालै चिनियाँ कम्पनीले आफ्नो भेस्पा स्कुटरको डिजाइन नक्कल गरेको बताएको थियो । कपि गरेको स्कुटर २०१९ ईआइसीएमए मोटरसाइकल शोमा प्रदर्शन गरिएको थियो । पियाजियोले गुनासो गरेपछि सम्बन्धित अधिकारीहरुले त्यसलाई हटाएका थिए । पछि, चिनियाँ कम्पनीको सो डिजाइन युरोपियन इन्टेलेक्चुअल प्रोपर्टी अफिसको इनभ्यालिड डिभिजनले अवैध घोषित गरेको थियो । ईयूआइपीओको इनभ्यालिड डिभिजनले चिनियाँ भेइकलको दर्ता भेस्पा प्राइमभेरा भन्दा फरक नभएको कारण रद्द गरेको थियो ।

पियाजियो ग्रुपले भेस्पा प्राइमरभेराको डिजाइन २०१३ मा दर्ता गराएको थियो । भेस्पा स्कुटरको ३ डायमेन्सनल ट्रेडमार्क र डिजाइन कपिराइटको कारण चिनियाँ कम्पनी विरुद्ध पियाजियोलाई सफलता मिलेको थियो ।

पियाजियोको जित चाइनिज कम्पनीको डिजाइन कपिको विरुद्ध सुरुवाती लडाई मानिएको छ । कम्पनीले यसलाई जालसाजीको विरुद्ध व्यापक गतिविधिको हिस्सा मानेको छ । कम्पनीले चिनियाँ कम्पनीलाई कारवाहीको लागि आवाज पनि उठाएको छ ।