चन्द्रागिरी हिल्सले साधारण शेयर बिक्री गर्ने

काठमाडौं – चन्द्रागिरी केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरी हिल्स प्रालिले १५ करोड रुयैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सयमा साधारण शेयर बिक्री गर्ने तयारी गरेको हाे । कम्पनीले यही पुस ३० गते वार्षिक साधारण सभा आयोजना गरेको छ । सभामा साधारण शेयर बिक्रीका लागि विशेष प्रस्ताव प्रस्तुत गरिने छ । 

चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले साधारण शेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । कम्पनीले चुक्ता पूँजी एक अर्ब ५० करोडको १० प्रतिशतको दरले हुन आउने साधारण शेयर बिक्रीका लागि साधारण सभाले प्रस्ताव पारित गर्नेछ । 

२०७३ सालदेखि सञ्चालनमा आएको उक्त केबलकारले काठमाडौं उपत्यकाको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा समेत एक अर्बभन्दा बढी लगानी भएका निजी तथा व्यावसायिक संस्थालाई साधारण शेयर बिक्री गरी लिमिटेड कम्पनीमा परिवर्तन गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ । केबलकारमा आइएमई समूहलगायत अन्य व्यावसायिक समूहले लगानी गरेका छन् ।

Subscribe Now