tvs-race

काठमाडौं– चिनियाँ विद्युतीय गाडी बीवाईडी एम ३ (एम थ्री) हिमाली जिल्ला सोलुखुम्बु सम्म पुग्न सफल भएको छ । गत कात्तिक २ गते काठमाडौंबाट प्रस्थान गरेको सो विद्युतीय गाडी सोलुखुम्बुको फाप्लुसम्म पुगेर एक रेकर्ड कायम गरेको छ ।

नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इन्कले सो यात्राको व्यवस्थापन गरेको थियो । भाटभटेनी, नक्सालस्थित सोरुमबाट कोटेश्वर, बनेपा, धुलिखेल, खुर्कोट, घुर्मी, ओखलढुंगा हुँदै फाप्लु पुगेको हो । ‘काठमाडौंमा चार्ज गरेर हिँडेको बिवाइडी एम थ्री फाप्लु पुगेको घटनाले यो पिच, घुमाउरो, उकालोओरालो र कच्ची सबै बाटोका लागि उपयुक्त छ भन्ने प्रमाणित भएको छ,’ साइमेक्स इन्क प्रालिका सेल्स हेड समिर श्रेष्ठले बताए । उनले ग्राहकले चासो राख्ने भनेकै सबै खालको सडकमा चल्छ चल्दैन भन्ने कुरा मुख्य रहेको र त्यसमा शंका नगर्न आग्रह गरे ।

बीवाईडी एम थ्री दसैं अगाडि नेपाली बजारमा लन्च गरिएको थियो । यो प्युअर इलेक्ट्रिक मल्टी–परपोज भेइकल (एमपीभी) हो । काठमाडौंबाट सोलुखुम्बु सम्म पुग्दा सो गाडीले २ सय ८५ किलोमिटरको दुरी पार गरेको थियो । यसले समतल सतहदेखि सोलुखुम्बुको कठिन उकालो बाटो समेत पार गरेको थियो । यसलाई ओखलढुंगामा समेत चार्ज गरिएको थियो ।

बीवाईडी एम थ्री ५ सिटर र ७ सिटर भेरिएन्टमा उपलब्ध छ । यसमा भएको ५०.३ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ३ सय १० किलोमिटर यात्रा गर्न सकिन्छ । यसमा भएको ब्याट्रीलाई ८ वर्षको वारेन्टी उपलब्ध गराइने श्रेष्ठ बताउँछन् ।

कम्पनीका अनुसार यसको सञ्चालन र मर्मत खर्च एकदमै कम अर्थात प्रतिकिलोमिटर १ रुपैयाँ ९० पैसा मात्र छ । ग्राहकलाई सो गाडी खरिदका लागि ८० प्रतिशत बैंक फाइनान्समार्फत रकम उपलब्ध गराइने र यसको ब्याज दर पनि सिंगल डिजिट रकममा उपलब्ध गराइने श्रेष्ठले बताए ।

त्यसैगरी सो गाडीमा डबल साइड स्लाइडिङ डोर, एयरब्याग, अल एड्जस्टेबल सिट, रिजेनेरेटिभ ब्रेकिङ सिष्टम, हिल होल्ड कन्ट्रोल र इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम (ईएसपी) जस्ता फिचर रहेका छन् ।

बीवाईडी सन् २०१५ पश्चात ग्लोबल सेल्स च्याम्पियन रहेको छ । ब्याट्री, मोटर र इलेक्ट्रोनिक कन्ट्रोलमा विशेषज्ञता हासिल गर्ने यो एक मात्र कम्पनी हो । बीवाईडीले कार, बस, ट्रक र स्काई रेल लगायतका इलेक्ट्रिक भेइकल उत्पादन गर्छ । विश्वका ६० भन्दा बढी देशका ३ सय सहरमा बीवाईडीका इलेक्ट्रिक गाडीहरु गुडिरहेका छन् ।

नेपाली बजारमा पनि साइमेक्स इन्कले बीवाईडीका इलेक्ट्रिक गाडी उपलब्ध गराइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उर्जा मन्त्री वर्षमान पुन र अन्य विभिन्न उच्च पदस्थ ब्यक्तिहरुले समेत बीवाईडीका इलेक्ट्रिक गाडी प्रयोग गरिरहेका छन् ।