tvs-race

काठमाडौं – भदौ १० देखि १५ गते सम्म सम्पन्न नाडा अटो शोमा बीएमडब्ल्यु बाइकका विभिन्न मोडलहरु प्रदर्शन गरिए । पहिलो पटक सहभागी भएको प्रिमियम ब्रान्डले राम्रो प्रतिक्रिया पाएको र प्रशस्तै बुकिङ समेत भएको कम्पनीले बताएको छ।

टर्क मोटर्सको सहायक कम्पनी हिमालयन मोटराडले बीएमडब्ल्युको नेपालको लागि आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ ।

बीएमडब्ल्युका जी ३१० जीएस र जी ३१० आर गरी दुई मोडल अटो शोमा पहिलो पटक प्रदर्शन गरिएका थिए । जी ३१० जीएसको रेसिङ रेड र कस्मिक ब्ल्याक कलरको मूल्य १० लाख ९० हजार र ह्वाइट मेटालिकको मूल्य ११ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी जी ३१० आर रेसिङ रेड र कस्मिक ब्ल्याक कलरको मूल्य ९ लाख ५० हजार र ह्वाइट ब्ल्याकको मूल्य ९ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।

बीएमडब्ल्यु जी ३१० जीएस एड्भेन्चर तथा टुरिङ मोटरसाइकल हो । यसमा ३१३ सीसीको लिक्विड कुल्ड डीओएचसी इन्जिन छ, जसले ३४ एचपी र २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा भएको ईएफआई सिष्टमको इन्जिन र पछिल्तिर फर्किएको सिलिन्डर हेडले चिसो हावा छोड्न र राम्रो पर्फमेन्स प्रदान गर्न भूमिका खेल्छ । यसमा भएको लामो स्विङआर्म र ५८ इन्चको छोटो ह्विलबेसले ब्यालेन्स नियन्त्रण गर्न र स्ट्याबिलिटी सुधारमा सहयोग गर्छ ।

बीएमडब्ल्यु जी ३१० आर स्ट्रिट नेकेड मोटरसाइकल हो । यसमा भएको इन्जिनले ३४ एचपी पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा भएको रिजिड ट्युबुलर स्टिल फ्रेम, अपसाइड डाउन फोर्क र लामो स्विङ आर्मले राइडिङ स्ट्याबिलिटी, स्टेयरिङ रेस्पोन्स र साउन्ड ह्यान्डलिङमा सहयोग गर्छ ।

नाडा अटो शोको अवसरमा कम्पनीले प्रत्येक बाइकमा ३० हजार नगद छुट समेत उपलब्ध गराएको थियो । त्यसैगरी एक वर्षको इन्स्योरेन्स, ३ वर्ष सम्म असीमित किलोमिटर वारेन्टी, एभीजी हेलमेटमा ५ हजार रुपैयाँ छुट, पहिलो निःशुल्क सर्भिसिङमा कुनै पनि शुल्क नलाग्ने र व्यावसायिक बीएमडब्ल्यु मोटराड सर्टिफाइड ट्रेनरहरुबाट अफरोड राइड ट्रेनिङ उपलब्ध गराइने छ । त्यसैगरी ५ जना लक्की ग्राहकलाई भारतको नोयडास्थित बुद्ध इन्टरनेसनल सर्किटमा ट्रयाक एक्सपेरिएन्स गर्ने अवसर प्रदान गरिने छ ।

बीएमडब्ल्युको हाल काठमाडौंको नक्साल नारायणचौरका साथै पोखराको नयाँ बजार, बुटवलको संगमपथ र चितवनको सेन्ट्रल बस टर्मिनल हाइवेमा सोरुम छ ।