बाइकर सुरज दा : बाइक रेसिङ र स्टन्टका पर्याय

चर्चित बाइकर हुन्– सुरज डन्डेगुलु । उनी मोटरसाइकल स्टन्ट गर्ने एक साहसी बाइकरका रुपमा युवापुस्तामाझ परिचित छन् । सानैदेखि मोटरसाइकल भनेपछि हुरुक्कै हुने सुरजका लागि त्यही मोटरसाइकल नै यतिबेला उनको चिनारी बनेको छ ।

उनको बुबाको मोटरसाइकल थियो । उनी सानै भएकाले बुबाले उनलाई मोटरसाइकल छुन समेत दिदैनथे । तर, सानै भएपनि उनमा मोटरसाइकल चलाउने इच्छा भने धेरै थियो ।

त्यसो त उनी घर नजिकैको काकाको मोटरसाइकल वर्कशपमा जान थाले । उनको अधिकांश समय वर्कशपमै बित्न थाल्यो । घरबाट स्कुल जानका लागि निस्किए पनि उनी वर्कशपमा गएर बस्थे । उनलाई वर्कशपमा मोटरसाइकल बनाएको हेर्न एकदमै रमाइलो लाग्न थाल्यो । बिस्तारै स्कुल जाने उनको वहाना बन्न थाल्यो । अधिकांश समय वर्कशपमै बिताउन थाले ।

वर्कशपमै दिनचर्या बित्न थालेपछि उनले त्यहाँ काम गर्न सुरु गरे । काम गर्न सुरु गरेसँगै ६ कक्षामा पढ्दै गरेको पढाईलाई पूर्णबिराम लगाए । उनलाई पढाईको भन्दा प्रेम मोटरसाइकलमा ज्यादा थियो । उनको पहिलो लक्ष्य नै मोटरसाइकल सिक्ने थियो । वर्कशपमा काम सिक्दै मोटरसाइकल पनि सिक्दै गए । १० वर्षकै उमेरमा वर्कशपमा काम गर्न थालेका उनले त्यही उमेरमा मोटरसाइकल पनि सिके । त्यतिबेला उनलाई आरएक्स १०० मोटरसाइकल निकै मन पथ्र्यो ।

वर्कशपमा काम गर्दा सुरुमा त्यही मोटरसाइकल सिकेको उनी बताउँछन् । ‘मलाई त्यतिबेला आरएक्स १०० मोटरसाइकलले मन छोयो,’ उनले भने, ‘वर्कशपमा यस्ता मोटरसाइकल आइरहन्थे अनि तिनै मोटरसाइकल चलाउन सिकेको हुँ ।’

काकाको वर्कशपमा डेढ वर्ष काम गरेपछि उनले अर्कै वर्कशपमा काम गर्न थाले । उनी त्यतिबेला मोटरसाइकल बनाउने काम सिक्दै थिए । एउटै ठाउँमा बसेर काम सिक्न सकिँदैन भन्ने उनलाई राम्रोसँग थाहा थियो । यसरी विभिन्न वर्कशपमा काम गर्दै जाँदा उनी एउटा राम्रो बाइक मेकानिक्स बन्न सफल भए । भक्तपुरको गोल्मढीमा जन्मिएका सुरजले सल्लाघारीमा रहेको यामाहाको सोरुममा हेड मेकानिकको रुपमा करिव ५ वर्ष काम गरे ।

यसरी मोटरसाइकलसँगको साइनो गाँस्दै अघि बढेका सुरजले मोटरसाइकलमै भविष्य देख्न थाले । उनी एउटा राम्रो मेकानिक्सको रुपमा आफूलाई सफल साबित गराए । त्यसपछि उनले आफ्नै मोटरसाइकल वर्कशप खोल्ने निधो गरे । १० वर्ष सल्लाघारीमै मोटरसाइकल वर्कशप सुरु गरे । अहिले उनको सल्लाघारी र जगातीमा आफ्नै मोटरसाइकल वर्कशप छ ।

सुरजले जे गरिरहेका थिए । त्यो उनको परिवारले भने रुचाएको थिएन । एक त सानै उमेरमा पढाई छुटायो भन्ने उनको आमाबुबामा चिन्ता थियो । तैपनि उनको मोटरसाइलप्रतिको प्रेम देखेर १० वर्ष अघि उनको बुबाले उनलाई स्प्लेन्डर मोटरसाइकल किनिदिए । त्यसयता १८ वटा मोटरसाइकल फेरिसकेको उनी बताउँछन् ।

आफ्नै वर्कशप भएपछि उनी फूर्सदिलो हुन थाले । वर्कशपमा हेरफेर गर्ने जिम्मा बुबालाई लगाइदिए । उनलाई बाइक स्टन्ट गर्ने सानैदेखिको सोख थियो । आफ्नै मोटरसाइकल नहुनु र वर्कशपमा काम गर्दा फूर्सद पनि नहुने भएकाले उनले सौख पुरा गर्न सकेका थिएनन् । जब बुबाले होन्डाको स्प्लेन्डर मोटरसाइकल किनिदिए, त्यसपछि उनी त्यही मोटरसाइकलमा स्टन्ट अभ्यास गर्न थाले । बाइक स्टन्टका स्टेपहरु युट्युब सर्च गरेर हेर्न थाले । युट्युबका मोटरसाइकल स्टन्टका भिडियोले धेरै हौसला दिएको सुरज बताउँछन् । ‘मलाई मोटरसाइकल स्टन्ट गर्ने रहर धेरै थियो । आफ्नै मोटरसाइकल नहुनु र स्टन्ट गर्ने तरिका थाहा नुहँदा गर्न पाएको थिइनँ,’ उनले भने, ‘जब युट्युबमा मोटरसाइकलको स्टन्ट भिडियोहरु हेर्न थालें त्यसले मलाई थप उर्जा दियो ।’

बाइक स्टन्ट गर्न थालेपछि उनको भेट विभिन्न मानिसहरुसँग हुन थाल्यो । उनका केही साथीहरु पनि बाइक स्टन्ट गर्थे । आफ्नै मोटरसाइकल भएपछि चाँगुनारायण, नेपाल इन्जिनियरिङ कलेज लगायतका ठाउँमा स्टन्ट अभ्यास गर्न जान थाले । उनले बाइक स्टन्ट गरेको देख्नेहरुले उनलाई थप हौस्याउँथे । एकदिन स्टन्ट अभ्यासकै क्रममा राइडर अफ भक्तपुरका राजकुमार सुवालसँग उनको भेट भयो । सुवाल पनि बाइक स्टन्टमा रुचि राख्थे । दुवैजनाले स्टन्टका अभ्यास सँगसँगै गर्न थाले । बिस्तारै स्टन्टका लेभल बढाउँदै लगे ।

प्रतिस्पर्धामा सहभागिता
स्टन्टको अभ्यासलाई निरन्तरता दिएका सुरजले बाइक स्टन्ट र रेसिङका विभिन्न प्रतिस्पर्धामा सहभागिता जनाउन थाले । सन् २०१३ मा सातदोबाटोमा भएको रेसमान्डुमा सहभागिता जनाए । उनले सन् २०१३ देखि २०१७ सम्म वर्षेनी रेसमान्डुमा सहभागिता जनाए । तर, उनी कुनै वर्ष पनि बिजेता बनेनन् । हारलाई स्विकार्दै उनले आफ्नो अभ्यासलाई भने निरन्तरता दिइनै रहे । सन् २०१६ मा सातदोबाटोको स्विमिङ पुलमा भएको नेसनल स्टन्ट ब्याटल कम्पिटिसनमा सहभागिता जनाए । उक्त कम्पिटिसनमा उनी बिजेता बने । उक्त प्रतियोगितामा ३० जनाले सहभागिता जनाएका थिए । जसमा एक्सपर्ट तर्फ उनी विजेता बनेका हुन् । यस्तै, सन् २०१६ मा तिनकुनेमा भएको क्रसमान्डु नेसनल च्याम्पियनमा पनि भाग लिए । उक्त प्रतिस्पर्धामा भने आफू सेकेन्ड रनरअप भएको सुरज बताउँछन् ।

यतिबेला सुरज क्रसफायर मोटरसाइल चढ्छन् । उनलाई यो मोटरसाइकल क्रसफायर कम्पनीले नै स्पोन्सर गरिदिएको हो । सन् २०१५ यता क्रसफायर चढ्दै आएका सुरजलाई कम्पनीले यो अवधिमा तीनवटा मोटरसाइकल स्पोन्सर गरिसकेको छ । ‘मलाई क्रसफायरले निकै सहयोग गरेको छ,’ उनी भन्छन्, ‘यदि क्रसफायरको जस्तो अरु कम्पनीले पनि सहयोग गर्ने हो भने मोटरसाइकल स्टन्ट गर्ने साहसीहरु अझै बढ्थे ।’

सल्लाघारीमा स्टन्ट एकेडेमी
सुरजलाई उनका समर्थकहरुले बाइकर सुरज दाको उपमा दिएका छन् । मोटरसाइकल वर्कशपसँगै उनले सल्लाघारीमा स्टन्ट एकेडेमी पनि खोलेका छन् । उनको हिडन एक्सन नामको एउटा टिम छ । त्यही टिमले उक्त एकेडेमी सञ्चालनमा ल्याएको हो । उनी उक्त एकेडेमीमा स्टन्ट सिक्न चाहनेहरुका लागि स्टन्ट सिकाउँछन् । हाल एकेडेमीमा ७ जनाले स्टन्ट सिकिरहेको सुरज बताउँछन् । स्टन्ट गुरुका साथै उनी विभिन्न मोटरसाइकल कम्पनीको प्रमोशनमा पनि व्यस्त भैरहेका हुन्छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...