बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
असफलतामा पनि सफलता देख्ने बाइक रेसर हुन्– आशिक लामा । मोटरसाइकल रेसिङ प्रतियोगितामा पटक–पटक असफलता, ठूला दुर्घटना र आर्थिक अभावले उनको मोटरसाइकल प्रतिको कहिल्यै मोह हटेन ।
सायद त्यही सौख, मोह र लगनशीलताले हुनुपर्छ उनी अहिले एक चर्चित बाइक रेसरको रुपमा परिचित छन् ।
लामाको मोटरसाइकलप्रतिको रुचि सानै देखिको हो । उनी सानो छँदा आफ्ना नजिकका आफन्तहरुले मोटरसाइकल कुदाएको देख्दा त्यसैगरी मोटरसाइकल चलाउन रहर जाग्थ्यो । तर उनीसँग मोटरसाइकल थिएन न त उनको बुबाआमासँग उनलाई चाहिएको बेलामा मोटरसाइकल किनिदिने अवस्था नै थियो ।
मध्यम वर्गिय परिवारमा हुर्किएका लामा सानोमा कराँते सिक्थे । यो सँगै मोटरसाइकल कुदाउने उनको धोको पनि उस्तै थियो । सडकमा कसैले फरक तरिकाले मोटरसाइकल चलाएको देखे भने उनी त्यो मोटरसाइकललाई आँखाले भ्याउन्जेलसम्म हेरिरहन्थे । अनि सोच्थे ‘म सँग मोटरसाइकल भयो भने यो भन्दा राम्रो रेसिङ गर्छु ।’
उनका कराँते गुरु थिए गिरीराज लिम्बु । उनको मोटरसाइकल थियो । एकदिन उनले गुरुलाई मोटरसाइकल चलाउने आफ्नो ठूलो धोको रहेको कुरा सुनाए । उनी कराँतेका राम्रा विद्यार्थी थिए । त्यसैले गुरुले पनि उनलाई रुचाउँथे । उनको कुरा सुनेपछि गुरुले उनलाई मोटरसाइकल चलाउन दिए ।
त्यसभन्दा अघि उनले मोटरसाइकल चलाएका थिएनन् । पहिलोपटक नै उनले राम्रोसँग मोटरसाइकल चलाएको देख्दा कराँते गुरु लिम्बु नै दंग परे । सुरुमा नै कन्फिडेन्टका साथ मोटरसाइकल चलाएको देखेर गुरुले मोटरसाइकलमै तिम्रो भविष्य छ भनेर हौसला दिएको लामा बताउँछन् । ‘मेरो रहरलाई बुझेर कराँते गुरु गिरीराज लिम्बुले मलाई उहाँको मोटरसाइकल चलाउन दिनुभयो,’ लामा भन्छन्, ‘मलाई मोटरसाइकलको अलिअलि ज्ञान थियो तर चलाएको थिइनँ त्यही ज्ञानको आधारमा कन्फिडेन्ट्ली मोटरसाइकल चलाएको देखेर गुरुले तैले मोटरसाइकलबाटै केही गर्छस् भनेर हौसला दिनुभएको थियो ।’
पहिलोपटक नै त्यति राम्रो प्रतिक्रिया पाएपछि उनले छिमेकका दाजुभाईहरुको मोटरसाइकल मागेर चलाउन थाले । तर, कतिपयले त चलाउन जान्दैन कतै लडाइदिने पो हो कि भनेर दिँदैन थिए । उनलाई अरुको मोटरसाइकल देख्यो कि चलाउन मन लागिहाल्थ्यो तर कसैले केही भन्ने हो कि भनेर डराउँथे । यसरी नै उनी मोटरसाइकल चलाउन पोख्त भए ।
मोटरसाइकल चलाउन पर्फेक्ट भएपछि उनले घरमा बुबाआमालाई मोटरसाइकल किनिदिन आग्रह गरे । तर, मोटरसाइकल असुरक्षित हुन्छ भनेर आमाबुबाले उनलाई मोटरसाइकल किनिदिन मानेनन् । त्यसपछि उनले नै सन् २०१३ मा आफैंले साथीसँग सेकेण्ड ह्याण्डको आर वान फाइभ मोटरसाइकल किने । उक्त मोटरसाइकल फाइनान्स गरेर किनेका थिए ।
रेसिङमा रुचि
आफ्नै मोटरसाइकल भएपछि उनी निर्धक्क मोटरसाइकल कुदाउन थाले । उनलाई रेसिङप्रतिको रुचि पनि सानैदेखिको हो । उनी टेलिभिजन, युट्युबमा मोटरसाइकल रेसिङ हेर्थे । त्यहीक्रममा रेसर भ्यालेन्टिनो उनको नजरमा परे । रेसर भ्यालेन्टिनोको ४६ नम्बर थियो । प्रायजसो रेसिङ बाइकमा ४६ नम्बरको स्टिकर टासेको देख्थे ।
तर, त्यो नम्बर के हो भन्ने उनलाई थाहा थिएन । धेरै पछि त्यो नम्बर रेसर भ्यालेन्टिनोका समर्थक भएर टाँसेका रहेछन् भन्ने थाहा पाए । त्यसपछि उनले पनि त्यो नम्बर आफ्नो मोटरसाइकलमा टाँसे । त्यसपछि उनी युट्युब हेर्दै मोटरसाइकल रेसिङका स्टेपहरु सिक्न थाले ।
उनी रेसिङ सिक्दा चाहिने सबै गियर्सहरु प्रयोग गरेर सिक्थे । उनलाई विशेषगरी हाइवेमा रेसिङ सिक्न र मोटरसाइकल कुदाउन मन पथ्र्यो । उनको चितवन जाने काम परिरहन्थ्यो । त्यसैले उनी हाइवेमा रेसिङ सिक्थे । बिस्तारै उनले स्पिडलाई पनि बढाउँदै गए । अहिले उनी सामान्य अवस्थामा पनि ७०–८० को स्पिमा मोटरसाइकल कुदाउँछन् ।
अहिलेसम्म सबैभन्दा बढी १ सय ७० सम्मको स्पिडमा मोटरसाइकल दौडाएको उनी बताउँछन् । ‘सुरुसुरुमा त मोटरसाइकलको स्पिड बढ्दा निकै डर लाग्थ्यो तर अहिले त सामान्य स्पिड भनेकै ७०–८० हुन्छ,’ २८ वर्षीय लामा भन्छन्, ‘हाइवेमा १ सय ७० को स्पिसम्म मोटरसाइकल कुदाएको छु ।’
१३० को स्पिमा बाइक दुर्घटना हुँदा !
बाइक रेसिङ सिक्ने क्रममा उनी निकै पटक दुर्घटनामा परे । केही वर्ष अघि उनको नेपालथोकमा मोटरसाइकल दुर्घटना भयो । त्यतिबेला उनको मोटरसाइकलको स्पिड १३० किमी प्रतिघण्टा थियो । मोेटरसाइकल लडेपछि उनी सडकबाट तलतिर उछिटिए । सेफ्टी गियर्स प्रयोग गरेकाले उनी खासै घाइते भएनन् । तर मोटरसाइकल भने क्षतविक्षत भएको थियो । यस्ता दुर्घटना त थुप्रै भएका छन् । कतिपय दुर्घटनामा त बाल–बाल बँचेको अनुभव उनी सुनाउँछन् ।
देश विदेशका रेसिङ प्रतियोगितामा सहभागिता
युट्युब तथा टेलिभिजनहरुमा रेसिङका आइडिया लिँदै रेसिङ सिकेका लामा सन् २०१४ मा नासाले आयोजना गरेको रेसमाण्डु २ मा सहमागी भए । सातदोबाटोको स्वीमिङ कम्पलेक्समा भएको उक्त प्रतियोगितामा उनी सेमी फाइनलसम्म पुगे तर सेमिफाइनलमा पुगेर अचानक लडे । त्यसपछि उनी सेमीफाइनलबाटै बाहिरिनुपरेको थियो ।
पहिलो प्रतिस्पर्धाबाटै असफल भएपनि उनले हरेस खाएनन् । उनले थप अभ्यास गरे । त्यसपछि अर्को वर्ष रेसमाण्डु ३ मा सहभागी भए । त्यतिबेला पनि रेसिङको बेलामा मोटरसाइकल बिग्रिएकाले उनी पहिलो चरणबाटै बाहिरिए । यसरी प्रतिस्पर्धामा मोटरसाइकलले धोका दिएपछि उनले नयाँ आर वान फाइभ मोटरसाइकल किने ।
त्यसपछि उनले त्यो मोटरसाइकलमा करिव १ वर्ष अभ्यास गरे । अभ्यासमै रहेकाले रेसमाण्डु ४ मा सहभागी भएनन् । २०१७ मा भएको रेसमाण्डु ५ मा उनले भाग लिए । त्यसमा उनी प्रथम भए । जसबापत उनले ३० हजार रुपैयाँ नगद र बैंककमा हुने रेसिङ प्रतियोगितामा सहभागी हुने मौका पाए । त्यसपछि उनी सन् २०१७ मै बैंककमा भएको एसिया कप रोड रेसिङमा सहभागी भए । उक्त प्रतियोगितामा १६ जना सहभागी थिए । जसमा उनी छैटौं भएका थिए ।
यस्तै, नेपालमा सन् २०१८ मा नेपाल रोड रेसिङ कप भयो । त्यसमा उनी सहभागी भए । उक्त प्रतियोगितामा आफू फर्स्ट रनरअप भएको उनले बताए । उक्त प्रतियोगितामा पनि उनले ३० हजार रुपैयाँ नगद पुरस्कार पाएका थिए ।
यस्तै, सन् २०१८ मै होन्डा कम्पनीले आयोजना गरेको होन्डा नेपाल ड्रिम कपमा भाग लिए । त्यसमा पनि उनी सेकेन्ड रनरअप भए । त्यसबापत उनले ५० हजार रुपैयाँ नगद पुरस्कार र चेन्नइमा हुने रेसिङ प्रतियोगितामा सहभागी हुने मौका पाए ।
२०१९ मा चेन्नइमा भएको इन्डियन नेसनल मोटरसाइकल रनिङ च्याम्पियनसिपमा सहभागी भए । त्यो प्रतियोगितामा उनी आठौं भएका थिए । त्यसपछि नेपालमा भएको नेपाल रोड रेसिङ च्याम्पियनसीप २०१९ मा सहभागी भए । उक्त प्रतियोगितामा पनि उनी फाइनलमा पुगे तर मोटरसाइकल लडेर उनी विजेता बन्न सकेनन् ।
यसरी विभिन्न असफलतासँग हार नमानेका लामाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बाइक रेसिङ प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।
यतिबेला उनी होन्डा कम्पनीको सेल्स एक्जिक्युटिभको रुपमा कार्यरत छन् । मोटरसाइकलमा ज्ञान भएको र विभिन्न च्याम्पियनको विजेता, रनरअप भएकाले कम्पनीको नजरमा उनी परेका थिए । त्यसैले २ वर्ष अघि होन्डा कम्पनीले उनलाई जागिरको अवसर दिएको थियो ।
अहिले उनीसँग होन्डा कम्पनीकै सीबीआर २५० मोटरसाइकल छ । यो मोटरसाइकल उनले होन्डाले आयोजना गरेको रेसिङ प्रतियोगितामा भाग लिनका लागि किनेका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...