चोरको निसाना बन्दै पल्सर मोटरसाइकल, यस्तो छ कारण

पछिल्लो समय मोटरसाइकल चोरीका घटना दिनदिनै बढ्दै गइरहेका छन् । करिव एक महिनाको अवधिमा महानगरिय ट्राफिक महाशाखाले ५० वटाभन्दा बढी मोटरसाइकल फेला पारेर सम्बन्धित सवारी धनीलाई बुझाएको छ । साथै पौष महिनामा मात्र ४१ वटा मोटरसाइकल अनुसन्धानका लागि ल्याएको छ भने चोरीमा संलग्न ११ जनालाई पक्राउ गरि मुद्धा चलाइसकेको महाशाखाका प्रहरी उपरिक्षक तथा प्रवक्ता श्यामकृष्ण अधिकारी बताउँछन् ।

महाशाखामा मोटरसाइकल तथा स्कुटर चोरी भएको भन्दै खोजतलासका लागि निवेदन धेरै आउँछन् । यो मध्ये बजाज कम्पनीका पल्सर मोटरसाइकल सबैभन्दा धेरै चोरी हुने गरेको महाशाखाले जनाएको छ । महाशाखाले गत १७ गते फेला पारेका चोरीका २२ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । जसमध्ये अधिकांश बजाज कम्पनीको पल्सर मोटरसाइकल थिए ।

यसअघि पनि २२ वटा मोटरसाइकल हस्तान्तरण गर्दा १० वटा पल्सर मोटरसाइकल थिए । उक्त मोटरसाइकलाई पनि महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेका थिए ।

भट्टराई महाशाखा प्रमुख भएयता ५० वटाभन्दा बढी चोरीका मोटरसाइकल फेला पारेर हस्तान्तरण गरिएको प्रवक्ता अधिकारी बताउँछन् । ‘हामीले यो अवधिमा ५० वटाभन्दा बढी चोरी भएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएका छौं,’ उनले भने, ‘चोरी भएका अधिकांश मोटरसाइकल पल्सर नै रहेका छन् ।’

आखिर किन अन्य मोटरसाइकलको तुलनामा बजाजको मोटरसाइकल चोरको निशानामा पर्छन् ? बौद्धस्थित बजाजको आधिकारिक सर्भिस सेन्टर न्यु इको सर्भिस सेन्टरका सञ्चालक तथा मोटरसाइकल मेकानिक दीपक रिगल अन्य मोटरसाइकलको तुलनामा पल्सर बढी चोरी हुनुमा यसको लक कमसल हुनुलाई कारक मान्छन् । ‘पल्सरको लकमा दुईवटा मात्र बोल्ट हुन्छ अनि चोरलाई पनि लक खोल्न सजिलो हुन्छ । अन्य मोटरसाइलको तुलनामा यसको भ्यालु र बजारमा डिमान्ड पनि बढी भएकाले चोरले यसैलाई बढी निसाना बनाउँछन्,’ उनी भन्छन्, ‘त्यसैले चोरीबाट बचाउनका लागि सवारी धनी नै चनाखो हुनुपर्छ ।’

विशेषगरी सहरी क्षेत्रमा मोटरसाइकलहरु बढी चोरी भैरहेका छन् । सहरी क्षेत्रमा चोरी गरेर चोरहरुले गाउँमा लगेर बेच्ने गरेको अनुसन्धानबाट पत्ता लागेको महाशाखाका प्रवक्ता अधिकारी बताउँछन् । ‘अन्य मोटरसाइकलको तुलनामा पल्सरको पिकअप पनि राम्रो हुने र गाउँघरको सडकका लागि प्रभावकारी हुने भएकाले चोरहरुले पल्सरलाई सहरीक्षेत्रबाट चोरेर गाउँमा लगेर बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

कतिपय अवस्थामा सवारी धनीको लापरवाहीका कारण मोटरसाइकल चोरी हुने गरेको महाशाखा प्रमुख भट्टराई बताउँछन् । ‘कतिपय अवस्थामा सवारी धनीको लापरवाहीका कारण मोटरसाइकल चोरी भैरहेका छन्,’ उनले भने, ‘जथाभावी मोटरसाइकल पार्किङ गर्दा मोटरसाइकल चोरी हुने भएकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्ने, अलार्म लगायतका उपकरण जडान गर्ने, घर कम्पाउण्डमा पार्किङ गरेको हो भनेर ढुक्क नपर्ने र एकैछिन हो भनेर अतिरिक्त लक लगाउन अल्छी नगर्ने गर्नुपर्छ ।’ साथै मोटरसाइकल चोरी भएको थाहा हुनासाथ ट्राफिक प्रहरी हटलाइन नम्बर १०३ अथवा अनलाइन सेवा https://lvims.nepalpolice.gov.np/ मा लगइन गरेर निवेदन दिनुपर्ने उनले बताए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...