tvs-race

अटोमोबाइल व्यवसायी सौरभ ज्योतिले लकडाउनको अवस्थामा सामाजिक सञ्जालमार्फत विभिन्न चेतनामूलक कार्य गरिरहेका छन् । उनी ज्योति ग्रुपका डाइरेक्टर हुन् । ज्योति ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले नेपालमा होन्डा बाइक तथा कार आधिकारिक रुपमा बिक्री–वितरण गरिरहेको छ । उनी अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडाका पूर्व अध्यक्ष समेत हुन् ।

शुक्रबार सौरभ ज्योतिले होन्डा बाइकलाई काठमा बोकेर ढुवानी गरिरहेको तस्बिर आफ्नो फेसबुकमा पोस्ट गरे । होन्डाले नेपालमा बिक्री प्रारम्भ गरेको ५०औं वर्षगाँठ मनाउदै गर्दा करिव दुई वर्ष पहिले यस्तै दुश्यको भिडियो सार्वजनिक गरेको थियो । उनले सो कार्यको पुनः स्मरण गरेका हुन् । नेपालमा पहिलो पटक होन्डाको बाइक भित्रिएको प्रतिनिधि चित्र यसमा देखाउन खोजिएको छ । यद्यपि त्यो समयमा यसरी बोकेर बाइक भित्र्याइएको भने थिएन । 

यसमा नेपालमा भित्रिएको होन्डाको पहिलो बाइक देखाइएको छ । होन्डाले नेपालमै पहिलो पटक सीटी ९० नामक ८९ सीसीको फोर स्ट्रोक एयरकुल्ड बाइक भित्र्याएको थियो । नेपालको इतिहासमा यो बाइकको निकै महत्व छ ।

त्यसै दिन उनी ग्लोकल नेपालले आयोजना गरेको ‘वि विल रिभाइभ’ कार्यक्रममा फेसबुक लाइभमार्फत क्राइसिस पश्चात के गर्ने भन्ने वारेमा आयोजना गरिएको टक शोमा सहभागी भए । उनका साथमा नविल बैंकका सीईओ अनिलकेशरी शाह, गोल्याण ग्रुपका अध्यक्ष पवन गोल्यान र नेपाल रिपब्लिक मिडियाकी एक्जिक्युटिभ डाइरेक्टर समृद्धि ज्ञवाली समेत संलग्न थिए ।

कोरोना भाइरसको कारण लकडाउन प्रारम्भ भए पश्चात ज्योतिले प्रत्येक दिन नयाँ पोष्ट गर्दै लकडाउनलाई सकारात्मक रुपमा लिनु पर्ने सन्देश दिएका छन् । पहिलो दिन उनी आफैले आफ्नो ग्यारेजमा भएको बाइकलाई मर्मत गरेको बताएका छन् । यसका साथमा उनले लकडाउनलाई सकारात्मक रुपमा लिनु पर्ने र यसलाई परिवारलाई समय दिन पाउने अवसरका साथै आफूले गर्न बाँकी रहेका विभिन्न कार्यलाई सम्पन्न गर्नु पर्ने अवसरको रुपमा लिनु पर्ने भिडियो सन्देश समेत राखेका छन् ।

नले होन्डा नेपालले नेपाल मेडिकल एसोसिएसनसँग मिलेर आयोजना गरेको कोरोना हेल्प लाइन सेन्टरको वारेमा पनि जानकारी दिएका छन् ।

‘यदि तपाईं वा तपाईंको परिवार र छिमेकीमा कोरोना सम्बन्धी कुनै लक्षण देखिएमा वा शंका लागेमा वा जानकारी चाहिएमा तुरुन्त हेल्प लाइनमा फोन गरौं र डाक्टरको सल्लाह लिऔं’ ज्योति ग्रुपले सार्वजनिक गरेको अपिलमा भनिएको छ । यसका लागि ०१ ५९७०००९ नम्बर समेत सार्वजनिक गरिएको छ ।

यस हेल्प लाइनमा जुन स्थानवाट फोन ग-यो, सोही स्थानमा रहेका विज्ञ डाक्टरहरुले सहयोग गर्नेछन् ।

त्यसैगरी अन्य दिनमा पनि उनले विभिन्न खेलकुदमा संलग्न भएको र स्वास्थ्यलाई तन्दुरुस्त राख्नका लागि गरेका विभिन्न कार्यहरु देखाएका छन् ।

लकडाउनको समय सदुपयोग हुनुका साथै समाजलाई पनि केही सकारात्मक सन्देश दिन सकियोस् भन्ने उद्देश्यले आफूले यो कार्य गरेको ज्योतिले बताए ।

सौरभ ज्योति व्यवसायी मात्र नभएर गाडी र मोटरसाइकलका निकै शौखिन ब्यक्ति पनि हुन् । उनीसँग महंगा र आकर्षक सवारी साधनहरुको कलेक्सन नै छ ।