नरेश प्रधानले माछापुच्छ्रे बैंकको कन्जुमर बैंकिङ अन्तर्गत होम लोन, अटो लोन, पर्सनल लोन आदि व्यवस्थापन गर्छन् । बैंकिङ क्षेत्रमा १३ बर्ष भन्दा लामो अनुभव भएका र माछापुच्छ्रे बैंकमा विगत ३ वर्ष भन्दा लामो समय देखि कार्यरत प्रधानसँग अटो लोन र अन्य विषयमा गरिएको कुराकानी
अटो लोनमा माछापुच्छ्रे बैंकको अवस्था कस्तो छ ?
अटो लोनमा हामी राम्रो तरिकाले अगाडि बढिरहेका छौ । हालै सम्पन्न नाडा अटो शोलाई लक्ष्यित गरी एउटा थप स्किम ल्याएका थियौं । यस अन्तर्गत हामीले १० बर्ष सम्म किस्ता तिरेर गाडी किन्न सकिने व्यवस्था गरेका छौ ।
१० बर्ष नै किन ?
सामान्यतः ७ वा ८ बर्षको ट्रेन्ड देखिन्छ । तर हाल बजारमा राम्रा गाडी आइरहेका र १० बर्ष सम्म राम्रो कन्डिसनमै रहने हुनाले हामीले १० वर्षको प्रावधान ल्याएका हौ । नेपाल राष्ट्र बैंकको नीति अनुसार गाडी किन्न चाहनेले बैंकबाट ६५ प्रतिशत भन्दा बढी ऋण लिन नपाउने अवस्था छ । पहिले गाडी विलाशिताको साधन मानिन्थ्यो । तर हाल आएर यो विलाशिताको साधन नभई आवश्यकता बनिसक्यो । त्यसैले अलि थोरै मात्र इएमआई तिर्न सक्ने अवस्था भएकाहरुलाई समेत समेट्न सकियोस् भनेर हामीले यो स्किम ल्याएका हौ ।
नरेश प्रधान
प्रमुख, कन्जुमर बैंकिङ सेगमेन्ट
माछापुच्छ्रे बैंक लिमिटेड
राष्ट्र बैंकले ल्याएको ३५ प्रतिशत डाउन पेमेन्ट र ६५ प्रतिशत अटो लोनको नीतिले बैंकको गतिविधिमा कस्तो असर पुगेको छ ?
राष्ट्र बैंकको यो नीतिले बैंकहरु भन्दा पनि अटोमोबाइल डिलरहरुको व्यवसायमा बढी असर पुग्ने हो । सुरक्षित लगानीको हिसाबले त बैंकहरुलाई झनै फाइदा पुग्छ । यसबाट बैंकहरुको लगानी डुब्ने खतरामा कमी आउछ । यसका कारण बैंकहरुको लगानीमा खास असर पुगे जस्तो मलाई लाग्दैन । तर अटोमोबाइल डिलरहरुलाई भने असर पुगेको छ । यद्यपि डिलरहरुको व्यवसायमा असर पुग्नुमा समग्र अर्थ व्यवस्थाले नै असर पु¥याएको छ । अर्थ व्यवस्था राम्रो भयो भने ग्राहकको क्रय शक्ति बढ्छ । आर्थिक गतिविधि बढेमा समग्र व्यवसाय राम्रो हुन्छ ।
यो भन्दा पहिले १० प्रतिशत डाउन पेमेन्ट सम्मको चलन थियो । बैंकहरुले ९० प्रतिशत सम्म लगानी गर्थे । हाल त्यति लगानी गर्न नपाउदा केही असर पुगेको छ कि ?
बैंकलाई खासै असर पुगे जस्तो लाग्दैन । गाडी किन्न आउने मानिसहरुमा सामान्यतः यति धेरै तिर्नु पर्नेछ भन्ने मानसिकता हुन्छ । उनीहरु त्यसका लागि मानसिक रुपमा तयार भएका हुन्छन् र क्रय शक्ति अनुसार अगाडि बढ्छन् ।
पहिले अटो लोनमा विकृती पनि आएको पाइएको थियो । कागजातको राम्रो अध्ययन नहुने, जथाभावी लगानी गर्ने आदि कारण लगानी जोखिमयुक्त बन्यो भन्ने कुराहरु पनि आएका थिए । अहिलेको नयाँ प्रावधानले त्यस्ता विकृतीलाई हटाएको छ ?
अवश्य । अलि बढी नगद लगानी गरे पछि माया लाग्छ । माया गरे पछि गाडीलाई पनि राम्रो तरिकाले राखिन्छ । बैंकको बाँकी ऋण पनि तिर्नु पर्छ भन्ने हुन्छ । यसका कारण बैंकहरुको ऋण लगानी पनि सुरक्षित हुने रहेछ । त्यसैले राष्ट्र बैंकको पछिल्लो नीतिले केही राम्रो अवश्य गरेको छ ।
फर्स्ट टाइम बायरले २५ लाख देखि ३० लाखको गाडी किन्न खोज्छ । यो अवस्थामा मैले यति लगानी गर्नु पर्छ भन्ने मान्यता हुन्छ । जेन्युइन कस्टमर मात्र बैंकमा अटो लोनका लागि आउछन् । पहिले धेरै लोन लिनु पर्ने हुँदा मासिक रुपमा तिर्नु पर्ने किस्ता पनि धेरै हुन्थ्यो । तर अब किस्ता पनि कम हुने भएको छ । हिजोको दिनमा केही समस्या भए पनि हाल आएर भने सबैका लागि विन विन अवस्था छ ।
प्यासेन्जर सेगमेन्टमा मात्र बैंकहरुको लगानी बढी भएको र अन्य सेगमेन्टका गाडीहरुमा चासो नदिएको आरोप पनि छ नि ?
प्यासेन्जर कार किन्नेहरुले आफ्नै सुविधाका लागि यसको उपयोग गर्छन् । उनीहरुको आर्थिक अवस्था, व्यवसाय, पारिवारिक अवस्था सबै अध्ययन गरी हामीलाई पनि लगानी गर्न सहज हुन्छ । त्यसको तुलनामा कमर्सियल भेइकलमा लगानी गर्न अलि समस्या छ । यद्यपि पहिले देखि नै यही क्षेत्रमा लागिरहेका व्यवसायीहरुमा भने ढुक्कका साथ बैंकहरुले लगानी गरिरहेका छन् । उनीहरु यो क्षेत्रमा कार्य गरिरहेको हुनाले बैंकहरुलाई ऋण लगानी गर्न पनि केही समस्या हुँदैन । तर कुनै नयाँ ब्यक्तिले अरुको लहैलहैमा लागेर लगानी गरौ न त भनेर आउने र पछि समस्या निम्तिने गरेको पनि पाइन्छ । मानौ एउटा कुनै रुटमा बस हाल्यो, तर उसमा यसको वारेमा केही ज्ञान हुँदैन । पछि बैंकलाई थाहै नदिई किनबेच हुने गरेको पनि पाइन्छ ।
नाडा अटो शो पछि दसैं तिहार जस्ता चाडपर्व पनि भित्रिदै छन् । यसका लागि बैंकको योजना के छ ?
हामीले यही स्किम अन्तर्गत पुस मसान्त सम्म अटो लोन उपलब्ध गराउने छौ । यस अन्तर्गत १० बर्ष सम्म अवधि, बेस रेट शून्य दशमलव ५ प्रतिशत र डकुमेन्ट पूर्ण भएमा ३ दिनमा डेलिभरी गर्न सकिने व्यवस्था छ । बैंकले ११ दशमलव ०६ प्रतिशतको दरमा अटो लोन उपलब्ध गराइरहेको छ ।
अटो शोको विषयमा केही भन्नु छ ?
हामीले पहिले देखि नै अटो शोमा भाग लिइरहेका थियौ । तर बैंक एन्ड फाइनान्सहरुलाई यस वर्ष समेटिएन । हामीले त्यही बसेर हाम्रो स्किमको वारेमा अवलोकनकर्ताहरुलाई जानकारी दिन सकेनौ । अहिले यो सम्भव भएन । आगामी दिनमा अलि ठूलो स्थान मिलाएर सबैलाई समेट्न सकेमा राम्रो हुन्थ्यो । अटोमोबाइलसँग सम्बन्धित पार्ट्स, बैंक, फाइनान्स आदि समेत अटो शोमा सहभागी हुनु पर्ने हो । धेरै मानिसहरु बैंक र फाइनान्सहरुबाट अटो लोन लिएरै गाडी किन्छन् । त्यसैले उनीहरुको पनि अटो शोमा सहभागी हुनु पथ्र्यो ।
बैंकहरुले ब्याज दर बढाउदा ह्वात्तै बढाउने र घटाउदा खासै नघटाउने गरेको आरोप पनि लाग्दै आएको छ । यसको वारेमा तपाईंको भनाइ के छ ?
मलाई अन्य बैंकको वारेमा त थाहा छैन । तर माछापुच्छ्रे बैंकले अटो लोनमा राम्रो लगानी गरेको छ । बैंकमा भएको तरलता अनुसार ब्याज दर घट्ने वा बढ्ने हो । यसमा समग्र बैंकहरुले लिने नीतिले असर पु¥याउछ । तर एकै पटक धेरै ब्याज दर बढ्ने गरेको भने छैन । घटाउदा पनि अवस्था अनुसार घटाइरहेको छ ।
थप केही छ कि ?
अटो शो अलि ठूलो स्थानमा गर्दा राम्रो हुन्छ । हुन त यसका लागि स्थान अभाव भने छ । अनि अटो शोलाई आगामी दिनमा काठमाडौं वाहिर चितवन, पोखरा आदि स्थानमा पनि गर्दा राम्रो हुन्छ । यस्तो भएमा सो क्षेत्रका मानिसहरुले त्यही नै अटो शो हेर्न पाउछन् ।