विदेशीले धानेको नेपाली अटो मेकानिक्स व्यवसाय, जसले धेरै युवालाई स्वरोजगार बनाउन सक्छ

गत साता आयोजित एक कार्यक्रममा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपानेले अटोमोटिभ इन्जिनियरहरुलाई अरुको संस्थामा जागिर खानु भन्दा आफ्नै स्वरोजगार पेशा अपनाउन आग्रह गरे । उनको आशय अटो मेकानिक्स व्यवसायमा प्रशस्तै सम्भावना छ र यसमा दक्ष जनशक्ति लाग्नु पर्छ भन्ने थियो ।

नेपालमा युवा बेरोजगारको समस्या छ भनेर भनिन्छ । तर अटोमोबाइल व्यवसाय र विशेष गरी सवारी साधन मर्मत गर्ने वर्कसपहरुमा भने अझै पनि प्रशस्तै जनशक्तिको खाँचो छ । अधिकांश मेकानिक्सहरु आफूले वर्कसपमा अग्रजहरुबाट सिकेकै भरमा सवारी साधन मर्मत गर्दै आएका छन् । उनीहरुलाई समय समयमा नयाँ प्रविधिको वारेमा तालिमको आवश्यकता भए पनि तालिम पाएका छैनन् । कोही जान्ने ब्यक्तिलाई सोधेर जानेकै भरमा कार्य गरिरहेका छन् ।

नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले सिप्रदीले नैकापमा विश्व स्तरीय तालिम केन्द्र सञ्चालन गरिरहेको र आगामी दिनमा धेरै मेकानिक्सहरुलाई तालिम प्रदान गरिने बताउँछन् । हुन पनि सिप्रदीले टाटा गाडी मात्र नभएर जुनसुकै गाडी बनाउने मेकानिक्सलाई समेत तालिम प्रदान गर्दै आएको छ । अटो मेकानिक्स व्यवसायी महासंघसँग मिलेर नेपालभरका मेकानिक्सहरुलाई तालिम प्रदान गरिरहेको न्यौपाने समेत स्वीकार्छन् । यद्यपि अन्य गाडी निर्माता कम्पनीका आयातकर्ताहरुले भने आफ्नो आधिकारिक वर्कसपमा काम गर्ने मेकानिक्स भन्दा अन्यलाई तालिम प्रदान गर्ने कार्यमा धेरै चासो दिएको पाइदैन ।

व्यवसायीहरुको भनाइ अनुसार अहिले चारपांग्रे सवारी साधन मर्मत गर्ने वर्कसपहरुमा ६० प्रतिशत र दुई पांग्रे सवारी साधन मर्मत गर्ने वर्कसपहरुमा ९० प्रतिशत मेकानिक्सहरु विदेशी छन् । नेपालमा काम सिकेका अटो मेकानिक्सहरु विदेशमा पलायन हुने लहर नै चलेको छ । यसले गर्दा पनि भएका जनशक्ति समेत घट्दै गएको अवस्था छ । श्री नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष राजकुमार बिकेका अनुसार बाइक बनाउने मेकानिक्सको समेत बजारमा सधै अभाव हुने गरेको छ । यसले गर्दा धेरैजसो मेकानिक्सहरु वर्कसपमा काम गर्दै सिक्दै गर्ने गरेका छन् ।

दुई पांग्रे वा चार पांग्रे सवारी साधन मर्मतका लागि दक्ष मेकानिक्स उत्पादन गर्ने संस्थाहरु नेपालमा नभएका होइनन् । सानोटिमी प्राविधिक शिक्षालय देखि विभिन्न नगरपालिका र गाउँपालिकाहरुले समेत विभिन्न प्रकारका स्वरोजगार जनशक्ति उत्पादन गर्ने तालिमहरु सञ्चालन गरिरहेका छन् । पछिल्लो समयमा विभिन्न सवारी आयातकर्ता कम्पनीहरुले समेत यस्ता तालिम आयोजना गर्छन् । तर पनि यो क्षेत्रमा जहिले पनि जनशक्तिको अभाव देखिन्छ ।

मेकानिक्स पेशा एउटा स्वरोजगार बन्ने पेशा हो । केही समय काम सिके पछि धेरै मेकानिक्सहरुले आफ्नै व्यवसाय गरेको पाइन्छ । यद्यपि यो पेशालाई समेत व्यवस्थित गर्नुपर्ने आवश्यकता भएको यो क्षेत्रमा कार्यरत व्यवसायीको भनाइ छ । काठमाडौं उपत्यकाकै सन्दर्भमा पनि एउटा सानो सटर भाडामा लिएकै भरमा वर्कसप चलाउने र सरकारलाई कर समेत नतिरेर व्यवसाय सञ्चालन भइरहेको र यसले वास्तविक व्यवसायीलाई मार परेको संघका अध्यक्ष राजकुमार बिकेले बताए ।

व्यवसायीहरुको भनाइ अनुसार अहिले चारपांग्रे सवारी साधन मर्मत गर्ने वर्कसपहरुमा ६० प्रतिशत र दुई पांग्रे सवारी साधन मर्मत गर्ने वर्कसपहरुमा ९० प्रतिशत मेकानिक्सहरु विदेशी छन् ।

यस्ता विभिन्न प्रकारका समस्या समाधानको लागि आफूहरुले अटोल्यान्डको माग गरिरहेको महासंघका महासचिव न्यौपाने बताउँछन् । सबै अटो मेकानिक्सहरुले एकै स्थानमा व्यवसाय गर्ने हो भने सहरी सौन्दर्यमा पनि सहयोग पुग्ने र व्यवसायीहरुलाई पनि सहज हुने भएकाले अटोल्यान्डको माग निकै नै बढ्दो छ । बुटवलको मैनाबगरमा भएको पहिलो अटोल्यान्ड देखि हाल दाङको घोराही र तुल्सीपुरमा समेत अटोल्यान्ड स्थापित भइसकेको छ । आगामी दिनमा अन्य सहरमा समेत अटोल्यान्ड स्थापना गरिनु पर्ने लविङमा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ क्रियाशील छ ।

नेपालमा धेरै अटो मेकानिक्स व्यवसायीहरुले यही पेशामार्फत आफ्नो दैनिक जीवनलाई आकर्षक बनाएका छन् । परिवार पाल्न मात्र होइन, आधारभूत आवश्यकत पुरा गरेर अन्य कार्यमा समेत यही पेशाले सहज बनाइदिएको छ । कसैको पाउ मोलेर गर्नु नपर्ने पेशा भएको र आफ्नै तरिकाले व्यवसाय गर्न सकिने भएकाले यो पेशा आकर्षक छ । तर धुलोमैलोमा खेल्नु पर्ने र फोहोरी पेशा भन्ने मान्यता समेत कतिपयको भएकाले यसमा धेरै आकर्षित नभएको हुन सक्छ । यद्यपि आधुनिक जमानामा यो व्यवसायलाई अझै व्यवस्थित गरी सफा र सुग्घरयुक्त तरिकाले यो व्यवसायलाई थप आकर्षक बनाउन सकिन्छ ।

कुनै युवाले यो पेशा सिक्यो भने उसले सहरी क्षेत्रको जुनसुकै वर्कसपमा पनि काम पाउने सम्भावना छ । राम्रो गर्दैै गए पछि आफै वर्कसप खोल्न पनि सकिन्छ । नेपालमा जहिले पनि नयाँ सवारी साधन भित्रिरहेका छन् । पुराना सवारी साधन पनि छन् । यी सवारी साधन बिग्रेको अवस्थामा र सामान्य अवस्थामा समेत सर्भिसिङ गराउनु पर्ने आवश्यकता हुन्छ । यो अवस्थामा काम लाग्ने भनेका अटो मेकानिक्स नै हुन् । तर पनि जहिले पनि यो पेशामा जनशक्तिको अभाव नै रहेको छ । त्यसैले यसको कमीलाई पुरा गर्नका लागि पनि युवा जनशक्ति लाग्नु पर्ने आवश्यकता छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...