tvs-race

किरण केसी । नाम लिना साथ अग्लो जिउडाल र ठूलो अनुहार प्राय: सबैको मानसपटलमा झुल्किन्छ । हुन पनि तितो सत्य टेलिश्रृंखला मार्फत यिनको ब्रान्ड नै बन्यो, ‘राता मकै’ । नेपाली कला जगतमा बहु प्रतिभाशाली कलाकारका रुपमा चिनिन्छन्, केसी । २०१४ साल असार १५ मा ललितपुरको इमाडोलमा जन्मिएका केसी तीन दशकदेखि अविछिन्न रुपमा कलाकारितामा सक्रिय छन् ।

ठूलो पर्दाका १ सय ५ वटा चलचित्रमा अभिनय गरिसकेका केसीले ७ सय थान त टेलिफिल्म नै खेलिसकेका छन् । लगभग ७५ वटा उत्पादनका विज्ञापनमा उनको उपस्थिति छ । उत्तराद्र्धमा हास्य अभिनेताका रुपमा चर्चित भए पनि उनको अर्को लोकप्रियता प्यारोडी गायन हो । ३ वटा सोलो प्यारोडी एल्बम निकालिसकेका छन्, उनले । त्यसमध्ये “सञ्चै हुनुहुन्छ” चर्चित एल्बममा पर्छ ।

केसी चलचित्र निर्माता पनि हुन् । ‘ता त सार्‍है बिग्रिस् नि बद्री’, ‘जे भो राम्रै भो’ केसीले लगानी गरेका फिल्म हुन् । ‘ता त सार्‍है बिग्रिस् नि बद्री’ ०५७ सालतिर निकै चर्चित बनेको थियो । कलाकारिताकै माध्यमबाट नेपालका ६७ वटा जिल्ला र विश्वका ४२ वटा देश घुमिसकेका केसीलाई ‘तितो सत्य’ नामक हास्य टेलिश्रृखलाबाट नयाँ पुस्ताले समेत चिन्यो ।

न कुनै ड्राइभिङ सेन्टर थियो, न त जान्ने कसैले सिकायो । अनुमानकै भरमा गाडी हाँक्ने कलाकारको रोचक कथा

उनी समाजसेवीका रुपमा पनि पनि परिचित छन् । उनको अगुवाइमा ललितपुरको सातदोवाटोमा २८ करोड रुपैयाा बराबरको प्रहरी कार्यालय र इमाडोलमा २७ लाख रुपियाा लागतमा प्रहरी बिट बनेको छ । अर्को रोचक कुरा त के छ भने उनी निजी सवारी साधन चढ्ने पहिलो नेपाली कलाकार पनि हुन् । उनले यस्तै दाबी गरेका छन् । “कसैले म पहिलो हुँ भनेर दाबी गरिहाले पनि म दु:ख मान्दिन,” हाँसोको फोहोरा छुटाउँदै उनी भन्छन् ।

पहिलो निजी कार चढ्ने केसीसँगको अटो अनुभव :


हैट धन्न बाँचिएछ 

केसीको अनुभवमा त्यो दिन अर्थात् आफ्नै सवारी साधन किनेको दिन अद्भूत खुशीको क्षण थियो । उनकै शब्दमा एसएलसीमा पहिलो भएको दिन, विवाह गरेको दिन, लाखौं पुरस्कार पाएको दिन, घरमा बच्चा जन्मिएको दिन, वर्षौर्ंपछि बिदेशबाट घर फर्केको दिनभन्दा पनि खुसिको दिन थियो रे । उनी भन्छन्, “जुन दिन म आफै ड्राइभिङ्ग गरेर गाडीमा निस्किएँ त्यो दिनको फुर्ति र खुसी नाप्न र जोख्न नसकिने थियो ।” उनले चढेको त्यो पहिलो गाडी थियो, जापनिज कम्पनी टोयोटाको कोरोल्ला ।

उनले ड्राइभिङ्ग गुरु नथापी आफ्नै प्रयासले सवारी चलाउन सिके । कोरोल्ला कारलाई एक्लै हाँकेर इमाडोलदेखि कोजीहोमसम्म पुर्‍याएका थिए, पहिलोपटक । तर सास्ती कस्तो पाए भने गाडी घरी पल्टिएला जस्तो हुन्थ्यो त घरी बढी रफ्तारमा गुड्थ्यो । पटक पटक स्टार्ट बन्द भयो । अनि बेलाबेला घ्यार्र गथ्र्यो ।

उनले धेरै पछि थाहा पाए यो सब गियर, क्लच र ब्रेकको सन्तुलन नमिलेर भएको रहेछ । यत्ति हो यो आँटले उनलाई गियर, क्चल र ब्रेकको सन्तुलन हुनुपर्ने दिव्य ज्ञान प्रदान गर्‍यो । हुन पनि उनले आफ्ना पिताले चलाएको देखेको भरमै स्टेयरिङ समातेका थिए । “जे कुरापनि परेपछि र गरेपछि आउने रहेछ,” केसीलाई उक्त घटना सम्झँदा यस्तै लाग्छ । त्यसरी सिकेको उक्त कोरोल्ला १ लाख २५ हजार रुपैयाँमा किनिएको थियो, जुन लगभग ६ हजार किलोमिटर गुडेको थियो । अर्थात् केसी सेकेण्ड ह्याण्ड सवारीमा पहिलो पटक सवार भएका थिए । उक्त गाडी १४ वर्ष चढेर ५ लाख २५ हजारमा बेचेछन् । अर्थात् नाफा गरेछन्, केसीले ।

अरुले हाँकेको देखेर गाडी चलाउन थालेका उनले चालक अनुमति पत्र समेत निकै पछि लिएछन् । मोटरसाइकल र कार कुदाउन थालेको केही वर्षपछि मात्र लाइसेन्सधारी बनेको केसीले बताए । ०३७ सालमा मोटरसाइकलको लाइसेन्स पहिले लिएका रहेछन् । त्यसपछि चार पांग्रे सवारी साधनको लाइसेन्स लिए, उनले । मोटरसाइकल र गाडी दुवै पिताकै थियो । दुवै पिताले हाँकेको देखेरै सिके । तर लाइसेन्स लिंदा भने उनले पुरै परिक्षा पास गरे रे । त्यसबेलाको खुल्ला सडकमा सवारी सिक्न र गुडाउन दुवै सहज हुने भएकाले लाइसेन्स आफ्नै मिहिनेतमा निस्कन सम्भव भएको केसीको निचोड छ ।

कोरोल्लादेखि स्कर्पियोसम्म
सुरुमा केही वर्ष टोयोटा कोरोल्ला चढेपछि केसीले टोयोटाकै क्यामरी किने । त्यसपछि निशानको एफआइ हुँदै ग्रेस चढे । हाल उनी ब्राण्ड फेर्दै महिन्द्राको स्कर्पिओमा पुगेका छन् । उनको अनुभवमा स्कर्पियो उन्मत्त ‘साँढे’ जस्तै छ रे । फराकिलो, नौ जनासम्म अटाउने, पारिवारिक प्रयोगको लागि ज्यादै उपयुक्त, पार्टपुर्जा सहज उपलब्ध हुने, छिमेकी देशमा बनेको लगायतका बिशेषताकै कारण स्कर्पियो उनको छनौटमा परेको रहेछ । भन्छन्, “यो किनेपछि मेचीदेखि महाकालीसम्म धेरै ठाँउ परिवार लिएर पुगिसकें कहिँ दु:ख पाइन । म र मेरा परिवार नै दङ्ग छन् यो गाडीको जोस देखेर ।” खरिद गरेको २ बर्ष यता यो गाडी चढेपछि तत्काल अरु ब्राण्ड नफेर्ने सोचमा रहेको केसीले बताए ।

त्यो बेला, यो बेला
केसीले गाडी चढ्न सुरु गर्दा पेट्रोल ४ रुपैयाँ लिटर थियो । भर्खर बनेको चक्रपथमा करिब करिब खाली हुन्थ्यो । निष्फिक्री सवारी साधन गुडाउन पाइन्थ्यो । गाडी गुडाउँदा जताततै हरियाली देखिन्थ्यो । त्यति सफा काठमाडौंमा अहिले गाडी गुडाउँदा बहुत सकस हुन्छ, केसीलाई । धुवाँधुलो र फोहोरले ग्रस्त उपत्यका देख्दा केसीलाई कहिलेकाहिं त गाडी नै नहाँकौं जस्तो झोंक चल्छ । “उतीबेला निश्चत सवारी गुड्ने यहाँका सडकमा अहिले होहल्ला मच्चाउँदै गुड्ने सवारीका भिड देख्दा साह्रै असहज लाग्छ,” उनी भन्छन् । सडकको यस्तो अराजक अवस्थालाई उनी सन्तान धेरै जन्माउने तर उचित पालनपोषण गर्न नसक्ने अभिभावकसँग तुलना गर्छन् । “त्यति शान्त सहर तीव्र गतिमा अस्थिर, अस्तब्यस्त र अक्रान्त सहरमा परिणत हुँदैछ,” उनी भन्छन् ।

अन्त्यमा
केसी सवारी साधनको सही प्रयोग र दुरुपयोगबाटै जीवनशैली सहज बन्ने बताउँछन् । वातावरण प्रदुषण हुने, दुर्घटना बढेर जिवनशैली बिग्रने भएकाले सवारीचालक, यात्रु र सरोकारवाला सबैलाई अनुशासित र मर्यादित सवारी प्रणाली अपनाउनुपर्ने उनको सुझाव छ । भन्छन्, “सवारी सिष्टम सुधार्न पहिले आफू सुध्रिनुपर्छ ।”