tvs-race

काठमाडौं – भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शो हिजो विशेष रौनक रह्यो । शनिबार भएकाले धेरै दर्शक उपस्थित थिए ।

त्यसमा पनि बेनेल्लीको स्टलमा भने विशेष आकर्षण रहेको थियो । अहिलेका चर्चित नायक अनमोल केसी बेनेल्लीको स्टलमा पुगेका थिए । उनलाई भेट्न र उनीसँग तस्बिर खिचाउनका लागि दर्शकहरुको निकै नै भीड थियो ।

अनमोल खासमा बेनेल्लीका ब्रान्ड एम्बेसडर पनि हुन् । उनले बेनेल्लीको लियोन्सिनो मोडलमार्फत बेनेल्लीको ब्रान्ड एम्बेसडर भएको आफै नै फेसबुक पेजबाट सार्वजनिक गरेका थिए ।

अनमोल खासमा बाइक चढ्नै रुचाउछन् । उनीसँग विभिन्न महंगा मोडलका बाइक छन् ।

नाडा अटो शोमा बेनेल्लीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनलले ३०२ एस, टीआरके २५१ र लियोन्सिनो २५१ नयाँ प्रस्तुतिको रुपमा सजाएको छ । ३०२ एस बाइकको मूल्य ८ लाख ५० हजार छ भने टीआरके २५१ र लियोन्सिनो २५१ को मूल्य ६ लाख ३० हजार रुपैयाँ भएको कम्पनी स्रोतको भनाइ छ ।

अटो शोमा बेनेल्लीको टीएनटी १५० आई बाइक पनि छ । यसको मूल्य ३ लाख १५ हजार रुपैयाँ छ ।