लकडाउन असर : अटोमोबाइल व्यापारमा ९० प्रतिशतसम्मले कमी, झन्डै ५० प्रतिशतले गुमाए रोजगारी

कोरोना महामारीका कारण अहिले देशका प्रायः सबै क्षेत्र प्रभावित बनेका छन् । लामो लकडाउनका कारण उद्योग, व्यापार र व्यवसाय बन्दाबन्दीको अवस्थामा रहेका कारण व्यवसायीले आम्दानीमात्र गुमाइरहेका छैनन्, त्यस्ता उद्योग र व्यवसायमा काम गर्ने कामदारहरुले समेत आफ्नो रोजीरोटी गुमाउनु परेको छ ।

अटोमोबाइल क्षेत्रको कुरा गर्नुपर्दा यो क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्न व्यवसायी तथा कामदारहरु नराम्रोसँग प्रभावित बनेका छन् । लकडाउन शुरु भएको केही समयसम्म ‘पर्ख र हेर’ को अबस्थामा रहेका अटो व्यवसायीले उक्त अवधि बढ्दै जाने देखेपछि कतिपयले आफ्नो व्यवसाय नै बन्द गर्नुपरेको छ भने अधिकांशले कर्मचारी कटौती गरेका छन् । केही समयअघि आईएमई अटोमोटिभ्स र डुसान ब्रान्डको हेभी इक्विपमेन्ट बिक्री गर्ने नेपालस्थित कम्पनीले आफ्ना सम्पूर्ण कर्मचारीलाई बेतलबी विदामा बस्न अर्थात सेवाबाट अवकाश लिन गरेको आग्रहबाट यो क्षेत्रसमेत नराम्रोसँग प्रभावित बनेको प्रमाणित हुन्छ ।

यी दुई कम्पनीले सार्वजनिक सूचना नै जारी गरेका कारण चर्चामा आएपनि भित्रभित्रै अन्य कम्पनीहरुले समेत कर्मचारी कटौती गरेको जानकारी अपुष्ट रुपमा आउने गरेका छन् । लकडाउन अवधिभर यो क्षेत्रमा कार्यरत करिव ५० प्रतिशत कर्मचारी प्रभावित बनेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

लकडाउन लम्बिदै जाने अनुमान गरेर शुरुशुरुमा धेरै कम्पनीले कर्मचारी कटौती गरेपनि हाल लकडाउन हटेपछि विस्तारै पहिले हटाइएका कर्मचारीलाई समेत बोलाएर काममा लगाउने गरेको पाइएको समेत उनले बताए । ‘अहिले लकडाउन हटेका कारण व्यवसायीमा केही आशा पलाएको छ । जसका कारण अप्ठ्यारो अवस्थामा सेवाबाट हटाइएका कर्मचारीलाई कतिपय कम्पनीहरुले सेवामा फर्कन आग्रह गरिरहेका छन् । यसले अब लकडाउन सधैका लागि हट्ने सुनिश्चित भएको खण्डमा यसअघि गुमेको रोजगारीसमेत फर्किने र यसले देशको अर्थतन्त्रमा टेवा पुग्ने छ’ उनले भने ।

व्यापार ९० प्रतिशत सम्मले कम
लकडाउनका कारण अटो क्षेत्रमा ९० प्रतिशतसम्मले व्यापार कम भएको अध्यक्ष दुलाल बताउँछन् । साउन र भदौ महिनाको सवारी आयतको तथ्यांकलाई आधार मान्दै उनले भने, ‘साउन महिनामा ५० प्रतिशत र भदौमा ९० प्रतिशत सम्मले सवारी आयात कम भएको छ । हाल लकडाउन हटाइएका कारण सवारीसाधन आयात बढ्न थालेपनि व्यवसायले सोचेअनुसार अझै गति लिन सकिरहेको छैन ।’ सवारीसाधनको मात्र होइन यसको मर्मत सम्भारमा लाग्ने स्पेयर पार्ट्स, टायर, लुब्रिकेन्ट्स र ब्याट्रीलगायत अन्य कम्पोनेन्टको आयातमा समेत कमी आएको उनले बताए ।

सवारीसाधन र स्पेयर पार्ट्सको आयातमा कमी आएका कारण यो क्षेत्रबाट संकलन हुने राजस्व समेत प्रभावित बनेको उनी बताउँछन् । भन्छन्, ‘भन्सार राजस्वमा यो क्षेत्रले सबैभन्दा बढी योगदान दिँदै आइरहेकोमा लकडाउन अवधिभर व्यापार प्रभावित बनेका कारण राजस्व संकलन समेत प्रभावित बनेको छ । यसले देशको अर्थतन्त्रमा समेत दीर्घकालीन असर पु¥याउने सहजै अनुमान लगाउन सकिन्छ ।’

हाल लकडाउन हटाइएका कारण यो क्षेत्रले विस्तारै गति लिन थालेको उनको बुझाई छ । अब फेरि लकडाउन गर्ने हो भने यहाँ रोगले भन्दा पनि भोकले मर्नेहरु बढी हुने र देशभित्र सञ्चालन भइरहेका अधिकांश उद्योग, व्यापार र व्यवसाय बन्द हुने भन्दै देशको अर्थतन्त्रलाई जोगाउने हो भने अब झुक्किएर पनि यसो गर्न नहुने उनको सुझाव छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...