मोबाइल जस्तो सजिलो छैन विद्युतीय सवारी किन्न : यी ८ कुरामा ध्यान दिनु आवश्यक

मोबाइल किन्नुजस्तो सजिलो हुँदैन सवारी साधन किन्न । अटोमोबाइल अन्तर्गत अझ विशेष गरी विद्युतीय गाडी खरिद गर्नु र आफूलाई उपयुक्त विद्युतीय गाडी खरिदका लागि छनोट गर्नु निकै कठिन विषय हो ।

विभिन्न उत्पादक कम्पनीका विभिन्न ब्रान्ड, फरक–फरक मोडल तथा साइज, माइलेज, ब्याट्री क्षमता, ग्राउन्ड क्लियरेन्स, सिटको क्षमता, सिटको गुणस्तर, एयरब्याग संख्या, गाडीको रङ्ग, वारेन्टी, सहज र दीर्घाकालीन सर्भिस आदि आधारभूत कुराहरूमा भिन्नता पाइन्छ । यी बाहेक मुख्य मुद्दा मूल्य हुन्छ भने अधिकतम व्यक्तिहरूलाई सानो क्षेत्रफलमा बनेको आफ्नो घरको पार्किङमा अट्ने, नअट्ने जस्ता कुराहरूले गाडी छनौटको निर्णय लिन निकै नै जटिल विषय बन्ने गर्छ ।

शोरूम प्रतिनिधि आफ्नो गाडीको विषयमा आफ्नो मायालुलाई सुनको तारा झार्छु भनेझै सर्वोकृष्ट नै हाम्रो गाडी हो भन्दै आफ्नो ब्रान्डको बारेमा विद्यार्थीले घोकेर राखेको पाठ झै खरर्र फिचरको बखान गर्छन् । ग्राहक कति कुरा बुझ्छन्, कति बुझ्दैनन् । अर्को वा अर्को शोरूम छिरे पनि सबैको गाडी कसैको भन्दा कम हुँदैन । किन्न खोज्ने ग्राहक अल्ल न मल्ल पर्छन् । अनि पछि सल्लाह गरेर भन्छु भन्दै वा केही न केही बहानामा शोरूमबाट बाहिरिन्छन् ।

मैले फलानो गाडी किनेर गल्ती गरे भन्ने चर्चा मैले कैयौ व्यक्तिहरूबाट खरिद गरेको केही दिन पछि मात्रै कैयौ पटक सुनेको छु । गाडी खरिद गर्न साधारण बजेटले पुग्दैन । हाम्रो देशमा अधिकतम व्यक्तिहरू धेरै मेहनत र परिश्रम तथा दुःख सुख गरेर बचत गरेको पैसा वा आफ्नो पेशा वा व्यवसायको ग्यारेन्टी राखेर गाडी खरिदको लागि बैंकबाट चर्को ब्याजमा ऋण लिएर गाडी खरिद गर्ने गर्छन् । एक त गाडीमा खर्च गरेको लगानी अनुत्पादक लगानी हो भन्ने मान्यता समेत छ भने खरिद गरेको गाडी आफूले सोचे अनुकूल भएन भने त्यो अत्यन्त दुखदायी खर्च ठहरिने पक्का नै हो ।

त्यसैले गाडी खरिद गर्दा ग्राहक आफै सचेत हुनु पर्छ । आफूले कस्तो गाडी लिनु पर्ने हो र कस्ता–कस्ता कुरामा ध्यान दिनु जरूरी हुन्छ भन्ने विषयमा राम्ररी बुझ्नु अत्यन्त लाभदायक हुन्छ । हाल विद्युतीय गाडीको चर्चा र महत्व बढेको हुँदा यस्ता गाडी खरिद गर्नुपूर्व कस्ता विषयमा बुझ्न जरूरी हुन्छ ? यस वारेमा तल उल्लेखित विषयलाई ध्यान दिनु महत्वपूर्ण हुन्छ ।

१. गुणस्तर
यो असामान्य विषय हो, जसलाई प्रायः जो कोही विद्युतीय गाडी खरिदकर्ताले अत्यधिक महत्व दिएको पाइदैन । सीमित व्यक्तिहरुले मात्र यसलाई बढी ध्यान दिएको पाइन्छ । प्रायः विद्युतीय विद्युतीय मूल्य र माइलेजमा केन्द्रित भएर खरिदमा चाख राखेको पाइन्छ । हामी निम्नस्तरको सामान्य सामान खरिद गर्दा पनि कुन देशमा बनेको हो भन्ने प्रश्न बिक्रेतासँग राख्छौ । यसको मतलव युरोप, जापान वा अमेरिकाको प्रख्यात ब्रान्ड हो भन्ने वित्तिकै हामी खुशी हुन्छौ र खरिद गर्न सहमत हुन्छौ । चाइना वा भारत भन्ने वित्तिकै हाम्रो आत्मा खरिदको लागि अलि कन्जुस्याई गर्छ । किन त ? विकसित देशमा उत्पादन हुने वस्तुको उत्पादन प्रकृयामा हुने गुणस्तर जाँचको प्रकृया वा मापदण्ड अत्यन्त महत्वपूर्ण र सुक्ष्म तरिकाले गरिएको हुन्छ जसले त्यस्ता उत्पादन संसारभरि महंगो भए तापनि लोकप्रिय हुन्छन् । त्यसैले विद्युतीय गाडी खरिद पूर्व विद्युतीय गाडी उत्पादनको अनुभव र संसारभर कत्तिको समयदेखि कति लोकप्रिय कम्पनी हो बुझ्नु एकदमै जरूरी हुन्छ । यसले तपाईले खरिद गर्न लागेको विद्युतीय गाडीको गुणस्तर र टिकाउपनको निर्धारण गर्छ । किनकी विद्युतीय गाडीमा विद्युतीय संयन्त्र जस्तो अत्यधिक उच्च भोल्टेजको ब्याट्री, मोटर आदि तपाईको सुविधा र सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने मेकानिजम रहेको हुन्छ । जुन अति नै महत्वपूर्ण र जरूरी विषय हो ।

२. सुरक्षा
विद्युतीय सवारी साधन खरिद गर्नुपूर्व उक्त गाडी प्रयोग गर्नु कति सुरक्षित छ त्यसको अधिकतम जानकारी लिनु अत्यन्त लाभदायक हुन्छ । आजकल विभिन्न सञ्चार माध्यमबाट विद्युतीय सवारी गुड्दा गुड्दै आगलागी भएको, ब्रेक नलाग्ने, गियरले काम नगर्ने वा ब्याट्री चाडै सकिने, बडीमा करेन्ट लाग्ने जस्ता घटना सुनिएको पाइन्छ । त्यसको प्रमुख कारण उत्पादन गर्ने कम्पनीको सुरक्षा, गुणस्तरको लापरवाही वा पर्याप्त विद्युतीय सवारी उत्पादन अनुभव तथा अयोग्य उत्पादन क्षमताको कारणले हुने गर्छ । जसको प्रत्यक्ष शिकार प्रयोगकर्ता भएका छन् । हाल आफै उत्पादन गर्ने भन्दा पनि विभिन्न पार्ट उत्पादन गर्ने कम्पनीसँग सामान खरिद गर्ने र एसेम्बल गरी विद्युतीय सवारी बिक्री तथा निर्यात गर्नेहरूसँग यस्ता समस्या अत्यधिक रहेको पाइन्छ । हाल नेपालमा भारत तथा चाइनाबाट यस्ता दुई, तिन र चारचक्के विभिन्न नामबाट एसेम्बल गरी पठाएका विद्युतीय सवारी आयात र बिक्री भएको पाइन्छ । नेपाल सरकारको विद्युतीय सवारी गुणस्तर जाँच तथा परीक्षण र प्रमाणीकरणको उच्चस्तरीय निकाय वा विज्ञताको अभावले प्रयोगकर्ता भ्रम र जोखिममा रहेका छन् । त्यसैले खरिदपूर्व प्रयोगकर्ताले खरिद गर्न लागेको गाडी कम्पनीले विद्युतीय गाडी आफै उत्पादन गर्छ वा गर्दैन तथा यस्ता गाडी उत्पादनमा कति लामो अनुभव तथा संसारभर संख्यात्मक हिसावले कति सफल बिक्री भैसकेको छ, सो को ग्यारेन्टी वा जानकारी खोज्नुहोस् ।

३. माइलेज
विद्युतीय सवारीको माइलेज प्रयोगकर्ताको लागि अत्यन्त महत्वपूर्ण विषय हो । खरिद गर्न लागेको विद्युतीय गाडीको सही माइलेज नेपालको सडक तथा ट्राफिक अवस्था अनुसार शोरूम प्रतिनिधिले भनेको भन्दा पक्कै कम हुने गर्छ । यद्यपि गाडी प्रयोगकर्ताको गाडी चलाउने स्वभाव र अन्य कुराहरूले पनि फरक पार्दछ । तर पनि खरिद गर्नुपूर्व विभिन्न सञ्चार माध्ययमका रिभ्युलाई अध्ययन गर्न जरूरी हुन्छ । तर यस्ता कैयौं रिभ्युरू उत्पादक वा एसेम्बल कम्पनीको प्रायोजनमा बनेका वा प्रशारण गरिएको हुन्छ । यस्ता कुराहरू बुझ्न जरूरी हुन्छ ।

४. फिचर
विद्युतीय गाडीअनुसार विभिन्न खाले झिलिमिली फिचर जडान गरिएको हुन्छ । जुन गाडीको ठूलो–सानो ब्याट्रीको विद्युतवाटै सञ्चालित हुन्छ । जस्तो ठूलो टचस्क्रिन रेडियो अडियो प्लेयर, सनरूफ, वायरलेस चार्जर, विशिष्ट साउन्ड (उफर) सिस्टम, मुनलाइट, ३६० डिग्री क्यामेरा आदि । जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कम वा बढी गाडीको ब्याट्रीको चार्ज खपत गर्ने गर्छ । सवारी प्रयोग गर्दा सुरक्षित र आरामदायी यात्राको लागि अत्यन्त जरूरी वाहेक अन्य फिचरहरू महत्वपूर्ण हुँदैनन् । यस अनुसार खरिदपूर्व आफ्नो महत्वाकांक्षा भन्दा आवश्यकतालाई ध्यान दिनु जरूरी हुन्छ ।

५. चार्जिङ लागत
विद्युतीय गाडीको ब्याट्री चार्ज गर्दा लाग्ने खर्च के कति लाग्ने हो ? विभिन्न ब्रान्ड अनुसार फरक–फरक हुन्छ । छिटो चार्ज गर्दा विद्युत खपत बढी हुने भएकोले बढी खर्च लाग्छ तथा ब्याट्री क्षमता चाँडो कम हुन्छ भने विस्तारै चार्ज गर्ने प्रविधिमा कम खर्च लाग्छ । विभिन्न कम्पनीहरूले धेरै स्थानमा छिटो चार्ज गर्ने सुविधा स्थापना गरेको भरमै ग्राहक लोभ्याउने गरेको पाइन्छ । तर यो प्रयोगकर्ताले नबुझ्दा भ्रममा परेको पाइन्छ । संसारभरका लोकप्रिय विद्युतीय गाडी उत्पादक कम्पनीले सकेसम्म फास्ट चार्जर प्रयोग नगर्न सुझाव दिन्छन् । किनकी गाडीको ब्याट्री बारम्बार फास्ट चार्ज गर्दा ब्याट्रीको लाइफ छिटो कम हुने र ब्याट्री बदल्नु निकै महँगो पर्ने हुन्छ ।

६. ब्याट्री तथा मोटर
ब्याट्री तथा मोटर विद्युतीय गाडीको महत्वपूर्ण अङ्ग हुन । नेपालमा ग्राहकहरू आफ्नो घरको पानि तान्ने मोटर बारम्बार विग्रिएको अनुभवलाई वा उनीहरूको ज्ञानको अभावलाई गलत उदाहरण दिदै शोरूम प्रतिनिधिहरूले विद्युतीय गाडी मोटरको वारेन्टी अवधिलाई सर्वोत्कृष्ट देखाएर लोभ्याउन प्रयास गर्छन् । ब्रसलेस मोटर प्रयोग हुने भएकोले विद्युतीय गाडीको मोटर खराब हुने सम्भावना अत्यन्त न्यून हुने हुदा उक्त मोटरको वारेन्टीलाई धेरै महत्व दिनु जरूरी हुँदैन । तर ब्याट्रीको क्षमता तथा वारेन्टी भने अत्यन्त महत्वपूर्ण हुन्छ । प्रायः सबैजसो उत्पादकले लिथियम आयोन ब्याट्री प्रयोग गर्ने भएकोले ६ देखि ८ बर्ष सम्मको वारेन्टी सबैले सहजै दिने गर्छन । ब्याट्रीको किलोवाट आवर तथा मोटरको क्षमता बढी हुँदा माइलेज पनि बढी हुने कुरा भने ध्यानमा राख्नु पर्छ ।

७. ग्राउन्ड क्लियरेन्स तथा टेष्ट ड्राइभ
नेपालको बाटोघाटोको अवस्था हेर्दा ग्राउन्ड क्लियरेन्स बढी भएको विद्युतीय सवारीको छनौट गर्नु राम्रो हुन्छ । शोरूम प्रतिनिधिले भनेको भरमा विश्वस्त हुनुभन्दा पनि पुरा लोड क्षमतामा टेष्ट ड्राइभ गरेर ग्राउन्ड क्लियरेन्सको अनुभव लिई खरिदको निर्णय गर्नु जरूरी हुन्छ । खाली गाडीमा ग्राउन्ड क्लियरेन्स बढी देखिए तापनि फूल लोडमा गाडीको कमसल सस्पेन्सनको कारण ग्राउन्ड क्लियरेन्स एकदमै न्यून हुने हुन्छ र सानो स्पिड ब्रेकरमा पनि तल ठोक्किने हुन्छ । सो को प्रत्यक्ष अनुभवको लागि खरिद पूर्व टेष्ट ड्राइभ अत्यन्त जरूरी हुन्छ । टेष्ट ड्राइभ सकेसम्म जरूरी सबै कुराहरूको अनुभव हुनेगरि कम्तीमा दश वा बढी किमी आफै ड्राइभ गर्नु जरूरी हुन्छ ।

८. सर्भिस तथा पार्ट्स
संसारभर लोकप्रियताको हिसावले सर्भिस तथा पार्ट्सको उपलब्धताको बारेमा वृहतरूपमा बुझ्न जरूरी हुन्छ । विद्युतीय सवारी मर्मत अत्यन्त संवेदनशील, सुरक्षित तरिकाले र विशेष तालिम प्राप्त प्राविधिकवाट मात्र सम्भव छ । जुनपायो त्यही वर्कशपले यसको सबै खाले मर्मत गर्न सक्दैन । गाडी निर्यात कम्पनीले नेपालमा बिक्री गर्ने कम्पनीको प्राविधिक प्रतिनिधिलाई प्रत्यक्ष र विशेष तालिम दिएका प्राविधिक छन वा छैनन् ? गाडी खरिद अगाडी ग्यारेण्टी गर्नु जरूरी हुन्छ । अन्यथा खरिद पछि सर्भिस नपाउदा पछुताउने बाहेक अन्य विकल्प नहुन सक्छ ।

अन्त्यमा, कुनैपनि कम्पनीको विद्युतीय सवारी खरिद गर्नु अगाडि सकेसम्म राम्रो अध्ययन गर्ने र तालिम प्राप्त प्राविधिकसँग सल्लाह गर्नु राम्रो हुन्छ । सहज र उपलब्ध भएसम्म आफन्त, साथिभाई वा सम्पर्कको व्यक्ति जसले उक्त कम्पनी विद्युतीय सवारी पहिले देखिनै प्रयोग गरिरहनु भएको छ, उहाँहरूको अनुभव बुझ्नु र सल्लाह लिनु लाभदायक हुन्छ ।

आजको समय मौद्रिक मितव्ययिताको हो र यसबाट वातावरणीय योगदानको लागि सहयोग समेत पुग्न सक्छ ।

विद्युतीय सवारी प्रयोग गर्नु अबको आवश्यकता भएकोले यहांँहरूलाई शुभकामना ।

केपी पोखरेल
सर्भिस हेड, निसान ड्याटसन सर्भिस सेन्टर

सम्बन्धित समाचारहरू

दुबईमा अर्काे वर्षदेखि नियमित रुपमा एयर ट्याक्सी सञ्चालनमा आउने

दुबईमा अर्काे वर्षदेखि नियमित रुपमा एयर ट्याक्सी सञ्चालनमा आउने

अमेरिकाको जोबी एभिएशन नामक कम्पनीले अर्काे वर्षदेखि दुबईमा नियमित रुपमा...

भारतमा भेटियो विद्युतीय सवारीको ब्याट्रीमा प्रयोग हुने लिथियम

भारतमा भेटियो विद्युतीय सवारीको ब्याट्रीमा प्रयोग हुने लिथियम

विद्युतीय सवारीमा प्रयोग गरिने ब्याट्रीका लागि आवश्यक लिथियमको विशाल...

इलेक्ट्रिक कारमा प्रयोग हुने एसी चार्जिङ र डीसी चार्जिङमा कुन राम्रो ?

इलेक्ट्रिक कारमा प्रयोग हुने एसी चार्जिङ र डीसी चार्जिङमा कुन राम्रो ?

कुनै पनि इलेक्ट्रिक कारमा ब्याट्री र चार्जिङ धेरै महत्वपूर्ण हुन्छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...