tvs-race

बुटवल अटो इन्जिनियरिङ एसोसिएसन स्थापना भएको २५ वर्ष पुग्यो । कोरोना भाइरसको महामारी हुने डरले गरिएको लकडाउन नभइदिएको भए यो वर्ष एसोसिएसनले आफ्नो रजत महोत्सव भव्य रुपमा मनाइरहेको हुन्थ्यो होला । तर त्यसरी प्रभावकारी रुपमा मनाउन नसकिएको एसोसिएसनका अध्यक्ष बाबुलाल पाण्डे बताउछन् ।

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको स्थापना २०५१ साउन १ गते भएको थियो । प्रत्येक वर्ष एसोसिएसनले विभिन्न कार्यका साथ साउन १ देखि ४ गते सम्म विविध कार्यक्रम गर्दै आएको छ । यद्यपि यो वर्ष पनि २ जना मृगौलापीडित विरामीलाई १५ हजार रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी लकडाउनको समयमा विभिन्न मजदुर र मेकानिक्सहरुलाई राहत वितरण गरेर सामान्य रुपमा वार्षिकोत्सव मनाइएको पाण्डेले बताए ।

अन्य समयमा रक्तदान र खेलकुद लगायतका विविध क्रियाकलाप हुने गरेकोमा यो वर्ष गर्न नसकिएको, यद्यपि सम्भव भएमा केही महिना पछि भए पनि भव्य रुपमा मनाउने योजना रहेको उनले बताए ।

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको सबैभन्दा महत्वपूर्ण र गर्व गर्न लायक कार्य भनेको बुटवलको अटो भिलेज हो । कुनै पनि सहरमा अटो भिलेज वा अटोल्यान्ड हुनुपर्छ भन्ने मान्यता सबै अटो मेकानिक्स व्यवसायीहरुको छ । यसले गर्दा अटो मेकानिक्स व्यवसायीहरुले एकै स्थानमा आफ्नो व्यवसाय संचालन गर्न पाउछन् र यसले सहरी सौन्दर्यलाई समेत कायम राख्न सहयोग गर्छ ।

बुटवल महानगरपालिकाको मैनाबगरमा अवस्थित अटो भिलेज २०५७ साल देखि संचालित छ । यहाँ सवारी साधन मर्मत गर्ने मेकानिक्सहरु एकै स्थानमा आफ्नो व्यवसाय संचालन गरेका छन् । यहाँ हाल करिव ८ सय व्यवसायीहरु दर्ता भएरै व्यवसाय संचालन गरिरहेका छन् । त्यसैगरी करिव दुई अढाई सय जति व्यवसायीहरु यो प्रक्रियामा छन् । यो क्षेत्रमा भएका केही गैर अटो व्यवसायीहरुलाई समेत कसरी समेटेर लैजाने भन्ने वारेमा छलफल चलिरहेको पाण्डे बताउछन् । यो क्षेत्रका लागि आवश्यक होटल, रेष्टुराँ आदि व्यवसायीलाई पनि समेटेर लैजानु पर्ने आवश्यकता छ ।

Motorhead

हाल अटो भिलेज भित्र पिच गर्ने कार्य द्रुत गतिमा भइरहेको छ । बुटवल महानगरपालिका र सहरी सहरी विकास कार्यालय आदिको सहयोगमा यहाँ विभिन्न विकास निर्माणका कार्य भइरहेका छन् । सडक मर्मत गर्नुका साथै हाल अटो भिलेज भित्र प्रहरी बिट समेत संचालनमा आएको छ । यसले गर्दा यो क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न समेत महत्वपूर्ण भूमिका खेलेको पाण्डेले बताए ।

गत वर्षको साउन अन्तिम साता सम्पन्न अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका पाण्डेको कार्यकाल तीन वर्ष निर्धारित छ । यो अवधिमा आफू र आफ्नो टिमले अटो भिलेजलाई सके सम्म प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको उनी बताउछन् । यसका लागि नगरपालिकासँग सम्झौता समेत सम्पन्न भइसकेको छ र त्यही सम्झौतालाई कार्यान्वयन गर्ने क्रममा रहेको उनले बताए ।