गाडीको फाइटर वाइपर, वर्षामा यसरी गरौं वाइपरको हेरचाह

बर्षायाममा गाडीको वाइपरले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । बर्षामा यात्रा गर्दा वाइपरको स्थिति ठीक हुनु जरुरी छ । यदि वाइपरले गाडीको स्क्रिन राम्ररी सफा गर्न सकेन भने गाडी दुर्घटना हुने सम्भावना पनि हुन्छ । वाइपर चलाउँदा सिसामा केही कोरिएको छ वा आवाज आउँछ भने वाइपर खराब भएको भन्ने सम्झिनुपर्छ ।

वाइपरको जाँच
वाइपरले बर्षायाममा ड्राइभर पट्टिको सिसा सफा राख्न अहम भुमिका खेलेको हुन्छ । बर्षामा वाइपर निरन्तर चलाइराख्नु पर्ने हुन्छ । बर्षामा गाडीको स्क्रिन सफा राख्न र ड्राइभिङमा केही समस्या नहोस् भन्नको लागि वाइपर समय समयमा चलाइराख्नु पर्ने हुन्छ । वाइपर विग्रेको खण्डमा वा केही समस्या आएमा वाइपर परिवर्तन गरिहाल्नु पर्छ ।

आधुनिक अवस्थामा गाडीको वाइपर सिस्टम पनि राम्रो तरिकाले बनाइएकोे हुन्छ जसलाई व्यवस्थित गर्न खासै आवश्यक पर्दैन । जति गाडी पुरानो हुँदै जान्छ गाडीको वाइपर समय समयमा जाँच गरिरहनु पर्छ ताकि वाइपरको सही स्थिति पत्ता लगाउन सकियोस् । वाइपर सिस्टमसँग सम्बन्धित पानीको कन्टेनर वा बोतलमा विन्ड स्क्रिन सफा गर्नको लागि आवश्यक मात्रामा पानी छ कि छैन जाँच गर्न सकिन्छ ।

कहिले परिवर्तन गर्ने ?
खराब मौसम, बढी तापक्रम वा धुलोको कारण वाइपर वारम्बार परिवर्तन गरिरहनु पर्ने स्थिति पैदा हुन सक्छ । खराब वा पुरानो वाइपरले विन्ड स्क्रिन सफा गर्न सक्दैन । बरु यसले विन्ड स्क्रिन खराब बनाउँछ । बजारमा अहिले धेरै ब्रान्डका वाइपर पाइन्छ । वाइपर खरिद गर्दा सावधानी अपनाउनु पर्ने हुन्छ । राम्रो ब्रान्डको वाइपर महँगो भए पनि यसले सफाइको काम राम्रो गर्छ र लामो समयसम्म टिक्छ पनि ।

वाइपर खरिद गर्दा वाइपरको रवरको लचकको पनि जाँच गर्नु पर्छ । राम्रो ब्रान्डको वाइपरको रवर नरम र लचिलो हुन्छ । राम्रो ब्रान्ड छ भने यसलाई पुरै मोड्दा पनि भाँचिदैन ।


अटोमेटिक वाइपर
समयको मागसँगै अहिले बजारमा सेन्सेटिभ वाइपर पनि उपलब्ध हुन थालेको छ । बर्षा शुरु हुने वित्तिकै यो वाइपर अटोमेटिक चल्न थाल्छ । धेरै जसो महँगो गाडीमा यस्तो अटोमेटिक वाइपरको प्रयोग गरिएको पाइन्छ भने सस्तो गाडीमा यसको प्रयोग कम मात्रामा हुन्छ । विन्ड स्क्रिनमा पानी पर्ने वित्तिकै यो वाइपर चल्न शुरु गरिहाल्छ । यसको लागि वाइपर सिस्टमलाई अटोमेटिक मोडमा राख्नु पर्छ । यस्तो वाइपरको स्पिड विन्ड स्क्रिनमा परेको पानी अनुसार घटबढ हुन्छ । अनावश्यक समयमा अटोमेटिक वाइपर चल्दैन । अफ गर्न भुलेमा साधारण वाइपर पानी नपरेको समयमा पनि अन नै हुन्छ । सुख्खा अवस्थामा पनि साधारण वाइपरले काम गरिरहेको हुन्छ । जसको कारण विन्ड स्क्रिनमा खराबी ल्याउँछ । तर अटोमेटिक वाइपर सुख्खामा कहिले पनि चल्दैन ।

वाइपरको प्रयोग
वाइपर प्रयोग गर्नु पूर्व विन्ड स्क्रिन भिजाउनु पर्छ । यसको लागि वाइपर घुमाउनु भन्दा पहिले पानीको स्प्रे गर्नु पर्छ । बर्षा भएमा पहिले विन्ड स्क्रिनलाई अलि भिज्न दिनु पर्छ । अनि मात्र वाइपर चलाउँदा राम्रो मानिन्छ ।

वाइपरको परिवर्तन
वाइपरको रबव कति दिन चल्छ भन्ने निश्चित हुँदैन । तर गर्मी र खराब मौसमको समयमा वाइपर चाँडै परिवर्तन गर्नु पर्छ । वाइपरको रबर कहिले परिवर्तन गर्ने भन्ने पत्ता लगाउन पनि सजिलो छ । जब वाइपरले विन्ड स्क्रिन पुरा सफा गर्दैन वा पानीको दाग देखिन्छ त्यो अवस्थामा वाइपर परिवर्तन गर्नु पर्छ भन्ने बुझ्नु पर्छ ।

विभिन्न जाँच
वाइपर वा त्यसको पानी रहेको कन्टेनर समेत पुरै वाइपर सिस्टमको जाँच र सर्भिसिङ समय समयमा गरिरहनु पर्छ । बोनटको तल वाइपर सिस्टमसँग सम्बन्धित वाटर कन्टेनर वा बोतल भर्ने समयमा यसको पनि जाँच गर्नु पर्छ । ग्लास क्लिनर वा लिक्विड क्लिनर एक दुई विर्काे मिलाएर विन्ड स्क्रिन सफा गरेमा सिसा स्क्र्याच हुनबाट जोगिन सक्छ । वाइपरले ठिकसँग काम गर्नको लागि यसको एंगल वा वाइपर ब्लेड्स पनि सही हुनु पर्छ । वाइपर ब्लेड्स विन्ड स्क्रिनमा राम्ररी एडजस्ट हुनु जरुरी छ जसले गर्दा एक कुनाबाट अर्काे कुनासम्म विन्ड स्क्रिनलाई पुरै टच गरोस् ।

राम्रो वाइपर
वाइपरको कुरा गर्दा बोस्क, सिन्डिकेट, हेल्ला र जर्मन एसडब्ल्युएस आदि ब्रान्डको नाम आउँछ । त्यस्तै अरु पनि राम्रा ब्रान्डका वाइपर बजारमा उपलब्ध छन् ।

बर्षाको समयमा यदि वाइपर चलाउनु हुन्न भने विन्ड स्क्रिनमा एन्टि स्क्र्याचिङ कोटिङ लगाउन पनि सकिन्छ ।

Subscribe Now