Check, click, shop
सवारी साधनको कर कहिले तिर्दा जरिवाना पर्दैन ?

काठमाडौं - हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा पाउनु आवश्यक छ । कतिपय मानिसहरु आफुसँग भएको सवारी साधनको कर कहिले तिर्नु पर्ने थाहा नभएकाले पनि हरेक बर्ष जरिवाना तिर्न वाध्य हुन्छन् ।

सवै सवारी साधनको ब्लुबुक (सवारीको विस्तृत विवरण) को सुरुको पेजमा सवारी दर्ता मिति लेखिएको हुन्छ । सोही मिति अनुसार नै हरेक बर्ष नवीकरण मिति कायम गरिन्छ । दर्ता मितिमा जुन महिना उल्लेख गरिएको हुन्छ, हरेक बर्षको त्यही महिनामा नवीकरण गर्नुपर्ने हुन्छ ।

ब्लुबुकमा पछिल्लो पेजमा सवारी नवीकरण मिति हुन्छ, जसमा जाँचेको मिति र म्याद पुग्ने मिति हुन्छ । मानिसहरुले कर तिर्दा म्याद पुगेको मितिको ९० दिन भित्र कर तिर्दा जरिवाना तिर्नु पर्दैन । तर त्यो मिति आर्थिक बर्षको चैत्रदेखि असार मसान्त सम्मको मितिलाइ मान्य हुने छैन ।

उदाहरणको लागि कुनै सवारी साधनको भाद्र महिनामा म्याद सकिन्छ भने त्यो सवारी साधनको कर मंसीर महिनासम्म तिर्न पाइन्छ । तर कसैको चैत्रमा म्याद सकिने मिति छ भने यो अवस्थामा ९० दिन थप पाइदैन । यदि कसैको बैशाख, जेष्ठ र असारमा म्याद सकिने मिति रहेको छ भने ९० दिन थप पाइने त कुरै छोडौ त्यो महिनासम्म पनि म्याद पाइदैन ।

बैशाख, जेष्ठ र असारमा म्याद सकिने सवारी साधनको चैत्र महिनामा नै कर तिर्नु पर्छ । नत्र नियम अनुसार जरिवाना लाग्नेछ ।

यदि ९० दिन कर तिर्न थप समय हुने सवारी साधनको ९० दिन काटेको ३० दिनसम्म पनि कर नतिरेमा सवारी करको १० प्रतिशत थप जरिवाना लाग्नेछ । ३० दिन कटेपछि ४५ दिनसम्म पनि नतिरे १५ प्रतिशत र ४५ दिन कटेपछि २० प्रतिशत जरिवाना लाग्ने छ । यदि त्यो आर्थिक बर्ष नै कटेमा ३२ प्रतिशत जरिवाना लाग्नेछ ।

बैशाख, जेष्ठ र असारमा म्याद सकिने सवारी साधनको कर पनि चैत्र सम्म नतिरि बैशाखमा तिरेमा सवारी करको १० प्रतिशत थप जरिवाना लाग्नेछ । ३० दिन कटेपछि ४५ दिनसम्म पनि नतिरे १५ प्रतिशत र ४५ दिन कटेपछि २० प्रतिशत जरिवाना लाग्ने छ । यदि त्यो आर्थिक बर्ष नै कटेमा ३२ प्रतिशत जरिवाना लाग्नेछ ।

कतिपय सवारी चालकहरुले कर कहिले सम्मको तिरेको हो पनि बुझेका हुदैनन् । ब्लुबुकको अन्तिम पेज (कैफियत) मा हेरेर मात्रै कुन कुन बर्षको तिर्नुपर्ने हो थाहा पाउन सकिन्छ ।

Subscribe Now