जेब्रा क्रसिङको खास अर्थ के हो ? कतिपय देशमा यसलाई टाइगर क्रसिङ र अन्य नाम पनि दिइएको सुनिन्छ, वास्तबिकता के हो ?

जेब्रा क्रसिङको सुरुवात सन् १९५१ मा बेलायतबाट भएको हो । हुनत पैदलयात्रु पार गराउनका लागि करीब २ सय बर्ष अघि नै विभिन्न उपाय अपनाउन शुरु गरिएको थियो ।

तिनै सिकाइका आधारमा सडक दुर्घटनालाई नियन्त्रण गर्न र पैदलयात्रुको अधिकार रक्षाका लागि जेब्रा क्रसिङको विकास भएको हो । कालो र सेतो धर्सा पोतिएकाले यसको नाम जेब्रा क्रसिङ राखिएको हो । हङकङमा भने कालो सडकमा पहेलो रंगको प्रयोग गरिन्छ, जसलाई टाइगर क्रसिङ भनिन्छ ।

जेब्रा क्रसिङमा पहिले निलो र पहेलो एवं रातो र सेतो रंगको पनि प्रयोग गरिएको थियो । तर स्पष्ट देखिनका लागि कालो सेतो रंग नै बढी प्रयोग गर्ने प्रचलन छ ।

पैदलयात्रीलाई सहज तरिकाबाट सडक काट्नका लागि बनाइएको मार्किङ नै जेब्रा क्रसिङ हो । जेब्रा क्रसिङमा पैदल यात्रीलाई प्राथमिकता दिइन्छ अर्थात पैदलयात्रीको प्रथम अधिकार हुन्छ ।

यदि जेब्रा क्रसिङमा कुनै पैदलयात्री उभिएको छ भने उसले सडक पार नगरुन्जेल गाडीलाई अगाडि बढ्ने अनुमति हुदैन । त्यसैले जेब्रा क्रसिङमा पैदलयात्रीको पुर्ण अधिकार हुन्छ ।

Subscribe Now