Check, click, shop
टेष्ट ड्राइभका लागि जाँदै हुनुहुन्छ ? ध्यान दिनुस् यी कुरा
नयाँ कार खरिद गर्ने चाहना राख्नेहरु कारको छनोट गर्नु भन्दा पहिले सधै टेष्ट ड्राइभ गर्छन् । यही कुरालाई मनन गरी कम्पनीहरुले पनि ग्राहकहरुलाई टेष्ट ड्राइभका लागि आमन्त्रण गरिरहेका हुन्छन् । टेष्ट ड्राइभबाट सो कार ड्राइभ गर्दा आफूलाई कति सहज लाग्छ र आफ्नो आवश्यकता पुरा गर्न सक्छ कि सक्दैन भन्ने कुरा थाहा पाउन सकिन्छ ।

एक सर्वेक्षणका अनुसार कार खरिद गर्ने समयमा केवल ३२ प्रतिशतलाई मात्र आफूलाई कस्तो कार आवश्यक छ भन्ने कुरा थाहा हुन्छ । ५५ प्रतिशत मानिसहरु त जुन कार टेष्ट ड्राइभ गर्छन्, त्यही नै किन्छन् ।

यद्यपि टेष्ट ड्राइभ गर्दा केही कुरामा मात्र ध्यान दिन सकेमा पनि सही नतिजामा पुग्न सकिन्छ । त्यसैले सही निर्णयमा पुग्नका लागि केही कुरामा ध्यान दिनु आवश्यक छ ।

ड्ड सबैभन्दा पहिले आफ्नो आवश्यकता र रुचिलाई ध्यान दिनका लागि उपयुक्त सबै कारको सूची बनाउनु पर्छ । त्यसपछि एक एक गरी सबै कारको टेष्ट ड्राइभ गर्नु राम्रो हुन्छ ।

  • सम्भव भए सम्म लामो टेष्ट ड्राइभमा जादा राम्रो हुन्छ । यसबाट कारमा धेरै लामो समय बिताउन सकिन्छ । सो समयमा पार्किङ, कम गतिमा ड्राइभिङ, सहरको ट्राफिकदेखि लिएर हाइवेमा पनि सो गाडीको टेष्ट गर्न सकिन्छ ।

  • अनुभवी साथी वा दक्ष मेकानिक्सलाई पनि साथै लैजान सकिन्छ । यसबाट आफूलाई थाहा नभएका सो गाडीका गुण तथा कमजोरी दुवै थाहा पाउन पनि सकिन्छ ।

  • टेष्ट ड्राइभकै समयमा कुनै दुर्घटना वा केही अन्य नराम्रो भएमा आफ्नो खल्तीको पैसा कति खर्च हुन सक्छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

  • टेष्ट ड्राइभमा जानु भन्दा पहिले कारको कुनै स्थानमा कोरिएको, नोक्सान भएको वा टायरमा कुनै खराबी भएको छ कि भनी ध्यान दिनु पर्छ । यदि कुनै नोक्सानी भएको रहेछ भने सेल्स पर्सनलाई यसका वारेमा जानकारी दिनुपर्छ ।

  • आफूले खरिद गर्न चाहेको कारको बडी, स्टाइल, इन्जिन, ट्रान्समिसन तथा अन्य स्पेसिफिकेसन्सको वारेमा पनि जानकारी लिनु पर्छ ।

  • ड्राइभ सुरु गर्नु भन्दा पहिले ड्राइभर सिट, स्टेयरिङ ह्विल तथा मिररलाई एड्जस्ट गर्नु पर्छ । अगाडि तथा पछाडि राम्रोसँग देखिन्छ भन्ने कुरामा सुनिश्चित हुनु पर्छ ।

  • सबै सिटमा बसेर कारमा पर्याप्त स्पेस र सिटिङ बन्दोवस्त छ कि छैन भनी जाँच्नु पर्छ ।

  • कारमा उपलब्ध सबै प्रविधिको प्रयोग गरी ढुक्क हुनु पर्छ । कारमा भएको स्याटेलाइट नेभिगेसन सिष्टमले सही ढंगले काम गरेको छ कि छैन ? कारमा भएको ब्लुटुथसँग आफ्नो फोन पेयर भएको छ कि छैन ? अडियो सिष्टमको काम कस्तो छ ? आदि सबै कुरा जाँच गर्नु पर्छ ।

  • कारको एसी अन गरेर यो कति असरदार छ भनेर जाँच्नु पर्छ ।

  • वाइपर, हेडलाइट, हाजार्ड लाइट आदिको मेन स्विच कहाँ कहाँ छ भनी थाहा पाउनु पर्छ ।

  • कम्फर्ट, स्पोर्ट आदि विभिन्न ड्राइभिङ मोडको पनि जाँच गर्नु पर्छ ।

  • कार चल्दा र ड्राइभिङ गर्दा यसको एक्सिलरेसन अर्थात गति लिने क्षमताको जाँच गर्नु पर्छ । यसबाट इन्जिनको क्षमता थाहा पाउन सकिन्छ ।

  • ब्रेकले कति राम्रो तरिकाले काम गरेको छ भनी हेर्नु पर्छ ।

  • रिभर्स तथा प्यारालल पार्किङ गरेर हेर्नु पर्छ । यसबाट कारलाई नियन्त्रण गर्न कति सहज छ र रिभर्स पार्किङको समयमा सेन्सर तथा क्यामेराले कति काम गर्छन् भनी थाहा पाउन सकिन्छ । पार्किङको समयमा कति स्थान लिदो रहेछ र आफ्नो घरको पार्किङको लागि उपयुक्त छ कि छैन भन्ने कुरा थाहा पाउन सकिन्छ ।

  • ट्राफिकरहित सडकमा कारलाई मोडेर यसको टर्निङ सर्कल अर्थात कार मोडिने क्षमता कति रहेछ भन्ने कुरा पनि जाँच्नु पर्छ ।

  • एसी तथा अडियो बन्द गरेर कारको टायर, हावा तथा इन्जिनको आवाज अलग अलग प्रकारको सडकमा सुन्ने कोशिश गर्नु पर्छ ।

  • साना बच्चा छन् भने उनीहरुका लागि आवश्यक चाइल्ड सेफ्टी तथा सिट लगायतका विभिन्न सुविधा छन् कि छैनन् भन्ने कुरामा ध्यान दिनु पर्छ ।

  • कारको डिक्कीमा कति सामान अट्छ ? आफू कतै जादा सामान राख्नका लागि पर्याप्त छ कि छैन भन्ने कुरामा ध्यान दिनु पर्छ ।

  • कारको सेफ्टी फिचर्सको वारेमा पनि ध्यान दिनुपर्छ । कति एयरब्याग छ ? एक्टिभ सेफ्टी इलेक्ट्रोनिक्स तथा एड्जस्टेबल सिट बेल्ट आदिको वारेमा जाँच गर्नु पर्छ ।

  • सन भाइजर, ग्लोब बक्स, सिट आदिदेखि लिएर कारको सबै बडीको गुणस्तर तथा मजबुतीको वारेमा पनि ध्यान दिनु पर्छ ।

  • आफ्नो सूचीमा रहेका सबै कारको टेष्ट ड्राइभ गरिसके पछि सबैलाई आपसमा तुलना गरेर त्यसका आधारमा कुनै नतिजामा पुगेर आफूलाई मन लागेको कार खरिद गर्न सकिन्छ ।

  • अन्तिम तर महत्वपूर्ण तथ्य : टेष्ट ड्राइभ गर्ने दिनमै कार खरिद नगरौ, किनकी नयाँ कारको सुगन्धबाट नै मानिसको मन बहकिन्छ ।

Subscribe Now