Check, click, shop
तपाई कार चालक : यी चिजहरु सधै साथमा राख्नुहोस्

लामो दुरीको यात्रा गर्दा कहिलेकाही अप्रत्याशित रुपमा समस्याहरुसँग जुझ्नु पर्ने हुन्छ । कार चलाएको बेलामा सुरक्षित रहनको लागि केही विशेष कुरामा ध्यान दिनु अत्यन्त जरुरी हुन्छ । यसमध्येमा ड्राइभिङ तथा ट्राफिक नियमको पालना सबैभन्दा महत्वपूर्ण पक्ष हो । साधारणतया आपतकालिन परिस्थितिको सामना गर्नको लागि कारमा पहिले नै महत्वपूर्ण चिजहरु जस्तै कागजात, स्पेयर पार्ट्स, टूल किट आदिको साथसाथै अन्य केही सामानहरु पनि साथमा राख्नु पर्ने हुन्छ । यसको मदतले कुनै पनि आपतकालिन स्थितिमा सुरक्षित रहन तथा यात्रा आरामदायक बनाउन सकिन्छ ।

फ्ल्यासलाइट तथा टर्च
हाल लगभग सबै मानिसहरुसँग मोबाइल फोन हुन्छ र त्यसमा फ्ल्यासलाइट हुन्छ । तर, सबै परिस्थितिमा मोबाइलको टर्चको प्रयोग गर्न सकिदैन । यस स्थितिमा हमेशा साथमा टर्च लाइट हुनु जरुरी हुन्छ । कुनै कारणले अँध्यारोमा कारको टायर परिवर्तन गर्नु परेमा वा बाहिर कुनै चिजको खोज गर्न जानु परेको खण्डमा यस्ता टर्च निकै आवश्यक पर्न जान्छ । त्यसैले कारमा सधै टर्च साथमा राख्नुहोला ।

सोलार चार्जर
लामो दुरीको यात्राका समयमा या कुनै अनजान ठाउँमा यात्रा गर्दा मोबाइलको प्रयोग बढी हुने र ब्याट्री चाँडै सकिने डर हुन्छ । किनकि अनजान ठाउँको यात्रा गर्दा जीपीएसको प्रयोग बढी हुने गर्छ साथै ठाउँ पत्ता लगाउनको लागि फोनको प्रयोग बढी हुने गर्छ । यस्तो परिस्थितिमा आफ्नो मोबाइल चार्ज गर्नको लागि कारमा सोलार चार्जर हुनु जरुरी हुन्छ ।

रिफ्लेक्टिब ट्रायंगल्स
यदि रातको समयमा कार रिपेयर गर्नु परेमा रिफ्लेक्टिब ट्रायंगल्स निकै महत्वपूर्ण हुन्छ । अँध्यारोको समय कारको मर्मत गर्नु परेमा रिफ्लेक्टिब ट्रायंगल्स कारको अगाडि र पछाडि राख्न सकिन्छ । यसको प्रयोगले सडकमा आउने अन्य साधनहरुलाई सतर्कता अपनाउन मदत गर्छ । त्यसैले कारमा रिफ्लेक्टिब ट्रायंगल्स हुनु महत्वपूर्ण मानिन्छ ।

थैली
यात्राका क्रममा कही कतै फलफुल वा केही किन्नु परेमा थैलीको आवश्यकता पर्न सक्छ । प्लाष्टिकको प्रयोगले वातावरणमा असर पारिरहेको हुन्छ । कहि त प्लाष्टिकको प्रयोग गर्न समेत मनाही गरेको पाइन्छ । यस्तो परिस्थितिमा थैली साथमा हुनु निकै आवश्यक पर्छ ।

टिश्यु पेपर
यदि कहिले कारमा केही खान मन लागेमा टिश्यु पेपर राम्रो साधन हुन आउँछ । कारमा खाना पोखिने डर हुन्छ । कारमा पोखेको खाना पुछ्न वा हात सफा राख्नको लागि टिश्यु पेपर राम्रो साधन हुन्छ । टिश्यु पेपर बाहेक नेपकिनको प्रयोग पनि गर्न सकिन्छ ।

सानो डस्टबिन
कारमा विस्कुट, चाउचाउ वा अन्य केही चिज खाँदा त्यसको खोल बाहिर फ्याक्नु भन्दा आफ्नै कारको डस्टबिनमा फ्याक्नु राम्रो हुन्छ । जथाभावी कारभन्दा बाहिर फक्दा फोहोर हुने र कार भित्र पनि फोहोर हुने हुन्छ । प्रयोग गरेका टिश्यु पेपर वा अन्य खोलहरु कारकै डस्टबिनमा फ्याक्दा कार पनि सफा देखिन्छ ।

 

Subscribe Now