Check, click, shop
नारायणगढ–मुग्लिन सडकको लागत तीन अर्ब २० करोड २२ लाख
चितवन - नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्य बढेको छ । लागत मूल्य बढेसँगै लागत रु तीन अर्ब २० करोड २२ लाख २० हजार ३९१ पुगेको छ । निर्माण सम्पन्न हुनै लाग्दा केही कामसमेत थपिएकाले लागत मूल्य रु ३१ करोड ५२ लाख छ हजार १८१ ले  बढेको छ ।शुरुमा रु दुई अर्ब ८८ करोड ७० लाख १४ हजार २१० मा ठेक्का दिइएको थियो ।

 

तीन भागमा विभाजन गरेर ठेक्का दिइएको उक्त सडकखण्डको पहिलो खण्डको करीब  रु ६० करोड ६१ लाखबाट बढेर करीब रु ६८ करोड ९७ लाख पुगेको छ । खण्ड खमा करीब रु ९७ करोड ६७ लाखबाट वृद्धि भएर करीब रु एक अर्ब १० करोड र खण्ड गमा सबैभन्दा बढी करीब रु एक अर्ब ३० करोडबाट बढेर करीब रु एक अर्ब ४१ करोड पुगेको छ ।

 

लागत मूल्य बढेसँगै प्रगति प्रतिशत भने घटेको छ । हालसम्म सडकको ८० प्रतिशत मात्रै काम सम्पन्न भएको देखिन्छ । यसअघिको कूल लागत मूल्यका आधारमा ९० प्रतिशत काम भए पनि लागत मूल्य बढेपछि प्रगति प्रतिशत घटेको हो । सो सडकको नारायणगढबाट १६ किमीसम्म ११ मिटर फराकिलो कालोपत्रे गरिँदैछ भने त्यसउता नौ मिटर फराकिलो हुँदैछ ।

 

विसं २०७२ वैशाखतिर २४ महिनामा सक्ने गरी सो सडक ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । हालसम्म पहिलो खण्ड ७९.७५ , दोस्रो खण्ड ९१.०० र तेस्रो खण्ड ७७.८ प्रतिशत काम सम्पन्न भएको छ । तेत्तीस दशमलव २ किमीको उक्त सडकखण्डको हालसम्म ३० किमी कालोपत्रे भइसकेको छ । 

Subscribe Now