ट्याक्सी स्क्र्याप कार्य रोकियो, फेरि स्ट्यान्डर्ड तोकिने विभागको भनाइ

काठमाडौं – लामो समय चलेका ट्याक्सीलाई स्क्र्याप गरी नयाँ ट्याक्सी दर्ता गर्ने कार्यलाई यातायात व्यवस्था विभागले अचानक रोकेको छ ।

यो भन्दा पहिले ‘२० वर्ष अवधि नपुगे पनि कुनै दैवी प्रकोप वा दुर्घटनाका कारण वा वारेन्टीको अवधि भित्र सञ्चालन गर्न अयोग्य देखिएका वा अञ्चलीकरण गरी गएका वा नम्बर परिवर्तन गरी निजी नम्बरमा गएका वा १५ वर्षको अवधि पुगी स्वेच्छिक रुपले पत्रु गरी नयाँ ट्याक्सी दर्ता गर्न माग गरेको अवस्थामा पनि सोही नम्बरमा साधारण ट्याक्सी दर्ता गर्ने सुविधा दिने’ व्यवस्था थियो । यही अनुसार पुराना ट्याक्सीहरुले नयाँ ट्याक्सीमा पहिलेकै नम्बर राखी व्यवसायीहरुले चलाउदै आएका थिए ।

तर हाल अचानक यो व्यवस्था रोकिदा ट्याक्सी व्यवसायीहरु मारमा परेका छन् । चाडपर्वको समयमा अचानक सो कार्य रोकिदा उनीहरुको नयाँ ट्याक्सी लिने सपनामा तुषारापात भएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले सरकारले ट्याक्सीको नयाँ स्ट्यान्डर्ड तोक्न लागेकोले मन्त्रालयको निर्देशन अनुसार सो कार्य रोकेको बताए । हाल बजारमा उपलब्ध ट्याक्सीको स्ट्यान्डर्ड तोक्ने योजना अनुरुप सो कार्य गरिएको उनको भनाइ छ । यद्यपि सो कार्य केही दिनका लागि मात्र रोकिएको र फेरि खुल्ने उनले बताए ।

यद्यपि सरकारले पहिले २०७२ मै साधारण, डिलक्स र सुपर डिलक्स गरी तीन वर्ग र क्षमतामा ट्याक्सी वर्गिकरण गरिसकेको थियो ।

 

Subscribe Now