Total
Tata tigro
नेपालअटो– तपाईको नाम ?
चालक– कुमार तामाङ
नेपालअटो– घर कता प¥यो ?
चालक– नजिकै हो सर, धादिङ
नेपालअटो– अनि, होटल–सोटल, पसल नगरेर किन यता आएको ?
चालक– सबै होटल गर्ने, कम्पुडिसन (कम्पिटिशन) छ । चलाउनै गाह्रो हुन्छ ।
नेपालअटो– खेतीपाती नि ? खेतीपाती गर्दा हुन्न र ?
चालक– जग्गा थोरै छ । खेती गरेर खानै पुग्दैन ।
नेपालअटो– घरमा को को हुनुहुन्छ ?
चालक– बुढी आमा मात्र । बुबा त सानैमा वितेको । भाईहरु अलग भैसके । आमालाई मैले पालिरहेको छु ।
नेपालअटो– यहाँ कहाँ बसाइ छ ?
चालक– बानेश्वरमा बस्छौं, बुढी र दुई बच्चा छन् । बच्चाहरुलाई स्कुल हालेको छु । फि तिर्नै गाह्रो छ ।
नेपालअटो– कोठा भाडा कति नि ?
चालक– महंगो छ सर, कमाएर तिर्नै नसक्ने, एउटाको पाँच हजार । दुई वटा कोठा लिएको छु ।
नेपालअटो– ट्याक्सी चलाउन थालेको कति भयो ?
चालक– पुग्यो नि १३ बर्ष । बिचमा ५ बर्ष चाहि छाडें, कतार गइयो नि त ।
...............................
अनौपचारिक संवाद अचानक भेटिएका एक ट्याक्सी चालकसँगको हो । उनी बानेश्वरमा यात्रु पर्खेर दिन कटाइरहेका थिए । दिनभर बस्नुपर्दा पट्यार लागेको हुँदो हो । उनी सिटलाई थोरै ढल्काएर सुस्ताइरहेका थिए ।

हामीले उनलाई बालुवाटारसम्म जाने हो भनेर सोधेपछि हतार हतार उठेर हाम्रो स्वागत गरेका थिए । तर उनी यात्रु पाउँदा जति उत्साहका साथ आफ्नो सिटबाट उठेका थिए, मिटरमा जाने कुरा गरेपछि आनाकानी गर्न थाले । हामीले उनलाई कडा स्वरमा भन्यौ, ‘मिटरमा नजाने भए पुलिस बोलाऔं ?’

उनी बोलेनन् । तर ट्याक्सी लाने कुरा पनि गरेनन् । त्यतिबेलासम्म हामी उनको ट्याक्सीको पछिल्लो सिटमा बसिसकेका थियौं । उनले अल्छी मान्दै अध्यारो अनुहार लगाएर ट्याक्सी अनामनगरतिर मोडेका थिए । त्यसपछि कहिले सुस्त त कहिले तीव्र गतिमा ट्याक्सीलाई अगाडि बढाएका थिए ।

किन, मिटरमा जान नमानेको ? भन्दै हामीले उनको सातो लियौं । केही छिन त उनी बोलेनन् । केही समयपछि भने आफ्नो दुख पोख्न थाले ।

घरखर्च टार्नै गाह्रो

उनले सानो स्वरमा भने–‘सबैले मिटरमा हिँड, मिटरमा हिँड भन्छ । मिटरमा नहिँड्दा ठगेजस्तै हुन्छ । तर मिटरमा हिँड्दा फाइदा हुँदैन । अहिले तेलको भाउ बढेको छ । मिटर पुरानै रेट अनुसार मिलाएको छ । फेरि तपाईहरु यहाँबाट बालुवाटार जानुहुन्छ, मिटरमा त्यहीसम्मको पैसा उठ्छ । त्यहाँबाट फर्केर आउने खर्च मैले नै व्यहोर्नुपर्छ । भनेको बेला सधै मान्छे कहाँ पाउँछ र ? मान्छे पाएपनि सबै ठाउँमा पार्किङ हुँदैन ।’

उनले भन्ने कुरा सबै ट्याक्सी चालकले भन्ने नै गर्छन् । मिटरमा गएपछि फर्केर आउदा आफ्नो खर्च लाग्छ भनेर । उनको कुरालाई नपत्याउने हामीसँग आधार थिएन । पत्याउने हो भने उनी मारमा परेको भान हुन्थ्यो । उनले भनेजस्तै यात्रुलाई गन्तव्यमा छाडिसकेपछि फर्केर साविककै स्थानमा आइपुग्न वा नजिकको ट्याक्सी स्ट्यान्ड अथवा पार्किङमा आइपुग्नका लागि उनले गाडी चलाउनुपर्छ ।

गाडी चलाएपछि इन्धन खपत हुन्छ । त्यो इन्धनको पैसा उनकै खल्तीबाट जाने हो । यसमा दुई वटा कुरा हुनसक्थ्यो । पहिलो त यातायात व्यवस्था विभागले मिटरको व्यवस्था वैज्ञानिक ढंगले गरेको छैन । वा त ट्याक्सी चालकले यसरी नै बनावटी कुरा गरेर यात्रु ठग्ने गर्छन् ।

हामीले त्यसमा छानविन गर्ने कुरा थिएन ।

यदि उनले भनेजस्तै गन्तव्यसम्म पुग्नका लागि मात्र यात्रुवाट भाडा असुलिन्छ भने त्यो पैसा उनलाई पुग्दो हुन्छ होला त ? यस्तै कुरा बुझ्नका लागि हामीले उनीसँग वार्ता जारी राख्यौं ।

नेपालअटो– ट्याक्सी आफ्नै हो ?
चालक– कहाँ हुनु, ट्याक्सी किन्न कम गाह्रो छ ।
नेपालअटो– कति बुझाउनुपर्छ भाडा ?
चालक– हेरीहेरी हुन्छ । कसैले हजार बुझाउँछन् । कसैले बाह्र सय । कसैले पन्ध्र सय ।
नेपालअटो– दिनकै ?
चालक– हजुर, दिनकै । महिनाको म ४५ हजार बुझाउँछु ।
नेपालअटो– आज कति कमाइ भो त ?
चालक– अहिलेसम्म १८ सय । अब रात पर्न थालिसक्यो । मान्छे पाइदैन होला । घाटा लाग्यो आज ।
नेपालअटो– कसरी घाटा, १५ सय साहुलाई बुझाएर पनि तीन सय त जोगिन्छ नि ।
चालक– तेल हाल्नु परेन भोलिको लागि ?
नेपालअटो– साहुलाई आज कमाई भएन भन्दा हुन्न ?
चालक– कहाँ हुन्छ, उसको पनि केही बच्ने होइन, फाइनान्स तिर्नुपर्छ । महिनाको २८ हजार । टायर फे¥यो, मोबिल हाल्यो, सर्भिसिङ ग¥यो, यताउता गर्दा उसको पनि हातमा पैसा बच्दैन ।
नेपालअटो– कहाँ त्यस्तो हुन्छ ? पैसा नबच्ने भए ट्याक्सी किन किन्थ्यो ?
चालक– हो भन्या । उसको पनि ६ बर्षपछि ट्याक्सी आफ्नो हुने हो भन्ने मात्र हो । नभए त कमाएको सबै यसैको फाइनान्स र मर्मतमा खर्च हुन्छ ।
नेपालअटो– भनेपछि दिनमा तपाईले कति कमाउनुपर्छ, कति कमाउदा नाफा हुन्छ ?्
चालक– कम्तीमा पनि तीन हजार त कमाउनुपर्छ ।
नेपालअटो– दिनको पन्ध्र सय नाफा ?
चालक– ६, ७ सय त तेल हाल्नु प¥यो नि । त्यो पनि लामो ट्रिप पाइयो भने बच्ने हो । कहिले नगरकोट जान पाइन्छ कहिले चोभार जान पाइन्छ । यहाँ भित्रैमात्र कुद्दा ट्रिपको चार वा पाँच सय गर्दै कमाई हुने हो । त्यसमा पनि प्यासेन्जर ठग हुन्छन् । साहै्र दलाली पनि गर्छन् । ट्याक्सी ड्राइभरलाई मान्छे नै होइन भनेजस्तै गरेर बोलीबचन गर्छन् । ट्राफिकले पनि कहिल्यै राम्रो शब्दले बोलाउदैन । हामीलाई सबैले ठग भन्छन् । कति त ठग पनि होलान् । तर सबै एउटै हुँदैन नि । हाम्रा पनि बालबच्चा पाल्नुपर्ने हुन्छ । आमाबुबा पाल्नुपर्ने हुन्छ । घरखर्च कसरी टार्ने भन्ने हुन्छ । तर सबैले ठग भन्दा चित्त दुख्छ ।

.....................................

काठमाडौंका ट्याक्सी चालक मिटरमा हिँड्न आनाकानी गर्छन् । ट्याक्सी भनेको मोलमोलाई गरेर नभई मिटरमै हिँड्नका लागि व्यवस्था गरिएको हो । निश्चित दुरी पार गर्दा लाग्ने खर्च मिटरले निर्धारण गर्छ । तर उनीहरु मिटर राखेर पनि कतै जान परेमा भाडा मोलमोलाइ गर्छन् । सरकारले यसमा कडाइका साथ मिटरमै कुद्ने व्यवस्था गरेको छ । धेरैजसो यात्रु ट्याक्सीमा ठगिने गरेका छन् । ट्याक्सी चालक भने आफुले ठगेको नभई वाध्यतावस मोलमोलाई गर्नुपरेको बताउछन् ।

Subscribe Now