सिद्धार्थ यातायातले भाडा नबढाउने, बेखर्ची यात्रुलाई निशुल्क सेवा

काठमाडौं - सरकारले वढाएको १० प्रतिशत भाडा सिद्धार्थ यातायात प्रालि रुपन्देहीले नबढाउने भएको छ । सिद्धार्थ यातायात प्रालि रुपन्देहीका अध्यक्ष सूर्य कुमार सारु मगरले चाड पर्वअगाडि भाढा वृद्धि नगर्ने निर्णय गरेको वताएका छन् ।

प्रालिको सञ्चालक समितिको बैठकले चाड पर्वअगाडि भाडा नबढाउने निर्णय गरेको हो । सिद्धार्थ यातायातले दशैँको मुखमा सरकारले बढाएको दश प्रतिशत भाडा लागू नगर्ने जनाएको छ । चाडपर्वको मौकामा उपभोक्तालाई मारमा पार्न नहुने भन्दै प्रालिले दशैँको बेलामा सवारी भाडा यथावत राख्ने निर्णय गरेको हो ।

सिद्धार्थ यातायातको उद्देश्य नाफा कमाउने मात्र नभएर स्तरीय सेवा उपलब्ध गराउने भएकाले तत्काललाई भाडा नबढाउने निर्णय गरेको जनाएको छ । हरेक वर्ष दशैँ तिहारमा भारतबाट आउने नेपाली सीमा नाकामा लुटिने घटनालाई मध्ये नजर गर्दै लुटिएर बेखर्ची भएका यात्रुलाई निशुल्क पु¥याउने व्यवस्था मिलाउने समेत सिद्धार्थ यातायातले निर्णय गरेको छ ।

सिद्धार्थ यातायात प्रालिले भैरहवा-बुटवल, भैरहवा-तौलिहवा र लुम्बिनी-सौराहमा बसहरु सञ्चालन गर्दै आएको छ । यि बस सेवालाई यात्रुमैत्री बनाउने र सहज यात्रा गराउने लक्ष्यका साथ प्रालि अगाडि बढेको छ । यि बसहरुमा सुरक्षित यात्राका लागि कर्मचारीलाई ट्राफिक नियम बारेमा जानकारी दिँदै आइरहेको छ । साथै बसमा यात्रुलाई गर्ने सम्मान र सत्कारका बारेमा समेत चालक र सहचालकलाई तालिम दिएको छ ।

Subscribe Now