यी हुन् भारतका सर्बाधिक सुरक्षित ५ कार, जो नेपालमा पनि उपलब्ध छन्

कार सेफ्टी अर्थात कार कति सुरक्षित भनेर ग्लोबल एनक्यापले सन् २०१४ देखि भारतमा अभियान चलाएर सबैको ध्यान खिचेको छ । हाल सम्म कम्पनीले भारतमा बिक्री गरिने २५ मोडलको परीक्षण गरिसकेको छ । पछिल्लो समयमा ग्लोबल एनक्यापले मारुती सुजुकी भिटारा ब्रेजा र रेनो लजीको परीक्षण गरेको छ । भिटारा ब्रेजाले फोर स्टार पाएर राम्रो पर्फमेन्सयुक्त कारको मान्यता पाएको छ भने रेनो लजीले जिरो स्टार पाएर सुरक्षामा कमजोर ठहरिएको छ ।


हाल सम्म यसरी परीक्षण गरिएका मध्ये सुरक्षित ठानिएका ५ कार कुन हुन् त ? यस अनुसार पहिलो देखि पाँचौ नम्बरसम्म क्रमशः टाटा नेक्सन, टोयोटा इटिओस लिभा, टाटा जेस्ट, मारुती सुजुकी भिटारा ब्रेजा र फक्सवागन पोलो छन् ।


१. टाटा नेक्सन
टाटको कम्प्याक्ट एसयूभी नेक्सनले फोर स्टार रेटिङ पाएको छ । एडल्ट अकुपेन्सीमा यसले १३.५६/१७ र चाइल्ड अकुपेन्सीमा २५/४९ अंक पाएको थियो । एनक्यापले नेक्सनको बडी सेल इन्टेग्रिटीलाई ‘स्टेबल’ भनेको थियो । ड्राइभर र प्यासेन्जरको हेड र नेकका लागि यो सुरक्षित छ । नेक्सनका सबै भेरिएन्ट दुई एयरब्याग, एबीएस र आइसोफिक्स चाइल्ड सिट माउन्ट स्ट्यान्डर्डको रुपमा उपलब्ध छन् ।

२. टोयोटा इटिओस लिभा
क्र्यास टेष्ट गरिएका धेरै मोडल मध्ये प्रारम्भमा फोर स्टार रेटिङ प्राप्त गर्ने टोयोटाको इटिओस लिभा एक हो । सन् २०१६ मा गरिएको परीक्षणमा यसलाई एडल्ट अकुपेन्सीका लागि १३/१६ सहित फोर स्टार र चाइल्ड अकुपेन्सीका लागि २०.०२/४९ सहित टु स्टार प्रदान गरिएको थियो । यसमा पछि ईबीडी सहितको एबीएस र आइसोफिक्स चाइल्ड सिट माउन्ट लगायतका सेफ्टी किट समेत राखिएको छ । परीक्षण गरिएका मोडल मध्ये ड्युअल फ्रन्ट एयरब्याग र प्रिटेन्सर सहितको सिट बेल्ट भएको यो एक मात्र कार हो ।

३. टाटा जेस्ट
पहिलो पटक परीक्षण गर्दा टाटा जेस्टले जिरो रेटिङ पाएको थियो । यद्यपि टाटाले यसलाई फेरि परीक्षण गर्ने मौका पायो र अपग्रेडेड कम्प्याक्ट सेडान जेस्टलाई फेरि २०१६ मा परीक्षण गरियो । त्यसपछि सो मोडलले एडल्ट अकुपेन्सीमा ११.१५/१७ सहित फोर स्टार र चाइल्ड अकुपेन्सीमा १५.५२/४९ सहितको टु स्टार रेटिङ पायो । यसमा पहिले दुई एयरब्याग र ड्राइभरका लागि सिट बेल्ट रिमाइन्डर थियो । पछि यसमा एबीएस, ईबीडी र कर्नर स्ट्याबिलिटी कन्ट्रोल जस्ता फिचर समेत थप गरिएको छ ।

४. मारुती सुजुकी भिटारा ब्रेजा

ड्युअल एयरब्याग, एबीएस र स्ट्यान्डर्डको रुपमा आइसोफिक्स एंकरेज भएको भिटारा ब्रेजालाई एडल्ट अकुपेन्टको लागि फोर स्टार तथा चाइल्ड अकुपेन्ट प्रोटेक्सनका लागि टु स्टार प्रदान गरिएको हो । ड्राइभर र प्यासेन्जरको टाउको तथा घाँटीका लागि आवश्यक सुरक्षात्मक संयन्त्र राम्रो भएको आधारमा यसलाई सो रेटिङ दिइएको बताइएको छ । सो मोडलले एडल्ट अकुपेन्सीमा १२.१५/१७ सहित फोर स्टार र चाइल्ड अकुपेन्सीमा १७.९३/४९ सहितको टु स्टार रेटिङ पायो । ब्रेजाका सबै भेरिएन्टमा दुई एयरब्याग, ईबीडी सहितको एबीएस, प्रिटेन्सनर सहितको फ्रन्ट सिट बेल्ट, ड्राइभर्स सिट बेल्ट रिमाइन्डर र आइसोफिक्स चाइल्ड सिट माउन्ट लगायतका फिचर छन् ।

५. फक्सवागन पोलो
ग्लोबल एनक्यापले सबैभन्दा पहिले परीक्षण गरेको कार नै फक्सवागन पोलो थियो । सन् २०१४ मा एयरब्याग नभएको मोडलमा गरिएको सो परीक्षणमा भने पोलोको सो मोडलले क्र्यास टेष्टका लागि आवश्यक संयन्त्र नै पु¥याउन सकेको थिएन । त्यसपछि दुई एयरब्याग भएको मोडललाई परीक्षण गर्दा यसले एडल्ट अकुपेन्सीमा १२.५४/१७ सहित फोर स्टार र चाइल्ड अकुपेन्सीमा २९.९१/४९ सहित थ्री स्टार पाएको थियो । यही नतिजाका कारण नै फक्सागनले भारतमा पोलोका सबै रेन्जमा एयरब्याग र एबीएस उपलब्ध गराउन बाध्य भएको थियो ।

Subscribe Now