Check, click, shop
रोबोट ओलम्पिकमा नेपाली टिम सहभागी हुने

काठमाडौं – मेक्सिकोमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक ‘फस्र्ट ग्लोबल च्यालेन्ज’ मा नेपाली टिमले प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रतिस्पर्धामा शिशिर विश्वकर्मा, पृथ्वी चौधरी, सजिन श्रेष्ठ र सार्थक सेनको टिम सहभागी हुँदैछ । टिम नेपाललाई रोबोटिक्स एसोसिएन अफ नेपालका सचिव बिनोद कँडेलले निर्देशन गरिरहेका छन् । प्रतियोगिता फस्र्ट ग्लोबलले आयोजना गर्न लागेको हो ।

साउन २९ देखि भाद्र २ गते सम्म आयोजना हुने उक्त प्रतियोगितामा १ सय ६९ राष्ट्रका प्रतिनिधिले भाग लिने छन् । गत बर्षदेखि प्रारम्भ भएको यस प्रकारको प्रतिस्पर्धामा नेपाल पहिलो पटक सहभागी हन लागेको हो ।

सो अवसरमा नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले अन्य खेलमा जस्तै रोबोटमा पनि नेपाली युवाहरुले सम्भावनाको ढोका खोल्न सक्ने बताए । भविष्यमा यो क्षेत्रमा पनि नेपालले केही गरेर देखाउन सक्ने उनको भनाइ थियो ।

प्रतियोगितामा नेपालका लागि लाग्ने प्रवेश शुल्क करिब २० लाख मिनाहा गरिनुका साथै प्रतियोगीहरुका लागि जान, आउन र बस्नका लागि समेत सम्पूर्ण खर्च आयोजकहरुले बेहोर्ने भएका छन् । त्यसैगरी रोबोट निर्माणका लागि आवश्यक किट समेत उपलब्ध गराएको छ । टिम नेपालका लागि यो नै मूख्य उपलब्धि भएको र पहिलो पटक यस प्रकारको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनु नै निकै खुसीको कुरा भएको रोबोटिक्स एसोसिएन अफ नेपालका अध्यक्ष विकास गुरुङले बताए ।

टिम नेपालको तर्फबाट प्रतियोगितामा सहभागी हुन जान लागेका मध्ये शिशिर, पृथ्वी र सजिन गत बर्ष रोबोटिक्स एसोसिएसनले आयोजना गरेको यन्त्र ६.० कला, बिज्ञान र प्रविधि महोत्सवका विजेता पनि हुन् । उनीहरु ट्रिनिटी कलेजका विद्यार्थी समेत थिए । सार्थक भने कान्जिरोवा नेसनल स्कुलमा कक्षा ९ मा अध्ययनरत छन् ।

केही समय पहिले विश्वको पहिलो नागरिकता प्राप्त रोबोट सोफियालाई नेपालमा ल्याउन पनि एसोसिएनको महत्वपूर्ण भूमिका थियो । यो वाहेक नेपालमा विभिन्न प्रकारको कार्यक्रम र प्रतियोगिता रोबोटिक्स एसोसिएसनले समय समयमा गर्दै आएको छ ।

Subscribe Now