अब स्मार्ट लाइसेन्स प्लास्टिकको लेमिनेशन गरी बाँड्ने

काठमाडौं - अब सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्लास्टिकको लेमिनेशन गरी बाँड्ने तयारी सुरु गरीएको छ । स्मार्ट लाइसेन्सको गुणस्तर कम भएका कारणले लेमिनेशन गरी बाँड्ने तयारी सुरु गरीएको हो ।

स्मार्ट लाइसेन्सको गुणस्तर कम भएता पनि अर्को लाइसेन्स नआएकाले सेवाग्राही त्यही लाइसेन्स लिन बाध्य छन् । त्यो पनि समयमै पाइँदैन । मन्त्रिपरिषदले स्मार्ट लाइसेन्सको ‘ब्याक लग’ (प्रिन्ट हुन बाँकी)को समस्या समाधान गर्न भर्खरै मात्र मालिका इन्कर्पोरेट प्रालिलाई स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने जिम्मेवारी दिएको छ ।

मालिकाले यसअघि जस्तो 'लेजर प्रिन्ट' नगर्ने यातायात व्यवस्था विभागले जनाएको छ । अब ६ लाख स्मार्ट लाइसेन्स 'थर्मल प्रिन्ट' गरेरै वितरण गरिने भएको छ । थर्मल प्रिन्ट एटीएम कार्ड प्रिन्ट गरेजस्तै प्रविधि हो, जुन बाहिरबाट प्लाष्टिक कोटेड हुन्छ । लेमिनेशन नगरे अक्षरहरु छिटै मेटिने खतरा हुन्छ । यो प्रविधिको प्रिन्टेड अक्षर ५ वर्षसम्म नमेटिन जनाइएको छ । अक्षरहरुको सुरक्षाकै लागि बाहिरबाट लेमिनेशन पनि गरिने भएको हो ।

अब स्मार्ट लाइसेन्समा इम्बोस्ड प्रकृतिको अक्षर पनि नहुने भएको छ । स्मार्ट लाइसेन्समाथि सुरुदेखि नै प्रश्न उठेको थियो । नेपाली नागरिकको व्यक्तिगत विवरण भारतीय कम्पनीको हातमा पुगेको खुलेपछि सर्वोच्च अदालतले त्यसलाई सच्याउन आदेश दिएको थियो ।

हाल ६ लाख बढी सेवाग्राही लाइसेन्सको प्रतीक्षामा छन् । लाइसेन्स नवीकरण वा प्राप्तिको सबै प्रक्रिया पूरा गरेको एक वर्षमा पनि लाइसेन्स पाउन सकिएको छैन ।

 

Subscribe Now