Check, click, shop
लुम्बिनीमा रात कटाउँदैनन् पर्यटक
बुटवल  -  पछिल्ला बर्षहरूमा स्थलमार्ग रूपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रने पर्यटक बढ्दै गए पनि उनीहरूको नेपालमा बसाई भने लम्बिन सकेको छैन। जसका कारण पर्यटकको संख्या बढ्दा पनि व्यवसायी तथा सरकारलाई अपेक्षाकृत लाभ भएको छैन।

 बेलहिया नाका हुँदै भित्रिने भारत तथा तेस्रो मुलुकका पर्यटकको मुख्य गन्तव्य लुम्बिनी हो। तर यहाँ आउने अधिकांश विदेशी पर्यटक आएकै दिन फर्कन्छन् । खासगरी भारतीय पर्यटकहरू लुम्बिनीमा एकरात पनि बस्दैनन् । भारतबाहेक तेस्रो मुलुकबाट आउने पर्यटकहरू पनि एक दुई दिन भन्दा बस्दैनन्। पर्यटक बढे पनि उनीहरूको बसाई नलम्बिनुको मुख्य कारण पर्यटकलाई बसाई लम्ब्याउने खालका कार्यक्रम नहुनु रहेको पर्यटन व्यवसायीको दावी छ।

लुम्बिनीसँगै बुद्धले २९ वर्ष बिताएको कपिलवस्तुको तिलौराकोट, बुद्ध मावली देवदह, अस्तुधातु रहेको नवलपरासीको रामग्रामलगायत यस क्षेत्रका पर्यटकीय स्थालका बारेमा सही जानकारी दिने व्यवस्थासहितको एकीकृत पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन हुन सकेका छैनन्। त्यस्तै निजी क्षेत्रले पनि पर्यटकलाई भुलाई राख्ने खालका पूर्वाधार निर्माण तथा आकर्षक प्याकेजका कार्यक्रम गरेको देखिँदैन।

अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकृत गिरीराज खनालका अनुसार २०१७ मा बेलहिया नाका हुँदै १ लाख ५० हजार ८ सय ४१ पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो तथ्यांक भारतीय पर्यटक बाहेकको हो। सन् २०१६ मा यो नाका हुँदै १ लाख ४७ हजार ६ सय ८ जना पर्यटक नेपाल आएका थिए।

सन् २०१७ मा २०१६ भन्दा ३ हजार २ सय ३३ जना बढी पर्यटक नेपाल आएका छन्। सन् २०१३ मा खस्किएको पर्यटक आगमन त्यसपछि निरन्तर बृद्धि भइरहेको छ। सन् २०१४ मा १ लाख १७ हजार २ सय ६३, २०१५ मा १ लाख २० हजार ६ सय ३७ पर्यटक यो नाकाबाट नेपाल भित्रिएका थिए।

Subscribe Now