हरियो स्टिकर नटाँसिएका सवारीलाई रिंगरोड भित्र प्रवेश निषेध

पुष २९,२०७४
हरियो स्टिकर नटाँसिएका सवारीलाई रिंगरोड भित्र प्रवेश निषेध

काठमाडौं— सरकारले हरियो स्टिकर नटाँस्ने सवारीलाई रिंगरोडभित्र प्रवेश निषेध गर्ने भएको छ । अव निकट भविष्यमै काठमाडौंको चक्रपथभित्र प्रदुषण जाँच पास गरी हरियो स्टिकर नटाँसिएका गाडीको प्रवेशमा पुर्ण रोक लगाउने भएको छ । अव यातायात व्यवस्था विभागले थप प्रदुषण जाँच्ने यन्त्र ल्याएपछि केही समयभित्रै यस्तो निषेधित क्षेत्र बढाउने तयारी गरेको छ ।

प्रदुषण जाँच गर्ने सरकारसँग तीन वटा मात्रै मेसिन छ । अब भने ४० वटा मेसिन किन्न टेण्डर गरिएको विभागले जनाएको छ । पहिलो चरणमा रिंगरोडभित्र हरियो स्टिकर नलगाई आउने सवारीलाई रोकिने छ । त्यसपछि दोस्रो चरणमा उपत्यकाभित्र नै यो नियम लगाइनेछ । तेस्रो चरणमा भने देशभर नै हरियो स्टिकरको प्रावधान लागू हुने विभागले जनाएको छ ।

सरकारले अहिले सिंहदरबार आसपास, पुतलीसडक, ठमेलको त्रिदेवीमार्ग, दरबारमार्ग, विमानस्थल, न्युरोड र दरबार स्क्वायर क्षेत्रमा हरियो स्टिकर नटाँसेका सवारीलाई निषेध गरेको छ । तर यो कार्य खासै प्रभावकारी भएको छैन । सरकारले प्रदुषण जाँचमा कडाई नगर्दा यातायात व्यवसायी र सवारी धनीले आफ्नो मोटर बेलैमा मर्मत गर्ने र चुस्त अवस्थामा राख्ने काममा हेलचेक्र्याइँ गर्दै आएका छन् ।

अवका दिनमा निजी सवारी साधनले एक वर्ष र सार्वजनिक सवारी साधनले ६—६ महिनामा प्रदुषण जाँच गरेर विभागबाट हरियो स्टिकर लिनुपर्छ । मेसिनसहित सडकमै गएर जाँच गर्दा अधिकांश सवारीले बेलैमा इन्जिन मर्मत नगर्ने गरेको भेटिएको छ । सोही कारण सवारीले अत्याधिक विषालु धुवाँ फाल्ने गरेको महानगर ट्राफिक प्रहरी महाशाखाकाले जनाएको छ ।

काठमाडौं उपत्यकामा प्रदुषण मौलाउनुको प्रमुख कारण दुषित धुवाँ फाल्ने सवारी रहेको पुष्टी भएको छ । आकस्मिक जाँच गरिएका अधिकांश सवारी प्रदुषण मापदण्डमा फेल हुने गरेका छन् । सडकको दूरावस्थाका कारण उडेको धुलोलाई प्रमुख कारण भनिए पनि वर्षाकै समयमा पनि वायु प्रदुषणको दर उच्च देखिन्छ । त्यसैले सवारी साधनले फाल्ने अत्यधिक प्रदुषित धुवाँ मानव स्वास्थ्यका लागि जोखिमयुक्त छ ।

कमेन्ट गर्नुहोस्