Check, click, shop
अटो शो र मोडल, के होला भविष्य ?

उज्यालो अनुहार, हाँस्दा उसका गालामा खोपिल्टा पर्थे । निकै चम्किला दाँतले मेरा आँखा तिर्मिराउँछन् झै लाग्थ्यो । करिब–करिब पाँच फिट सात इन्च अग्ली, आकर्षक वक्षस्थल, यसो झुक्दा उसका वक्षहरू भाग्न खोज्थे र मलाई चियाउँथे । अहो, म पनि मौका छोप्थें ।

कालो रंगको सुट, अलि गाढा रातो लिपस्टिक, सात इन्च जति अग्ला जुत्ता । भैगो, मेरो कार किन्ने हैसियत छैन । तर उसको सुन्दरताले मलाई लाचार पारेको छ । तानेको छ । एकछिन गफिन मनलाग्यो । मनै त हो । एउटा गैर–अटो पात्रलाई उसकै सुन्दरताले केहीबेर खिच्यो । मलाई लाग्यो, ‘सबै स्टलहरूमा यस्तै सुन्दरता देखिन पाए, साच्चै अटो शो सफल हुन्थ्यो ।’ म अगाडि बढ्दै गए, अर्को सुन्दर अनुहारको आशामा यता र उता हेर्दै । म ठोक्किए, टाउकोमा टाउको जुध्यो । म ब्युझिएँ । फगत सपना रहेछ ।

के विपनामा यो कल्पना गर्न सकिदैन ? साच्चै अटो शोमा निकै सुन्दरीहरूको उपस्थिति । सम्भव छ । संसारभर अटो शोको सुन्दरतासँग महिलाको सुन्दरलाई जोडेर हेर्ने चलन छ । पुरूष मोडलको आकर्षण यस्ता शोहरूमा एकदमै न्युन हुन्छ । आखिर महिला मोडलको सट्टा पुरूष मोडल भए कस्तो हुन्छ ? सँगैको यो तस्बिरले स्पष्ट पार्छ । उत्तर स्पष्ट छ, त्यति मान्छे तानिदैनन् ।

नेपालका अटो शोहरुमा पनि सुन्दरीहरुलाई मोडलका रुपमा प्रस्तुत गर्ने प्रचलन बढ्दै गएको छ । अटो शो कि ब्युटी शो ? यस्ता प्रश्न पनि नउठ्ने गरेका होइनन् । तर ब्युटी र अटो एक साथ प्रस्तुत गर्दा अटो शोमा केही रौनक भने अवश्य थपिदो रहेछ ।

विभिन्न कम्पनीहरुले विभिन्न रुपले मोडलहरुलाई प्रस्तुत गरेका हुन्छन् । कतिपय कम्पनीले आफ्नै कर्मचारीलाई पनि मोडलका रुपमा प्रस्तुत गर्न सक्छन् । तर धेरैले भने एजेन्सी मार्फत नै मोडलहरु ल्याउछन् । ती मोडलहरुले गाडी वा अन्य उत्पादनका वारेमा जानकारी दिने भन्दा पनि अटोमोबाइलसँग आफ्नो सौन्दर्यताको सम्मिश्रण गरेका हुन्छन् ।

नेपालमा अटोमोबाइल आयातकर्ता र बिक्रेता कम्पनीहरु पनि निकै जागरुक छन् । विशेषत बाइक र चारपांग्रे सवारीले युवाहरुलाई नै आफ्नो सम्भावित ग्राहक मानेका हुन्छन् । फेरि अन्य उमेर समुहका मानिसहरु पनि यी सवारी साधनतिर आकर्षित हुन्छन् नै । अटो शोमै विभिन्न सागीतिक कार्यक्रम पनि भैरहेका हुन्छन् । त्यसैले ती मोडलहरुले यी सबै कार्यका लागि सहजिकरण गरेका हुन्छन् ।

अटो शोमा सबै कम्पनीले विभिन्न रुपमा मोडललाई प्रस्तुत गरेका छन् । कतिपय आफ्नै कर्मचारी मोडलका रुपमा प्रस्तुत भएकाले उनीहरुलाई ग्राहकलाई जानकारी प्रदान गर्ने कार्यका लागि तालिमको आवश्यकता नपर्न सक्छ । तर एजेन्सी मार्फत आएका मोडललाई भने यसका वारेमा तालिम समेत प्रदान गरिएको हुन्छ । यो तालिम सामान्यत एक हप्ता सम्मको हुने उनीहरुको भनाई छ ।

अटो शोमा मोडल राख्ने प्रचलन पुरानो हो । हाल संसारका सबै देशमा हुने अटो शोमा यस्ता मोडल हुन्छन् । औद्योगिक मुलुकहरूमा हुने अटो शोका लागि मोडलहरू भिन्न हुन्छन् । उनका लागि बेग्लै तयारी हुन्छ । पढाई हुन्छ । तालिम हुन्छ । उनीहरू यसरी नै जीविकोपार्जन गर्न सक्छन् ।

अमेरिकामा हुने अटो शोका मोडलहरू परिवारसँग लामो समयसम्म टाढा हुन्छन् । कम्पनीको खटनपटनमा बस्छन् । बिहान बेलैमा शुरू भएका अटो शोहरू राती अबेर बन्द हुन्छन् । खटाई समय लामो हुन्छ । कस्सिएका लुगा, अग्ला हिल भएका जुत्ता, समयमा खाना खान नपाउने, अटो शोमा धेरै मोडलले एउटै कोठाबाट सिंगारिनु पर्ने वा बेलाबेला आफूलाई सम्हाल्नुपर्ने हुन्छ । उसले बनावटी हाँसोमा धेरै दिन बिताउनुपर्ने हुन्छ ।

साँच्चै अटो शोको मोडल बन्ने हो भने सजिलो छैन, यो काम ।

लैंगिक समानताको वकालत गर्नेहरुका कारण अटो शोमा महिला मोडल राख्ने कार्यमा कमी समेत आउन थालेको छ । ‘हेर्दा राम्री देखिने र मुस्कान भएकी’ मोडल राख्ने चलन अझै पनि छ र यसमा परिवर्तन ल्याउनु जरुरी छैन भन्नेहरु पनि धेरै छन् ।

यद्यपि जसलाई पनि आफ्नो करियर छान्न स्वतन्त्रता हुन्छ । यही स्वतन्त्रताका बीचमा मोडलिङ गर्ने र अटो शोमा उपस्थिति जनाउनेहरु पनि प्रशस्तै छन् । विशेष गरी बिज्ञापन तथा मोडलिङ एजेन्सीहरुले केही समयका लागि यस्ता मोडलहरु उपलब्ध गराउने गर्छन् ।

मोडलको काम कार वा बाइकको छेउमा उभिनु मात्र होइन । उनीहरु अटो शोमा उपस्थित भएका दर्शकहरुको ध्यान खिच्न सफल हुने ‘शान्त वस्तु’ मात्र होइनन् । उनीहरुको काम भनेको अवलोकनकर्ताहरुको ध्यान खिचेर कार वा बाइकको बारेमा जानकारी दिने र उनीहरुको प्रतिक्रियालाई संकलन गर्ने पनि हो ।

यही कुरालाई ध्यानमा राखेर कतिपय कम्पनीहरुले कार वा बाइकका वारेमा मात्र होइन, अटो शोमा कसरी प्रस्तुत हुने भनेर मोडलहरुलाई तालिम समेत प्रदान गरेका हुन्छन् ।

सेक्स सेल्स । यो शब्द निकै लामो समय सम्म प्रचलित रह्यो । विशेष गरी अटो शोको समयमा यो शब्दको प्रयोग निकै नै हुन्छ । अटोमोबाइल निर्माता कम्पनीहरुले आफ्ना सवारी साधनप्रति अन्य ब्यक्तिलाई आकर्षित गर्नका लागि प्रयोग गरिने महिला मोडललाई ‘सेक्स सेल्स’ भनिएको हो । उनीहरुलाई अर्को शब्दमा ‘बुथ बेब्स’ पनि भनिन्छ ।

१९६० र ७० को दशक पश्चात यसको प्रयोग भएको हो । विश्वका विभिन्न देशमा हुने मुख्य अटो शोहरुमा कार वा मोटरसाइकलको छेउमा महिला मोडलहरु उभिएको पाइन्छ । उनीहरुलाई नै सेक्स सेल्सको रुपमा प्रयोग गरिएको धेरैको भनाइ छ ।

तर यो वर्षको जेनेभा अटो शोमा भने केही फरक दृश्य थियो । टोयोटा, निसान, साङयोङ, लेक्सस, फियाट क्रिस्लर, मासेराटी, जिप, अल्फा रोमियो आदिले आफ्नो प्याभिलियनमा ग्ल्यामरस नभई सामान्य देखिने महिला मोडलहरु राखे । उनीहरुका साथमा पुरुष मोडलहरु पनि थिए । यद्यपि उनीहरुको प्रस्तुतिमा शालिनता थियो ।

विश्व भर प्रचलित मिटु मुभमेन्टका कारण पनि अटोमोबाइल निर्माता कम्पनीहरु यस कार्यतर्फ अग्रसर भएका हुन् । महिलाहरुलाई भेदभाव गरी मनोरञ्जनात्मक रुपमा प्रस्तुत गर्नु हुँदैन भन्ने सो मुभमेन्टको उद्देश्य छ ।

Subscribe Now