नाडा अटो शो सम्पन्न, ६५ हजार अवलोकनकर्ता

काठमाडौं - भृकुटीमण्डपमा ६ दिन सञ्चालित सवारीसाधनको कुम्भ मेला  ‘नाडा आटो शो २०१८’ मा ६५ हजार जनाले अवलोकन गरेका छन् । गत भाद्र २६ देखि सञ्चालित नाडा अटो शो आइतबार  सम्पन्न भएको हो ।

मेला समापन भएको छैटौं दिन आइतबारसम्म कुल  ६५ हजारले अवलोकन गरेको  मेला आयोजक संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले जनाएको छ ।  

‘नाडा आटो शो २०१८’का संयोजक निराकार श्रेष्ठले यस वर्षको मेला विगत वर्षको तुलनामा निकै प्रभावकारी भएको बताए । अहिले बुकिङ संख्या र रकम भने सार्वजनिक नगरेको भन्दै उनले यो वर्ष नाडाले अटो शो लाई ब्रान्डिङमा मात्रै केन्द्रित गर्ने नीति अवलम्बन गरेको बताए ।

अहिले आयोजक संस्था नाडाले बुकिङ संख्या र कारोबार रकम सार्वजानिक नगरे पनि आफ्नो प्रयोजनका लागि संकलन भने गरेको थियो । नाडाका एक पदाधिकारीका अनुसार यस मेलामा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  यो कारोबार आयोजकको लक्ष्यअनुसार नै हो ।  ६ दिने मेला अवधिभर चारपांग्रे र दुईपांग्रे मोटरसाइकल बुकिङ अपेक्षाकृत रूपमा भएका छन् ।

सवारी पारखीहरूका लागि सञ्चालित यस नाडा अटो शोमा चारपांग्रे मात्र होइन, दुईपांग्रे सवारी खरिदमा पनि विभिन्न कम्पनीहरूले उस्तै अफर दिएका थियो । मोटरसाइकल र स्कुटरका नयाँ मोडल हेर्न चाहनेका लागि मात्र नभएर खरिद गर्न चाहनेका लागि पनि मेला एकदमै फलदायी हुने नाडाको दाबी छ । 

सवारी पारखीका लागि हरेक वर्ष दसैंअघि नाडा अटो शो हुँदै आएको छ । 

Subscribe Now