Gulf Ave Trading
मोटरसाइकलको इन्जिन वाट वन्यो गाडी
Total
Tata tigro
काठमाडौं– मोटरसाइकलको इन्जिन प्रयोग गरेर नेपाली विद्यार्थीले गाडी वनाएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसका चार जना विद्यार्थीले तीन पांग्रे गाडी बनाएका हुन् । मेकानिकल इन्जिनियरिङ चौथो वर्ष पढ्दै गर्दा दिपेश बुढाथोकी, अमित पण्डित, रविकान्त चौधरी र बसन्त आलेले उक्त गाडी बनाएका हुन् ।

यसअघि पनि प्रोजेक्टको लागि इन्जिनियरिङ दोस्रो वर्ष पढ्दै गर्दा अन्य चार जनासँग मिलेर मोटरसाइकलकै इन्जिन प्रयोग गरी ‘गो कार्ट’ (रेसिङ कार) बनाएका थिए । गो कार्टले विभिन्न प्रदर्शनीमा राम्रो प्रतिकृया पाएपछि उनीहरुले इजिनियरिङ चौथो वर्षको फाइनल प्रोजेक्टको लागि पनि अटोमोवाइल क्षेत्र नै रोजे ।

यसको नाम मोतिका (मोटरसाइकल तीन पांग्रे कार) दिइएको छ । यो गाडी पेट्रोल र ब्याट्री दुबैबाट चलाउन सकिन्छ । यसमा अगाडि दुई वटा गाडीको पांग्रा र पछाडि मोटरसाइकलको एउटा पांग्रा प्रयोग गरिएको छ । यो गाडी इन्जिनबाट चलाउँदा ७४ किलोमिटर र ब्याट्रीबाट १८ किलोमिटर प्रतिघण्टा सम्मको स्पिडमा चलाउन सकिने उनिहरुको दावी छ ।

यो गाडीमा कारको स्टेरिङ राखिएको छ । यसमा एक्सिलेटर, क्लज र ब्रेक खुट्टाले संचालन गरिन्छ । यो गाडी २ सिट क्षमताको रहेको छ । नाकाबन्दीले तेलको हाहाकार परेका बेलामा गाडीलाई ब्याट्रीबाट पनि चलाउन मिल्नेगरी बनाएको उनिहरुले जनाएका छन् ।

यो गाडी बनाउन २ लाख ५० हजार भन्दा धेरै रकमको आवश्यकता थियो । पैसाको लागि यस्तो प्रोजेक्टमा लगानी गर्न उनीहरुले भारतको कालिङ्गा विश्व विद्यालयमा निवेदन दिए पनि सहयोग आएन । त्यस्तै ठिमीस्थित युनिभर्सिटी ग्राण्ड कमिसनमा पनि निवेदन दिए । प्रोजेक्ट फाइनल भएपछि मात्र त्यहाँबाट सहयोग हुने प्रतिक्रिया पाए । रकम जुटाएर गाडी निर्माण भइ सकेपछि सहयोग आएकाले त्यो उनीहरुले लिएनन् ।

गाडी दर्ता गर्न मिल्छ कि भनेर उनिहरु यातायात कार्यालय समेत पुगेका थिए । तर यसलाई स्विकृति दिनको लागि जाँच गर्ने संयन्त्र नभएको जानकारी दिइयो । यो गाडीलाई सुधार गरेर मनोरञ्जनको क्षेत्रमा, ठूला होटल, रिसोर्ट, गल्फ कोर्ट, आदीमा प्रयोग गर्न सकिने उनीहरुको भनाइ छ ।

यति मात्र नभइ विद्यार्थीहरुले अरु तीन–चार मोडलका गाडीको सोच पनि बनाइसकेका छन् । सजिलै जाँच गर्ने व्यवस्था मिलाएर सडकमा चलाउन पाउने व्यवस्था मिले क्षमताको कदर हुने विद्यार्थीहरुले वताएका छन् । उनीहरुले यो गाडी माघमा हुने क्यान इन्फोटेक प्रदर्शनीमा राख्ने जनाएका छन् ।

उनीहरुले नेपालका सबै विद्यार्थी उत्कृष्ट प्रोजेक्ट बनाउने भनेर सोचेका हुन्छन् । तर पैसाको अभावले धेरैले इच्छा मार्छन् र पास हुनको लागि मात्र झारा टारेर निस्कने वताएका छन् । यस्तो विषयमा सरकारी निकायले ध्यान दिए देशकै लागि राम्रो हुने र क्षमतालाई संसारलाई देखाउन सकिने उनिहरुको भनाइ छ ।

 

Subscribe Now