नाडा अटो शो : यी हुन् सर्बाधिक महंगा मोटरसाइकल,  मूल्य ४५ लाख सम्म

हालै मात्र विश्व बजारमा महंगो बाइकको रुपमा परिचित हार्ले डेभिडसनका मोटरसाइकल भित्रिए । त्यसैगरी इटालियन कम्पनी एसडब्लुएम पनि यही वर्ष भित्रियो । यो वाहेक पहिले देखि नै बेनेली, सीएफ मोटो, होन्डा आदिका महंगा मोटरसाइकल पनि उपलब्ध छन् । अटो शोमा पनि यस्ता धेरै कम्पनीका महंगा मोटरसाइकल देख्न पाइन्छ ।

ती मध्ये सर्बाधिक महंगा ५ मोटरसाइकल यी हुन् :

हार्ले डेभिडसन स्पोर्टस्टर आइरन ८८३
नेपालमै पहिलो पटक हार्ले डेभिडसनका मोटरसाइकल भित्रिएका छन् । हार्ले डेभिडसनको सो मोटरसाइकलको मूल्य ४५ लाख रुपैयाँ तोकिएको छ । यसको खास मूल्य ४५ लाख ८५ हजार भए पनि अटो शोका लागि ८५ हजार रुपैयाँ छुट उपलब्ध गराइएको कम्पनीको भनाइ छ । यसमा ८८३ सीसीको एयरकुल्ड ट्विन सिलिन्डर इन्जिन छ ।

हार्ले डेभिडसनलाई छोटकरीमा प्राय: एचडी अथवा हार्ले भनिन्छ । यो अमेरिकी मोटरसाइकल निर्माता कम्पनी हो । नेपालमा औपचारिक रुपमा बिक्री वितरण नभए पनि केही शौखिनहरुले भने हार्लेका बाइक पहिले पनि नेपालमा ल्याएर चलाउने गरेको पाइन्छ । अब भने यो औपचारिक रुपमै भित्रिएको छ ।

एसडब्लुएम मोटरसाइकल
एसडब्लुएम मोटरसाइकल पनि पहिलो पटक नेपालमा भित्रिएको हो । प्रारम्भमा एसडब्लुएमका आरएस ३०० आर, सुपर ड्युअल ६५० टी र सिल्भर भेस ४४० का मोडल भित्रिएका छन् । आरएस ३०० आरको मूल्य १६ लाख, सुपर ड्युअल ६५० टीको मूल्य २३ लाख र सिल्भर भास ४४० को मूल्य १४ लाख ५० हजार छ । डर्ट, क्रुजर तथा एड्भेन्चर टुरर मोटरसाइकलको रुपमा यी मोटरसाइकलले नेपाली बजारमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

एसडब्लुएमको सर्बाधिक महंगो बाइक सुपर ड्युअल ६५० टीमा डयुअल स्पोर्ट्स बाइक हो । यसमा मोटार्ड टायरको प्रयोग गरिएको छ । यसमा ब्याम्बु ब्रेक र साचको फुल्ली एड्जस्टेबल सस्पेन्सन छ । त्यसैगरी हाइड्रोलिक क्लच र डिजिटल कन्सोल आदि उपलब्ध छन् । यी सबैका कारण यो बाइक चलाउन निकै सहज हुन्छ ।

होन्डाको एनएम फोर 
होन्डाले हेर्दै फरक देखिने नयाँ क्रुजर बाइक एनएम फोर ल्याएको छ । विशेष डिजाइनको सो क्रुजर बाइकलाई क्लच प्रयोग गरेर वा नगरेर चलाउन सकिन्छ । यसको गियर चेन्ज गर्नका लागि बटन दबाए पुग्छ । सो बाइकमा ७ सय ५० सीसीको इन्जिन छ । प्रदर्शनीका लागि मात्र राखिएकाले हाल यसको मूल्य सार्वजनिक गरिएको छैन ।

बेनेली टीएनटी ६००
टीआरके ६०० बेनेलीको नेपालमा उपलब्ध सर्बाधिक महंगो बाइक हो । यसको मूल्य १९ लाख रुपैयाँ तोकिएको छ । यसमा ६ सय सीसी क्षमताको इन्जिन छ । यसमा ६ गियर छन् । यसमा १५ लिटरको इन्धन ट्यांकी छ । यसमा ४ सिलिन्डर र एडिसनल सस्पेन्सन छ ।

सीएफ मोटो
सीएफ मोटोको ६५० एमटी मोटरसाइकलमा ड्युअल च्यानल एबीएस छ भने यसलाई स्पोर्ट र टुरिङ गरी दुई मोडमा चलाउन सकिन्छ । यसको मूल्य १७ लाख ५० हजार ५ सय रुपैयाँ छ । यो स्पेसल एडिसन माउन्टेन टुरर बाइक हो । केही समय पहिले टर्की देखि नेपाल सम्म यात्रा गरेर आएका राइडरहरुले यही बाइक प्रयोग गरेका थिए । त्यही बाइक नै हाल प्रदर्शनका लागि राखिएको कम्पनीले जानकारी दिएको छ ।

यति धेरै महंगा बाइक सबैले प्रयोग गर्न सक्दैनन् । कम्पनीहरुले पनि यी बाइक सोरुममा त्यत्तिकै राख्दैनन् । कुनै ग्राहकले आफूलाई चाहिएको भनेर अर्डर गरेमा मात्र यी बाइक पनि कम्पनीले उपलब्ध गराउछन् । त्यसैले यस्ता महंगा बाइक किन्नु भन्दा पहिले अर्डर गर्नु पर्छ ।

 

Subscribe Now