Check, click, shop
यस्तो छ वैदेशिक रोजगारीमा जानेहरुका लागि मोबाइल एप्लिकेसन

काठमाडौं – वैदेशिक रोजगारीमा जान चाहने र गएकाहरुलाई लक्ष्यित गरी एक मोबाइल एप्सको विकास गरिएको छ ।

प्रवासीको साथ नामक सो मोवाइल एप्लिकेसन एउटा आर्थिक क्याल्कुलेटरको रुपमा बनाइएको एप्लिकेसन हो । यसले वैदेशिक रोजगार कर्मिहरुलाई आर्थिक विश्लेषण गर्नका साथैै सुरक्षित वैदेशिक रोजगारी र विदेशमा जाँदा चाहिँने जानकारीहरु प्रदान गर्छ ।

यो एप्लिकेसन वैदेशिक रोजगारीमा जान इच्छुक र फर्किएका कामदारहरुको संलग्नतामा तयार पारिएको बताइएको छ ।

विदेश जाने तयारीमा रहेका, प्रस्थान गर्नु अघिको अवस्थाका लागि र विदेशमा हुँदाको अवस्थामा उपयोग हुने गरी यसलाई तीन भागमा विभाजन गरिएको छ । यी तीनै खण्डहरु एक अर्कामा अन्तरसम्बन्धित छन् ।

अघिल्लो खण्डमा भएको आर्थिक अभिलेख पछिल्लो खण्डमा लगि तुलनात्मक रुपमा देखाइने हुँदा विदेश जाने तथा विदेश गएका कामदारहरुलाई आर्थिक विश्लेषण गर्नुका साथै वैदेशिक रोजगार प्रक्रियामा लाग्ने खर्च, खर्चको व्यवस्थापन र भविष्यमा हुन सक्ने सम्भावित आँकडा पाउन मद्दत गर्छ ।

एप्समा वैदेशिक रोजगारीका लागि सरकारी मान्यता प्राप्त सीप विकास केन्द्रहरु, मेनपावर कम्पनीहरु, स्वास्थ्य केन्द्रहरु, बिमा कम्पनीहरु, रेमिटेन्स कम्पनीहरु, ओरिन्टेशन सेन्टरहरु र वैदेशिक रोजगार प्रक्रियाका लागि आवश्यक अन्य जानकारीहरु राखिएको छ ।

एप्लिकेसन मार्फत वैदेशिक रोजगारीमा जानेहरुले विदेशमा हुँदा पहिले सोचेको खर्च र आम्दानीलाई साँच्चिकै अवस्थामा भएको खर्च आम्दानीसँग तुलना गरेर आफ्नो आर्थिक निर्णय प्रक्रियालाई विस्तार गर्न सहयोग गर्छ ।

वल्र्ड एजुकेसनले अम्निल टेक्नोलोजिजको प्राविधिक सहयोगमा सो एप्लिकेसन निर्माण गरेको हो । एप्लिकेसन नेपाली र अंग्रेजी भाषामा तयार गरिएको छ र आइओएस, एन्ड्रोइड तथा वेभ भर्सनमा उपलब्ध छ ।

वैदेशिक रोजगारी सम्बन्धी आवश्यक जानकारी पूर्ण रुपमा एउटै एप्समा उपलब्ध गराउने उद्देश्यका साथ यसको निर्माण गरिएको वल्र्ड एजुकेसनकी कन्ट्री डाइरेक्टर हेलेन शेर्पाले बताइन् ।

Subscribe Now