Check, click, shop
१० करोड १३ लाख लागतमा वन्ने भयो काठमाडौं-तराई द्रुतमार्ग, सुसुङसँग सम्झौता

काठमाडौं - राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं-तराई-मधेश द्रुतमार्गको डीपीआर १० करोड १३ लाख लागतमा वन्ने भएको छ । मङ्गलवार निर्माणसम्बन्धी सम्झौतापत्रमा दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनी लिमिटेड र नेपाली सेनाबीच हस्ताक्षर भएको छ ।

यो फाष्ट ट्याकको डीपीआर निर्माणको लागि कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना प्रमुख एवम् उपरथी योगेन्द्रबहादुर खाँण र सुसुङ कम्पनीका अध्यक्ष कि ह्युन ह्वाङले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो परियोजना प्रतिवेदन (डीपीआर) १ सय ५ दिनभित्रै तयार हुने जनाएको छ ।

यसअघि भारतीय कम्पनी आइएल एण्ड एफएसले डीपीआर तयार गरेकामा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्काे परामर्शदाताको छनोट गरेको थियो । उक्त डीपीआर करीब रू. १० करोड १३ लाखको लागतमा आगामी कात्तिक ५ गतेदेखि लागू हुने गरी आगामी १०५ दिनभित्र तयार हुने बताइएको छ । द्रुतमार्गको डीपीआरका लागि १६ परामर्शदाता कम्पनीले आवेदन दिएका थिए ।

एशियाली विकास बैङ्कले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर अहिले सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दै आएको छ ।

 

Subscribe Now