Check, click, shop
यो हो नाडा अटो शोको सर्बाधिक महंगो गाडी : जिप रेंगलर

जिपको रेंगलर एसयूभी भृकुटी मण्डपमा जारी नाडा अटो शोको सर्बाधिक महंगो गाडी हो । यसको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकिएको छ ।

जिपलाई नेपाली बजारमा एमएडव्लु लाइफले भित्राएको हो । विश्व बजारमा हेर्ने हो भने जिप रेंगलरको ‘लोयालिटी’ उच्च र फ्यान संख्या तीव्र रुपमा बढ्दो छ । जिप रेंगलरको पहिलो पुस्ता निर्माण भएको दशकौं भइसकेको छ ।

जिप रेंगलरको डिजाइन ‘आइकनिक’ छ । पछिल्लो पुस्ताका रेंगलरहरूले पनि ‘रग्डनेस’लाई कायमै राखेको छ । जिप रेंगलर त्यस्ता सीमित सवारीमध्ये पर्छ जसको पारम्परिक लुक्स र डिजाइन दशकौंसम्म उस्तै कायम राखिएको छ ।

ठूलो बम्पर, आइकनिक ग्रिल र ठूल्ठूला टायर, यस्तो स्टाइल जिप रेंगलरबाहेक अरु कुनै गाडीमा छैन । नेपालमा आएको रेंगलर अनलिमिटेडमा २.८ लिटरको इन्जिन रहेको छ । ६ सिलिन्डर भएको यो एसयुभीमा ५ स्पिड अटोमेटिक गियर रहेको छ । अल ह्विल ड्राइभ रेंगलरले ६३५० आरपीएममा अधिकतम २०० एचपी शक्ति र ४३०० आरपीएममा अधिकतम ३४० एनएम टर्क उत्पन्न गर्छ ।

अफरोड किङ रेंगलरमा सुरक्षाका लागि ड्राइभर र फ्रन्ट प्यासेन्जर एयर ब्याग छन् भने एबीएस विथ इलेक्ट्रोनिक स्टाबिलिटी एन्ड ब्रेक असिस्ट, इमोबिलाइजर, सेक्युरिटी अलार्म, स्ट्याबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डोर लक, ब्लाइन्ड स्पट डिटेक्सनजस्ता फिचर छन् ।

यसपटकको अटो शोमा खास विशेष केही हुँदै छ भने त्यो जिपका कारण भइरहेको छ । किनकी मेलामा विश्वप्रख्यात अटोमोवाइल ब्राण्ड जिपले पहिलो पटक सहभागिता जनाएको छ ।

अटो पारखीहरु अहिले पनि सवै एसयुभी गाडीलाई जिपकै नामले पुकार्ने गर्छन् । यसर्थ जिप र एसयुभी नेपाली अटो बजारमा पर्यायबाची शब्द जस्तै बनेका छन् । केही समयअघिसम्म पनि जिप नेपाली एसयुभी पारखीहरुको ड्रिम ब्रान्ड नै थियो ।

तर अहिले उक्त ड्रिम वास्तविकतामा परिणत भएको छ, अटो बजारमा यो ब्राण्ड भित्रिएका कारण ।

Subscribe Now