Check, click, shop
इन्टरमोट मोटरसाइकल शो : यस्ता छन् यामाहा, डुकाटी र सुजुकीका बाइक

जर्मनीको कोलोनमा २०१८ इन्टरमोट मोटरसाइकल शो चलिरहेको छ । उक्त मोटरसाइकल शोमा विभिन्न दुई पांग्रे सवारी साधन निर्माता कम्पनीहरुले आफ्ना उत्पादन प्रदर्शन गरेका छन् ।

सुजुकी देखि डुकाटी सम्मले आफ्ना उत्पादन सो मोटरसाइकल शो मा प्रदर्शन गरेका छन् । ती मध्ये तीन बाइकको वारेमा यहाँ जानकारी प्रस्तुत गरिएको छ ।

यामाहा ट्रेसर ७००जीटी
यामाहाले २०१९ का लागि आफ्नो नयाँ मोडल ट्रेसर ७०० जीटी इन्टरमोड २०१८ मा प्रदर्शन गरेको छ । सो बाइक पूर्ण रुपमा यामाहा ट्रेसर ७०० मा आधारित छ । यसमा बेस मोडलमा भए जस्तै टुरिङ स्क्रिन, नयाँ सिट र हलुका वजनको च्यासिस छ । यसमा ६८९ सीसी, प्यारालल ट्विन क्रोसप्लेन इन्जिनको प्रयोग गरिएको छ । यसले ७४ बीएचपी पावर र ६८ एनएम टर्क प्रदान गर्छ । यसमा १७ लिटरको इन्धन ट्यांकी छ ।

डुकाटी स्क्र्याम्बल रेन्ज
डुकाटीले स्क्र्याम्बल फुल थ्रोटल, क्याफे रेसर, डेजर्ट स्टेल र सिक्सटी२ प्रदर्शन गरेको छ । सबै भर्सनमा अपडेटेड हेडल्याम्पका साथ डे टाइम रनिङ लाइट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, फ्युल गज, गियर पोजिसन इन्डिकेटर आदि छन् । यी बाइकमा कल उठाउन सकिने र ब्लुटुथ कनेक्टिभिटीद्वारा इन्टरकममा म्युजिक सुन्न सकिने सुविधा समेत छ । यसका साथै हाइड्रोलिक क्लच कन्ट्रोलका साथै एड्जस्टेबल लिभर्स पनि उपलब्ध छ ।

सुजुकी कटाना
सुजुकी कटाना सुजुकीकै जीएसएक्स–एस १००० नेकेड मोटरसाइकलको फ्रेममा आधारित छ । सुजुकी कटानाको अघिल्लो भागमा माथितिर स्क्वायर एलईडी हेडल्याम्प छ भने मस्कुलर र आकर्षक इनधन ट्यांकी छ । यसमा फ्लोटिङ टेल डिजाइनका साथै नम्बर प्लेट होल्डर सहितको टायर हगर छ ।

यसमा भएको इन्जिन बेली प्यानले मोटरसाइकलको लुक्सलाई मोडर्न बनाएको छ । त्यसैगरी सुजुकी जीएसएक्स–आर १००० आर मा भए जस्तै डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ । २०१९ सुजुकी कटानामा ९९९ सीसी लिक्विड कुल्ड, इन–लाइन फोर सिलिन्डर इन्जिन छ, जसले १४८ बीएचपी पावर र १०८ एनएम टर्क प्रदान गर्छ । यसमा ६–स्पिड गियरबक्स छ भने यसको सहयोगको लागि स्लिपर क्लच समेत छ । अनि थ्री लेभल ट्रयाक्सन कन्ट्रोल समेत छ ।

अक्टोबर ३ देखि प्रारम्भ भएको शो अक्टोबर ७ सम्म चल्ने छ ।

Subscribe Now