हन्ड्रेड युथ्स आवर फ्युचर अभियानको शुभारम्भ

काठमाडौँ इञ्जिनियरिङ्ग कलेजले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) सँगको सहकार्यमा हन्ड्रेड युथ्स आवर फ्युचर (100 Youths Our Future) अभियान सञ्चालन गर्ने भएको छ ।

सो अभियान आजबाट प्रारम्भ भई आगामी जनवरी सम्म ४ महिना संचालन हुने बताइएको छ ।

मोटर स्पोर्ट्सको अवधारणा भित्र रहेर नेपालमा यो कार्यक्रम हुनेछ, जसमा कलेज टु कार्ट्स, अटो रोबोटिक कार कम्पिटिसन, पर्सनालिटी डेभलपमेन्ट आदि हुने छन् । यसले नेपाली शिक्षित यूवालाई साहसिक खेल, स्पोर्ट्स टुरिजम्, रोड सेफ्टी तथा व्यक्तित्व विकासमा केहि उत्साह, केहि सकृयता र केहि अवधारणा प्रदान गर्ने कलेज र नासाले बताएका छन् ।

यस अभियान अन्तर्गत पहिलो चरणमा काठमाडौँ इञ्जिनियरिङ्ग कलेज तथा अन्य इञ्जिनियरिङ्ग कलेजमा आधारित रहेर इच्छुक विद्यार्थीलाई समेटेर मोटर स्पोर्ट्स, ड्राइभ टुरिजम, अटो रोबोटिक्स इनोभेसन तथा सडक सुरक्षा बारेमा छोटो जानकारी दिइनेछ ।

दोस्रो चरणमा ती इच्छुक बिद्यार्थीहरु मध्येबाट लिखित परिक्षाको आधारमा १०० जना छनौट गरिने छ, जसमा अटोमोबाइल स्पोर्ट्स, इनोभेसन तथा रोड सेफ्टीका प्रश्न हुनेछन् ।

तेस्रो चरणमा छनौट भएका बिद्यार्थीलाई उनीहरुले प्राप्त गरेको नम्बर तथा विषयको आधारमा ३ क्षेत्रमा विभाजन गरिने छ । विजयी खेलाडीहरुलाई सिंगापुर सर्किटमा स्टडी भिजिट गराइने छ ।

आज एक पत्रकार सम्मेलनको आयोजना गरी कलेजका प्रिन्सिपल चाँद शमशेर राणा र नासाका अध्यक्ष दशरथ रिसालले यस वारेमा जानकारी प्रदान गरेका थिए ।

Subscribe Now