Check, click, shop
बाइक चलाउन सिक्नु छ  ? यस्तो छ होन्डाको सेफ्टी राइडिङ ट्रेनिङ सेन्टर

स्याकार कम्पनीले नेपालमै पहिलो पटक सुविधायुक्त मोटरसाइकल प्रशिक्षण केन्द्र सञ्चालन गरिरहेको छ । नेपालमा मोटरसाइकल चलाउन सिकाउने विभिन्न प्रशिक्षण केन्द्र भए पनि बृहत् प्रशिक्षण केन्द्र खुलेको थिएन । उक्त प्रशिक्षण केन्द्रबाट मोटरसाइकल चलाउन नसिकेका तथा सिकेर पनि सुरक्षित सञ्चालनको तरिका नजानेकाहरुले प्राविधिक ज्ञान पाएका प्रशिक्षकबाट तालिम लिन पाउनेछन् ।

सन् १९६८ देखि नेपालमा होन्डा कम्पनीको मोटरसाइकल बिक्री गर्दै आएको स्याकारले बाइकचालकलाई सुरक्षित र विवेकपूर्ण हँकाइ क्षमताको विकास गर्न केन्द्र खोलेको जनाएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अर्थात् सीएसआरअन्तर्गत प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ ।

राजधानीको ग्वार्कोमा स्थापना भएको केन्द्रबाट १६ वर्षमाथिका मोटरसाइकलचालकले प्रशिक्षण लिन पाउँछन् । प्रशिक्षकहरु होन्डा कम्पनीमै गएर सुरक्षित सञ्चालनको तालिम लिएका छन् । प्रशिक्षण कार्यका समयमा केन्द्रले ब्रेकिङ कोर्स, बम्पी पाथ, इमर्जेन्सी ब्रेकिङ, कर्नरिङ, अफसेट प्लेलोन, ¥याम्प, न्यारो प्लेइङ, फिगर एटजस्ता व्यावहारिक प्रशिक्षणका साथै सैद्धान्तिक कक्षा पनि सञ्चालन गरिन्छ ।

यसका लागि बिगिनर्स र डिफेन्सिभ गरी दुई कोर्सको डिजाइन गरिएको छ । बिगिनर्स कोर्सअन्तर्गत चालकलाई दैनिक डेढ घण्टाको व्यावहारिक कक्षा र आधा घण्टाको सैद्धान्तिक कक्षा गरी १० दिनसम्म जम्मा २० घण्टा प्रशिक्षण प्रदान गरिन्छ । त्यसैगरी डिफेन्सिभ कोर्सअन्तर्गत चालकलाई दैनिक डेढ घण्टाको व्यावहारिक कक्षा र आधा घण्टाको सैद्धान्तिक कक्षा गरी ६ दिनसम्म जम्मा १२ घण्टाको प्रशिक्षण प्रदान गरिन्छ ।

प्रशिक्षण केन्द्र ३० रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ कार्यालयमा काम गर्ने कर्मचारीका लागिसमेत बिहान र बेलुकाको उपयुक्त समय छुट्ट्याइएको छ । ‘सुरक्षित सिकौं, सुरक्षित हाँकौं’ भन्ने नाराका साथ सञ्चालन गरिएको केन्द्रमा सवारीचालक र पैदल यात्रुबीच अन्तरसंवाद गर्न सकिने किसिमले ट्र्याक डिजाइन गरिएको छ । यसबाट चालकमा आत्मविश्वास बढ्नुका साथै उनीहरु सडक र त्यसमा परेको चापबारेमा बुझ्न समर्थ हुन्छन् ।

 

 

Subscribe Now