के गोरखकाली टायर फेरि सञ्चालन होला ?

फेरि गोरखकाली टायर उद्योग सञ्चालनको चर्चा चलेको छ शहरमा । बन्द भएका उद्योग सञ्चालन गर्ने हालको सरकारको नीति सार्वजनिक भइरहेको समयमा अर्थमन्त्री डा. युवराज खतिवडाले पनि यो कुरालाई सार्वजनिक बहसमा ल्याएका छन् ।

गोरखकाली रबर उद्योग लिमिटेडले उत्पादन गरेको गोरखकाली टायर उद्योगमा लगानी गर्नका लागि निजी क्षेत्रका व्यक्तिहरुलाई अर्थमन्त्रीले आग्रह समेत गरेका छन् । राजधानीमा हालै सम्पन्न नाडा अटो शोको उद्घाटन अवसरमा उनले निजी क्षेत्र र विशेष गरी अटोमोबाइल क्षेत्रका व्यक्तिलाई सो उद्योग सञ्चालन गर्न आग्रह गरेका थिए । नाडा पदाधिकारीहरुले पनि अर्थमन्त्रीको आग्रहलाई सकारात्मक रुपमा लिएका छन् ।

तर के गोरखकाली फेरि सञ्चालन गर्न सम्भव छ ? नेपालको पहिलो टायर उद्योग गोरखकाली टायर उद्योग हाल बन्द छ । अर्बौ लगानी गरेको उद्योग बन्द हुँदा करोडौका मेसिनहरु अहिले त्यतिकै थन्किएका छन् । कति काम नलाग्ने अवस्थामा पुगेका छन् भने कति मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा छन् ।

चीन सरकारको सहयोगमा निर्माण भएको यस उद्योगमा प्रयोग हुने अधिकांश कच्चा पदार्थ बाहिरबाट ल्याउनु पर्ने हुन्छ । अहिले उद्योग सञ्चालनका लागि पनि करोडौको लगानी आवश्यक हुन्छ ।

वि. सं. २०४१ सालमा स्थापना भएको गोरखकाली टायर नेपालको कुनै बेला लोकप्रिय ब्राण्ड थियो । टायर क्षेत्रका विज्ञहरु भने अहिलेको अवस्थामा गोरखकाली टायर सञ्चालन भए पनि बजारका लागि आवश्यक नयाँ प्रविधिको रेडियल टायर उत्पादन गर्न सक्ने क्षमता नभएको बताउँछन् । यसका लागि अहिले भएका मेसिनहरुलाई हटाएर नयाँ मेसिनहरु राख्नु पर्ने हुन्छ ।

गोरखकाली टायर उद्योगसँग बायस टायर बाहेक अन्य टायर उत्पादन गर्ने मेसिन नै छैन । तर बजारमा अहिले रेडियल टायरको बिक्री बढिरहेको छ । उत्पादन लागतको हिसावले पनि बायस टायर भन्दा रेडियल टायर सस्तो पर्ने हुन्छ । यी सबै कुरालाई मनन गर्नु आवश्यक छ । तर पनि पहिले देखि नै प्रचलित बायस टायर भने गोरखकालीले प्रशस्तै उत्पादन गर्न सक्छ ।

अब गोरखकाली टायर उद्योग सञ्चालन गर्नका लागि बजार, कच्चा पदार्थ, प्रविधि, व्यवस्थापन लगायतका कुराहरुमा विशेष ध्यान दिनु पर्ने हुन्छ । लामो समय बन्द भएको कारण पनि उद्योगको दायित्व धेरै नै बढेको छ ।

टायर टेक्नोलोजिष्ट तेजनाथ दाहाल कुनै पनि टायर उद्योग सञ्चालनका लागि आवश्यक मार्केट, मनी, मेसिन, मेटरियल्स, मेन्टिनेन्स र ह्युमन रिसोर्स आवश्यक पर्ने भएकाले गोरखकाली टायर उद्योगलाई पनि त्यसै अनुसार विश्लेषण गर्नु पर्ने बताउँछन् ।

गोरखकाली टायरले बजार कब्जा गर्न सक्ने सामथ्र्य राख्छ । मार्केट सम्भावनाका आधारमा यो अझै २० बर्ष चल्न सक्छ । यति लामो समय चल्ने भए पछि मनी अर्थात रकम पनि हुने नै भयो । यसमा भएका मेसिन पनि राम्रो कन्डिसनमा भएकाले करिब २० बर्ष नै चल्छन् ।

त्यसैगरी टायरका लागि आवश्यक कच्चा पदार्थ अर्थात मेटरियल्स पनि राम्रै हुने भएकाले यसको टायर राम्रो मानिएको हो । अनि मेसिनहरु मेन्टिनेन्स गर्न पनि समस्या हुँदैन । यद्यपि ह्युमन रिसोर्स अर्थात म्यानेजमेन्ट टिममा भने परिवर्तन गर्नु पर्ने दाहालको तर्क छ । पहिले नै म्यानेजमेन्ट टिम परिवर्तन गर्दा नै कारखाना पनि धराशायी भएको हो । त्यसैले दक्ष समूहको सो कारखाना चलाउनका लागि आवश्यक म्यानेजमेन्ट टिम बनेमा गोरखकाली टायर उद्योग राम्रो तरिकाले चल्ने दाहाल तर्क गर्छन् ।

दाहाल भन्छन्, ‘शुरुवातमा ट्युब र फ्ल्यापको उत्पादनबाट गोरखकालीलाई ब्युझाउन सकिन्छ । यसो भयो भने उत्पादनको पहिलो दिन देखि नै यो नाफामा जान सक्छ । मासिक १ लाखको संख्यामा ट्युब र फ्ल्याप उत्पादन गर्न सकिन्छ ।’

यद्यपि बजारमा अन्य टायर उद्योग पनि सञ्चालनको क्रममा छन् । अहिले विराटनगरमा डेल्टा टायरले टु/थ्री ह्विलर र कृषिमा लाग्ने टायर उत्पादन गरिरहेको छ । यसका साथै छिट्टै चितवन र झापामा पनि टायर उद्योग सञ्चालनमा आउने क्रममा छन् । यी सबै टायर कारखानाले बार्षिक ५ लाख टायर उत्पादन गर्ने क्षमता राख्छन् । त्यसैले भविष्यमा नेपाली टायर उद्योगमै पनि प्रतिस्पर्धा हुने सम्भावना पनि छ ।

टु ह्विलर, थ्री ह्विलर र एग्रिकल्चर टायरमा राम्रो सम्भावना भएकाले लगानीकर्ताहरु पनि त्यस्तै टायर उत्पादनमा लागेका छन् । फोर ह्विलर टायर उत्पादन हुने सम्भावना भने एकदमै न्यून छ । यसका लागि लगानी पनि निकै लाग्छ । फेरि टु÷थ्री ह्विलर टायरबाट जति नाफा हुन्छ, लगानी अनुसार त्यति नै नाफा फोर ह्विलरबाट हुन्छ । लगानी मात्र बढी गर्नु पर्छ । यस कारण पनि नेपाली लगानीकर्ताहरुको ध्यान त्यता नजान सक्छ । फेरि हाल बायस र रेडियल टायर कुन उत्पादन गर्ने भन्ने संक्रमणको समय पनि हो । बायस टायर उत्पादन गर्ने समय ढिला भइसकेको छ भने रेडियल टायरको लागि अलि छिटो हुन सक्छ ।

नेपालमा वर्षमा ५ अर्ब रुपैयाँभन्दा बढी रकमको टायर कारोबार हुने गरेको यसक्षेत्रका जानकारहरु बताउँछन् । नेपालमा टायर सबै विदेशबाट आउने गर्छ । अहिले केही टायर उद्योग सञ्चालनमा आए पनि बजारको ठूलो हिस्सा बाहिरबाट आएको टायरले ओगटेको छ ।

अहिले नेपालमा सबैभन्दा बढी भारतीय टायर प्रयोग हुने गरेको छ । भारतपछि ब्राजिल, इजिप्ट, टर्की, थाइल्यान्ड, चीन र जापानमा निर्मित टायर भित्रिन्छन् ।

Subscribe Now