Check, click, shop
यी हुन् अटो शोमा भएका इलेक्ट्रिक कार

विश्व बजारमै इलेक्ट्रिक कारले बजार लिने सम्भावना देखिइरहेको समयमा नेपालमा पनि केही कम्पनीले इलेक्ट्रिक कार भित्र्याएका छन् । नेपाली बजारमा लोकप्रिय रहेका टाटा, हुन्डाई र महिन्द्राले समेत यस्ता गाडी भित्र्याएका छन् । रेनोले पनि भर्खरै यस्तै गाडी भित्र्याएको छ । महिन्दाको ईटुओ र कियाको ईभी सोल पहिले देखि नै नेपाली बजारमा उपलब्ध छन् ।


टाटाले टिगोर, महिन्द्राले ई–भेरिटो, हुन्डाईले आयोनिक र रेनोले जोई नामक इलेक्ट्रिक कार अटो शोमा पहिलो पटक प्रदर्शन गरेका छन् ।


महिन्द्रा ई–भेरिटो
महिन्द्राको इलेक्ट्रिक कार ई–भेरिटोमा ७२ भोल्टको मोटर छ । एक पटकको फुल चार्जमा कारलाई १ सय १० किलोमिटरसम्म गुडाउन सकिन्छ । महिन्द्राले यस कारमा जडान गरेको रि–जेनेरेटिभ ब्रेकिङ प्रणालीले पावर तथा ब्याट्रीलाई चार्ज गर्ने गर्छ । यसको अलवा महिन्द्राले ई–भेरिटोमा फास्ट चार्जिङ सिस्टम लगाएको छ । यसको सहयोगमार्फत् एक घन्टा ४५ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ । महिन्द्रा ई–भेरिटोको मूल्य २८ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।


टाटा टिगोर
टाटाले इलेक्ट्रिक कार टिगोर इभीलाई नेपाली बजारमा उपलब्ध गराएको छ । उक्त कारमा ३० किलोवाटको इलेक्ट्रिक मोटर लगाइएको छ भने सिंगल स्पिड अटोमेटिक ट्रान्समिसन रहेको छ । यो कार ७२ भोल्टको ब्याट्रीद्वारा सञ्चालित हुन्छ । फास्ट चार्जरमार्फत डेढ घन्टामा ८० प्रतिशत चार्ज हुने यसको ब्याट्री नर्मल चार्जरबाट चार्ज गर्दा ६ देखि ८ घन्टामा फुल चार्ज हुन्छ । कारको टप स्पिड १ सय ३० किलोमिटर प्रतिघन्टा रहेको छ । यसको मूल्य सार्वजनिक गरिएको छैन ।


हुन्डाई आयोनिक
हुन्डाईको इलेक्ट्रिक कार आयोनिक मिड साइज्ड सेडान आकारको छ । उक्त कारमा ८६ किलोवाटको इलेक्ट्रिक मोटर लगाइएको छ । कारालाई एकपटक फुल चार्ज गरेपछि २ सय २० देखि २ सय ५० किलोमिटर सम्म चलाउन सकिन्छ । कारमा ड्युअल एलईडी लाइट, सुरक्षाका लागि ७ वटा एयर ब्याग, सिक्स व्रेकिङ सिस्टम उपलव्ध गराइएको छ । ५ सिट क्षमताको यो कारले सेफ्टिमा फाइभ स्टार रेटिङ सहित उत्कृष्ट नतिजा हात पारेको छ । यसको मुल्य नेपाली बजारमा ५३ लाख ९६ हजार रुपैयाँ सम्म पर्ने बताइएको छ ।


रेनो जोई
फ्रान्सेली अटो निर्माता कम्पनी रेनोले इलेक्ट्रिक कार जोईलाई नाडा अटो शोमा पहिलो पटक सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रचलित निसानको इलेक्ट्रिक कार लिफसँग प्रतिस्पर्धा गरिरहेको जोइलाई नेपाली ग्राहकको मनस्थिति बुझ्नका लागि ल्याइएको यसको आयातकर्ता कम्पनी एड्भान्स्ड अटोमोबाइल्सले जनाएको छ । त्यसैले अहिले नै यसको मूल्य पनि सार्वजनिक गरिएको छैन ।


दुई फरक ब्याट्री प्याक क्षमतामा यसलाई उपलब्ध गराइएको छ । एउटा २२ किलोवाट क्षमताको ब्याट्रीले फुल चार्जमा १ सय ६० किलोमिटर र अर्को ४१ किलोवाटको ब्याट्रीले २ सय ८८ किलोमिटर गुड्न सकिन्छ । यसमा दिइएको फास्ट चार्जरबाट चार्ज गर्दा ६५ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।


किया सोल ईभी
नेपालमा पहिले देखि नै चल्तीमा रहेको अर्को विद्युतीय गाडी हो कियाको सोल इभी । उच्च प्रविधि जडान भएको सोल इभीको ब्याट्री शक्तिशाली छ र एक पटक पूरा चार्जमा १ सय ८० किलोमिटर गुड्ने बताइएको छ । यो कारमा २७ केडव्ल्युएच लिथियम आयान पोलिमर ब्याट्री छ, जसको पावर ९० किलोवाट छ । यसको व्याट्री चार्ज गर्न चार्ज स्टेसनको डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३३ मिनेट र एसी फास्ट चार्जरबाट ४ घण्टा लाग्छ । यात्रु तथा चालकको सुरक्षाका लागि यसमा एयरब्याग समावेस छ । यो कारमा गियरको झन्झट हुदैन । दुई मोडलमा रहेको किया सोल ईभीको मूल्य ५६ लाख र ५८ लाख रुपैयाँ रहेको छ ।

 

Subscribe Now